काठमाडौं। सञ्चालनमा आएको करिब ८ महिनापछि बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर‘ औपचारिक रुपमा सञ्चालनमा आएको छ। भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री प्रिमियर‘ले बूढानीलकण्ठ हेरिटेजको शनिबार प्रधानमन्त्री केपीशर्मा ओलीले होटलको उद्धघाटन गरेका हुन्। लेमन ट्री प्रिमियरको नेपाल प्रवेश यो नै पहिलो हो।
साढे १२ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्।
त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, २ वटा बैंक्वेट हल र क्यासिनो मुख्य गरी व्यावसायिक प्रयोजनका लागि महत्त्वपूर्ण योगदान गर्ने सुविधायुक्त र आधुनिक संरचना बनेको छ।
होटलका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले होटलको लागत कुल २ अर्ब ५० करोड पुगेको जानकारी दिए। २ अर्ब ४० करोडसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको होटलको कोरोना र आर्थिक मन्दीका कारण १० करोड लगानी बढेको उनले बताए।
नारायणगोपाल चोकबाट पाँच किलोमिटर दूरीमा रहेको होटलमा क्यासिनोसमेत सञ्चालन हुनेछ। क्यासिनो सञ्चालन केही महिनापछि मात्रै हुनेछ। कुन कम्पनीलाई सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेकाले केही महिनाभित्रै टुंगो लाग्ने सञ्चालक कार्कीले जानकारी दिए।
होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योगा तथा ध्यान केन्द्र निर्माण भएका छन्। होटलमा पाहुना सेवालाई लक्षित गरेर छुट्टै सर्भिस लिफ्ट र गेस्ट लिफ्ट जडान गरिएको छ।
होटलका हरेक कोठाबाट काठमाडौं उपत्यकालाई छर्लंगै देख्न सकिन्छ। काठमाडौंको कोलाहलबाट केही समय टाढा गएर बस्न चाहनेका लागि लेमन ट्री प्रिमियर उत्तम गन्तव्य बन्न सक्छ। योसँगै हरेक कोठाबाहिर छुट्टै स्पेस राखिएको छ। कोठामा सीधै घाम छिर्न हरेक कोठामा बार्दली बनाइएको छ।
होटल सञ्चालकमा कार्कीसहित डा।.राजेन्द्र केसी, अम्बिका पौडेल, हरिप्रसाद पाठक, नवराज बुर्लाकोटी, दीपक पाण्डे, जनक भट्ट, दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे रहेका छन्।
१५ करोडको आइपिओ जारी गर्ने
होटलले चालु आर्थिक वर्ष भित्रै १५ करोड रुपैयाँको प्राथमिक सेयर(आइपिओ) जारी गर्ने तयारीसमेत गरेको छ।आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धकमा इलाइट क्यापिटल चयन भएको छ।