काठमाडौं। नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा सञ्चालन गरिएको छ। चेम्बर लुम्बिनी प्रदेशको हालैअधिवेशन सम्पन्न भएपछि आगामी ३ वर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले जनाएको हो।
कार्यशाला उदघाटन गर्दै तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनसहित सिंगो पाल्पाको पर्यटन र व्यावसायिक प्रवर्द्धनका लागि सहयोग गर्न आव्हान गरे। स्वास्थ्य, शिक्षा र व्यवसायका लागि तानसेन ऐतिहासिक हब हुँदाहुँदै पनि पछाडि परेकोमा चिन्ता व्यक्त गरे।
तानसेनमा अपार प्राकृतिक सम्भावना रहेकाले पर्यटनलगायत क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे। बुटवल–पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुँदासम्म तानसेन र आसपासका पर्यट्कीय क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरेर लाखौं पर्यटक भित्र्याउन सकिने सम्भावना उनले औंल्याए।
चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोख्रेलले आगामी ३ वर्षभित्र लुम्बिनी चेम्बरले अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिकास्तरीय कार्यक्रम आयोजना गर्ने गरी रणनीतिक योजना बनाउने बताए।
अघिल्लो कार्यकालमा चेम्बरलाई बिस्तार गर्ने अधिकांश काम भएकाले अबको ३ वर्ष उद्योगी, व्यवसायीको अभिभावक संस्थाको रुपमा विकास गरिने उनको भनाइ छ। चेम्बरले तीनै तहका सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउँदै त्यसका लागि साथ र सहयोग आवश्यक रहेको उनको धारणा थियो।
कार्यक्रममा चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले व्यावसायिक हकहितका लागि चेम्बरले सक्दो काम गर्ने बताए। परम्परागतभन्दा भिन्न गतिविधि गरेर यसपालि चेम्बरले आफ्ना गतिविधि गर्ने उनले जानकारी दिए।
सिंगो कार्यसमिति र विभिन्न जिल्ला र नगरकार्यसमिति अध्यक्ष उपस्थित कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिले गर्ने कार्यक्रमको रणनीति बनाइनेछ।