काठमाडौं। नेपाली बजारमा विद्युतीय सवारीसाधनतर्फको आकर्षण बढेसँगै इन्धन सवारी छायामा परेको छ। लामो समय नेपाली बजार दबदबा कायम गरेका इन्धन सवारीसाधन विद्युतीय सवारी भित्रिएसँगै पछिल्ला केही वर्षदेखि ओझेल परेको हो।
यद्यपि, नेपालमा विद्युतीय सवारीसाधनको आयात र खरिदबिक्री उल्लेख्य भए पनि चार्जिङ स्टेसन, सर्भिस सेन्टर, पूर्वाधार तथा गुणस्तरमाथिको विश्वास अझै मजबुत भइसकेको छैन।
विद्युतीय सवारीसाधन प्रयोग हुन थालेको लामो समय नभइसकेकाले अहिल्यै भरोसा गर्ने वातावरण नभएको भन्ठानेर कतिपय ग्राहकको रोजाइमा अझै इन्धन गाडी परेको देखिन्छ। यही कारण पनि कतिपय इन्धन ब्रान्ड नेपाली बजारमा हालसम्म टिकिरहेका छन्।
विद्युतीय सवारीसाधन पूर्ण रुपमा भरोसायोग्य नभएको र सोहीअनुरुपका पूर्वाधार तयार नभएको ठान्नेको रोजाइमा स्वाभाविक रुपमै इन्धन गाडी पर्ने गर्छन्।
नेपाली बजार, सडक अवस्था र पुँजी तथा आर्थिक अवस्था अनुकुल मानिने मध्यम रेन्जका स्वीफ्ट, हुन्डाई आई–१० नियोस र सिट्रोन सी थ्री अझै ग्राहकको रोजाइमा परिरहेका छन्। अझ यी तीन ब्रान्डका गाडीका फिचर समान भएकाले इन्धन गाडी खरिद गर्नेहरु कुन रोज्ने भन्ने अन्योलमा समेत पर्न सक्छन्। यसका लागि ग्राहकले मूल्य, फिचर, ब्रान्ड, सेवासुविधालगायतलाई नजिकबाट नियाल्नुपर्ने हुन्छ।
नेपालमा हुन्डाई लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ भने नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्प हो। यस्तै, नेपालमा सिट्रोन गाडी सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ।
मारुती सुजुकी स्विफ्ट र हुन्डाई आई–१० दुवै नेपालमा बिक्री हुँदै आएको सफल मोडलमा पर्छन्। सिट्रोन सिथ्री भने गत वर्ष मात्र नेपाली बजारमा प्रवेश गरेको हो।
यद्यपि, यसले पनि बजारमा सकरात्मक प्रतिक्रिया पाइरहेको छ। नेपालमा उपलब्ध सुजुकी स्वीफ्ट, हुन्डाई आई १० नियोस र सिट्रोन सीथ्री पेट्रोल मोडलमा समान १२०० सीसी क्षमताको पेट्रोल इन्जिन उपलब्ध छ।
इन्जिन
सिट्रोन सिथ्री, हुन्डाई ग्रान्ड आई १० र सुजुकी स्वीफ्ट तीन वटा गाडी १२०० सिसिका हुन्। यी तीन गाडीमा समान १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ। हुन्डाई र स्वीफ्टमा समान ३७ लिटरको इन्धन ट्यांकी छ भने सिट्रोन सिथ्रीमा ३० लिटरको ट्यांकी दिइएको छ।
हुन्डाई ग्रान्ड आई–१० ले ६००० आरपिएममा ८३ पिएस पावर जेनेरेट गर्छ। यसले प्रतिलिटर २१ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ।
सुजुकी स्वीफ्टको ६००० आरपिएम र ११३ एनएम टर्क जेनेरेज गर्दछ। यसले प्रतिलिटर २१ किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ।
सिट्रोन सी थ्री ले ५७५० आरपिएममा ८२ पिएस पावर जेनेरेट गर्दछ। सिट्रोन सी थ्रीले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ।
साइज
हुन्डाई ग्रान्ड आई–१० नियोसको लम्बाई ३८०५ एमएम, चौडाइ १६८० एमएम र उचाई १५२० एमएम रहेको छ। यसको ह्वीलबेस २४२५ एमएम रहेको छ। सुजुकीको लम्बाइ ३८४० एमएम, चौडाई १७३५ एमएम र उचाइ १५३० एमएम रहेको छ। यसको ह्वीलबेस २४५० छ।
सिट्रोन सिथ्रीको लम्बाइ ३९८१ एमएम, चौडाइ १७३३ एमएम र उचाइ १५८६ एमएम रहेको छ। यसको ह्वीलबेस २५४० एमएम रहेको छ।
ग्राउन्ड क्लियरेन्स
हुन्डाई र सुजुकीको ग्राउन्ड क्लियरेन्स करिब समान छ। सिट्रोनको ग्राउन्ड क्लियरेन्स यी दुईभन्दा धेरै छ। सिट्रोन सिथ्रीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ। हुन्डाई ग्रान्ड आई–१० नियोसको १६५ एमएम र सुजुकी स्वीफ्टको ग्राउन्ड क्लियरेन्स १६३ एमएम छ।
इन्टेरियर
मारुती सुजुकी स्वीफ्टको ईन्टरियर व्ल्याक कलर थेम र इन्ट्रुमेन्ट क्लष्टरको कम्बीनेसनले स्पोर्टी देखाएको छ। यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ। फ्ल्याट बटम स्टेरिङ, स्टेरिङ माउन्ट भ्वाइस कन्ट्रोल सिस्टम स्वीफ्टमा पाउन सकिन्छ।
ग्रान्ड आई १० नियोसमा सेमि डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, रोट्री एसी भेन्ट र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले क्याबिनलाई निकै प्रिमियम देखाएको कम्पनीको भनाइ छ।
सी थ्रीको क्याबिनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डरजस्ता फिचर उपलब्ध छन्।
मूल्य
तीन गाडीको मूल्य भने फरक छ। मारुती सुजुकीको स्वीफ्ट मोडल ५ भेरियन्टमा बिक्री हुँदै आएको छ। हुन्डाई आई–१० को ४ भेरियन्टमा र सिट्रोन सिथ्री २ भेरियन्टमा बिक्री गर्दै हुँदै आएको छ।
मारुती सुजुकी स्वीफ्ट भीएक्सआईको मूल्य ४० लाख ९९ हजार, जेडएक्सआईको मूल्य ४४ लाख ४९ हजार, एलएक्सआईको मूल्य ३८ लाख ९९ हजार, जेडएक्सआई प्लसको मूल्य ४६ लाख ४९ हजार, जेडएक्सआई प्लस ड्युलको मूल्य ४६ लाख ७९ हजार रुपैयाँ पर्छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई आई–१० नियोस मग्नाको मूल्य ३७ लाख ९६ हजार, मग्ना अटोमेटिकको ४० लाख ५६ हजार, स्पोट्जको मूल्य ३९ लाख ९६ हजार र इरा भेरियन्टको मूल्य ३२ लाख ५६ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ।
सांग्रिलाले सिट्रोन सिथ्रीको टप स्पेक भेरियन्ट लिभको मूल्य ३४ लाख ४९ हजार र फिलको मूल्य ३६ लाख ४९ हजार रुपैयाँ तोकेको छ।