काठमाडौं। हरेक घरको भन्सामा अचार बनाउन, तरकारीलाई स्वादिष्ट बनाउन गोलभेडा प्रयोग गरिन्छ। घरघरका भान्सामा मात्रै नभएर ठूला–साना होटल, रेस्टुरेन्ट, क्याफेदेखि खाजा पसलमा समेत गोलभेडा अनिवार्य र आवश्यक मानिन्छ। नेपालमा गोलभेडा उपभोग बजार ठूलो छ। बजार र सम्भावना धेरै भएकाले गोलभेडाको निर्वाहमुखी खेतीबाट लघु तथा साना उद्यमीमा स्तरोन्नति हुन र व्यावसायिक उचाइ लिन सकिन्छ।
मौसमी मात्रै नभएर बेमौसी गोलभेडा खेती गरे पनि मनग्य आम्दानी स्रोत बन्न सक्छ भने किसानको आर्थिक स्तर छिटाे उँभो लाग्छ। यद्यपि, नेपाली किसानले गोलभेडा उत्पादन गरे पनि बजार नपाउँदा सडकमै खन्याएका दृश्य देखिँदै आएको छ। यसमा सरकारले किसानको उत्पादनलाई बजार ग्यारेन्टी गरिदिनुपर्छ। तर, बजारमा बिक्री हुन नसकेको गोलभेडाबाट सस बनाउने गरिए पनि त्यो पर्याप्त हुँदैन। चाउमिन, मःमःलगायत खानेकुरामा यस्तो सस प्रयोग हुने र सस ६ महिनादेखि एक वर्षसम्म रहने भएकाले यसले गोलभेडा खेर जाँदैन।
०.५ रोपनीमा गोलभेडा खेती गर्न दुई टनेल बनाउन करिब ४८ हजार २७० रुपैयाँ लाग्छ। गोलभेडा लगाउँदा २२ हजार ४६० रुपैयाँ गरी ७० हजार ७३० रुपैयाँ लगानी लाग्छ, जसबाट १ लाख ४४ हजार आम्दानी लिन सकिन्छ। अझ ६ महिनाभित्र करिब ७३ हजार २७० रुपैयाँ नाफा हुने देखिन्छ।
यस्तै, १ रोपनीमा ३ वटा टनेल बनाए त्यसका लागि ६७ हजार ८५० रुपैयाँ लागत पर्छ। यसमा गोलभेडा लगाउन ३५ हजार ४७० रुपैयाँ गरी कुल १ लाख ३ हजार ३२० रुपैयाँ लगानी लाग्छ। यसबाट कुल २ लाख रुपैयाँ बराबरको आम्दानी हुँदा ६ महिनामा ९६ हजार ६८० रुपैयाँ नाफा हुने देखिन्छ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले अध्ययन गरी तयार पारेको रिपोर्टअनुसार यो किसिमको लगानीबाट बेमौसी गोलभेडा खेती गरी नेपालमै राम्रै आम्दानी लिन सकिने देखिन्छ। तल्लो तथा मध्यपहाडमा वैशाखदेखि भदाैसम्म बेर्ना रोपेर मध्यअसारदेखि मध्य मंसीरसम्म गोलभेडा फलाउन सकिन्छ।
असारदेखि मध्यमंसिरसम्म निस्कने गोलभेडाले बजारमा राम्रो मूल्य पाउँछ र यसलाई बेमौसमी गोलभेडा खेती भनिन्छ। टनेलमा बेमौसमी तरकारी खेती गर्दा सुरूमा लागत बढी लागेतापनि पछि राम्रो उत्पादन हुने र उत्पादित वस्तुले राम्रो मूल्य पाउने भएकोले अधिक नाफा आर्जन गर्न सकिने पन्तले उल्लेख गरेका छन्।
टनेल बनाउँदा ताजा तरकारीको पकेट भएको क्षेत्र, सिंचाईका लागि पानीको स्रोत भएको, हावा जोडले नचल्ने, सूर्यको प्रकाश पर्ने खुला ठाउँ, समुद्री सतहबाट ५०० देखि १७,०० मिटरसम्मको पहाड, पानी नजम्ने, वर्षाको भेल नपस्ने, जग्गा धेरै भिरालो नभएको सकेसम्म गरा मिलेको, चारपाटा मिलेको जग्गालाई रोज्नुपर्दछ।
टनेलभित्र गोलभेडा खेती गर्दा प्रतिइकाइ जमिनमा बढी उत्पादन हुने, थोरै क्षेत्रफलमा खेती गर्दा बाली हेरचाहमा ध्यान पुरर्याउन सकिने, बोटबिरुवाबाट लामो समयसम्म गुणस्तरीय फल उत्पादन गर्न सकिने, मलखाद तथा थोपा सिँचाइबाट सिँचाइ गर्न सकिन्छ।
यसरी बनाउन सकिन्छ टनेल
टनेल तयार गर्दा एउटै ठूलो टनेल बनाउनुभन्दा संख्या बढाउन ध्यान दिनुपर्दछ। बासँको खाँवाको प्रयोग गर्दा धुरी र बलेसीको खाँबाको माटोमुनि गाड्ने भागलाई धमिरा र चिसोबाट बचाउन करिब १ मिटरसम्म अलकत्रा लगाउने वा प्लास्टिकले बेरेर खाँबा गाड्नुपर्दछ।
सामान्यतया टनेल तयार गर्दा लम्वाई २० मिटर र चौडाइ ५.७ मिटरको बनाउनुपर्दछ। टनेलको बिचको खाँमो ३.५ मिटर अग्लो, किनारको खाँमो २.५ मिटर अग्लो र एउटा खाँवादेखि अर्को खावाँसम्मको दुरी २ मिटरको हुने गरी बनाउनुपर्दछ। सबै खाँबालाई ६० सेन्टिमिटर तलसम्म गाड्नुपर्दछ। तीन लहरमा बासँको बलो राख्ने र प्रत्येक खाँबोमा बलोलाई तारले राम्ररी बाँध्नुपर्दछ।
१० सेमि चौडाइ भएको बाँसको भाँटा ३० सेमिको फरकमा राखी प्रत्येक भाटालाई राम्ररी तन्काएर कसिने गरी तारले बाँध्नुपर्दछ। यसरी प्लाष्टिकबिनाको तयार भएको टनेलमा प्लाष्टिकले ढाक्नुपर्दछ। टनेलमा हावा खेल्न लम्बाइको दुवैतर्फ भेन्टिलेटर बनाउनुपर्दछ। दुईटा टनेल तयार गर्ने भए तीबीचमा २ मिटरको दूरी राख्नुपर्दछ।
जमिनलाई ४–५ पटक खनजोत गरी राम्रोसँग पाकेको गोबर मल वा कम्पोष्ट मल जग्गाको क्षेत्रफलअनुसार समिश्रण गर्नुपर्दछ। उन्नत र स्तरीय जातको बीउ छनौटले मात्र पनि २०–२५ प्रतिशतसम्म उत्पादनमा वृद्धि गर्ने हुनाले असल बिउ छनौटमा विशेष ध्यान दिनुपर्दछ।
प्लास्टिक टनेलभित्र खेती गर्दा एकै पटक फूल र फल लाग्ने नभई लहरिँदै फुल्दै र फल्दै जाने जातको गोलभेडा छनौट गर्नुपर्दछ। सिर्जना जातको वर्णशंकर गोलभेडा मध्यपहाडमा टनेलमा खेती गर्न राम्रो देखिन्छ। नर्सरीमा बेर्नाको उमेर २० देखि २५ दिन भएपछि वा बेर्नामा ४–५ पात आएपछि प्लास्टिक टनेलमा एउटा बिरूबाबाट अर्को बिरूवाको दूरी ६० सेमि रहने गरी सार्नुपर्दछ। एउटा ड्याङबाट अर्को ड्याङको दूरी ४५ सेमि हुनुपर्दछ। बेर्ना सारेको दिनदेखि माटोको चिस्यान हेरी सिँचाइ गर्नुपर्दछ । बेर्ना सारिसकेपछि २/३ दिनको अन्तरमा सिंचाइ गर्नुपर्दछ। बेर्ना सारेकाे २०–२५ दिनपछि पहिलो पटक गोडमेल गर्नुपर्दछ।
माटोको चिस्यान हेरेर ७–१० दिनको अन्तरमा सिँचाइ गर्नुपर्दछ। बेर्ना सारेको ३० देखि ३५ दिनमा फूल फुल्ने भएकाले माटोले छोएका हाँगा काटेर फाल्नुपर्दछ। टनेलभित्र डोरी र क्लिप वा बाँसका भाटाबाट थाक्रा दिन सकिन्छ। गोलभेडाको प्रतिबोटमा गोठेमल ३–५ के.जी, डिएपी २५ ग्राम, पोटास १० ग्राम, वोरक्स ०.५ ग्राम र जिंक ०.५ ग्राम मालखाद दिनुपर्दछ।
गोलभेडामा विभिन्न प्रकारका रोग तथा कीरा लाग्ने भएकाले समयसमयमा कृषि प्राविधिकसँग सल्लाह लिनुपर्दछ। रोगकीराको प्रकोप भए प्राविधिकको सिफारिसअनुसार मात्र विषादी प्रयोग गर्न सकिन्छ। तर, विषादी प्रयोग गरेपछि तोकिएको समयपछि मात्र फल टिप्नु र उपभोग गर्नुपर्दछ। टनेलमा गोलभेडा ९ देखि १० महिनासम्म उत्पादन लिन सकिन्छ।