काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन ठूलो क्षेत्र भनिए पनि सो अनुसारको प्राथमिकतामा नपरेको बताएका छन्। शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ मा सीईओ जोशीले यस्तो बताएका हुन्। नीतिगत सुधारमा थप काम गर्दै जानुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ।
‘नेपालमा तीन दशकदेखि चेन होटल आए पनि हाल चार/पाँच वर्षमा धेरै खुलेका छन्। आगामी दिनमा थप केही आउने तयारीमा छन्। यसरी चेन होटल नेपाल आउनुले मुलुकमा केही सकारात्मक गतिविधि भइरहेको छ भन्ने हो,’ जोशीले भने, ‘हामीले कति सम्भावना छ भन्ने मात्रै होइन, अब वर्षेनी कति पर्यटक बढाउने भन्ने बारेमा ध्यान दिनुपर्छ।’
उनले हिजोका दिनमा होटल र पर्यटन उद्योगलाई सम्भावनायुक्त र ठूलो क्षेत्रको रुपमा हेरिएको र अहिले लक्जरीयस होटल, नयाँनयाँ प्रविधि र लगानी भित्रिँदै गएको बताए। एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल चलेकाले पनि पर्यटक नेपाल भित्र्याउन समस्या देखिएको उनले बताए।
नेपालमा अहिलेसम्म ई–भिसा नभएको र कतैबाट आउन मिल्ने तर फकिन नमिल्ने व्यवस्थाका कारण समस्या भएको उनको धारणा छ।
पर्यटन व्यवसायीले होटललाई उद्योगसरहको मान्यता खोजेको नभई सुविधा खोजेको जोशीले प्रष्ट पारे। साथै ३५ वर्ष पुरानो नीतिलाई परिवर्तन गर्न आवश्यक रहेको पनि सीइओ जोशीको भनाइ छ।
'१३ वर्षदेखि नेपालको हवाई सम्बन्ध युरोपसँग टुटेकाले पर्यटन व्यवसायको क्षेत्रमा समस्या छ। २ वटा एयरपोर्ट चलाउन सरकारले विभिन्न छुट दिने तथा स्किम ल्याउने कुराको प्रचारप्रसार गर्न आवश्यक छ। श्रीलंका र भारतको बजारीकरण हेरेर नेपालले सिक्नुपर्छ,' जोशीले भने।