काठमाडौं । लगातार ६ कारोबार दिनको गिरावटपछि सेयर बजारमा अन्तिम कारोबार दिन बिहीबार अकस्मात् उच्च अंकको सुधार देखियो। भदौ १८ मा २८३०.२० बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ कारोबार दिन लगातार घट्दै भदौ २६ बुधबार २६१०.२१ बिन्दुमा बन्द भएको थियो। तर, अन्तिम कारोबार दिन बिहीबार भने नेप्से ७८.३१ अंकले बढेर २६८८.५३ बिन्दुमा पुगेको छ।
असार १६ गते २०३७.०९ बिन्दुबाट बढ्न थालेको नेप्से ९६३.७२ अंक (४७.३ प्रतिशत)ले उकालो लागेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगी घट्न थालेको थियो। बजार लगातार न्यून बिन्दुतर्फ लम्किरहेको समयमा असार १७ गते १२७ अंकले बढेर २८२३.३२ बिन्दुमा बन्द भएको थियो।
बिहीबार देखिएको ७८.३१ अंकको वृद्धि असार १७ गते देखिएको १२७ अंकपछिको उच्च हो। यसलाई अधिकांश लगानीकर्ताले करेक्सनपछिको बाउन्सको रूपमा व्याख्या गरेका छन्।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी पछिल्लो बढाइमा एक चरणको करेक्सन साइकल पूरा भएको बताउँछन्। ‘लामो समयपछि उकालो लागेको बजारमा एक चरणको करेक्सन साइकल पूरा भएको छ। करेक्सनले बजार बढ्ने आधार थप मजबुत भएको देखाउँछ,’ अध्यक्ष जिसी भन्छन्, ‘बिहीबार बजारमा उच्च अंकको वृद्धि देखियो भने कारोबारमा पनि सुधार आयो। यसलाई मैले नेप्सेले बाउन्स ब्याक लिएको रुपमा बुझेको छु।’
उकालो लाग्दा ९६३.७२ अंक अर्थात् ४७.३ प्रतिशतको वृद्धि देखिएको नेप्सेमा ओरालो लाग्दा भने ३९०.६ अंक अर्थात् १३ प्रतिशतको गिरावट आउँदै बुधबार २६१०.२१ बिन्दुमा रोकिएर बिहीबार सकारात्मक सन्देश दिएको हो। उक्त १३ प्रतिशतको गिरावटलाई लगानीकर्ताले मजबुत करेक्सनको रूपमा सामाजिक सञ्जालमासमेत व्याख्या गरिरहेका छन्।
तर, एकातर्फ करेक्सन चक्र पूरा भएको भन्दै बजार बढ्ने बहस चल्दै गर्दा अर्कोतर्फ भने मुख्य चाडपर्व नजिकिएकाले यो समयमा यसअघि पनि कहिल्यै बजार उकालो नलागेको र अहिले पनि नलाग्ने बताइरहेका छन्। हुनतः हालै मात्र नारीहरूको मुख्य पर्व तिज सकिएको छ। नेपालीहरूको महान् पर्वको रूपमा लिइने दसैं, तिहार र छठ पर्व पनि नजिकिएका छन्।
यस्तो अवस्थामा लगानीकर्ताले आफ्ना आवश्यकता पूरा गर्नका लागि बजारबाट पैसा नझिक्लान् भन्न सकिँदैन। त्यसैले बजार बढे पनि धेरै अंक वृद्धिको आशा भने राख्न नहुने व्याख्या केहीको देखिन्छ। यही समय सानोतिनो नाफा भए पनि बुक गरेर चाडपर्वको खर्च निकालौं भन्ने मानसिकता पनि धेरैमा हुन्छ। तथापि, बजारमा कस्ता प्रवृत्तिका लगानीकर्ता बढी हाबी हुन्छन् भन्ने कुराले नै नेप्सेको आगामी यात्रा तय गर्ने देखिन्छ।
समग्रमा गत साताको सेयर बजारलाई मात्रै हेर्ने भने पनि साताको पाँच कारोबार दिनमा एक दिन बढेर चार दिन घट्दा नेप्से ३८.८३ अंकले घटेर २६८८.५३ बिन्दुमा बन्द भएको छ। अघिल्लो साताको पाँच कारोबार दिनमा भने तीन कारोबार दिन घटेर दुई कारोबार बढ्दा नेप्से २२.२१ अंकले घटेर २७२७.३६ बिन्दुमा रोकिएको थियो। गत साताको गिरावटसहित गरी नेप्से लगातार चार हप्ता घटेको छ।
असार १७ गतेदेखि लगातार सात हप्ता उकालो लागेर साउन ३१ गतेबाट घट्न थालेको बजार पछिल्लो चार हप्ता भने निरन्तर घटेको हो। गत साता नेप्सेमा कुल ४० अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भयो। गएको मंगलबार र बुधबार ६÷६ अर्बको कारोबार भएकोमा बिहीबार नेप्से बढ्दा कारोबार पनि बढेर ७ अर्ब ९५ करोड रुपैयाँ पुग्यो। अघिल्लो साता भने नेप्सेमा ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
खास गरी, लगानीकर्ता सस्तैमा र हालकै मूल्यमा सेयर बिक्री गर्न तयार नहुँदा कारोबार रकम पनि निरन्तर खुम्चिँदै गएको छ। यसले पनि बजार बढ्ने संकेत नै गर्ने बताइन्छ। अर्कोतर्फ, सरकारी कार्यालयमा कर्मचारीले सेयर खरिदबिक्री गरेको भन्दै कारोबारमा प्रयोग हुने ‘टिएमएस’ प्रणाली बन्द भएको असर पनि देखिने हो कि भन्ने आशंका पनि भइरहेको छ। यद्यपि, बजारलाई अनेकन विषयमा जोडेर विभिन्न किसिमले प्रभावित पार्ने कोसिस हुने भएकाले सेयर लगानीकर्ताले आफ्नो अध्ययन र योजनामा केन्द्रित हुँदै कारोबार गर्नु उपयुक्त हुन्छ।