काठमाडौं । जुनिपर होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार सराफले २५ वर्षदेखि गुणस्तरीय पर्यटनको कुरा गरिँदै आए पनि त्यसबाट बाहिर निस्कन नसकिएको बताएका छन्।
शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रममा सराफले यस्तो बताएका हुन्।
'नेपालले प्रकृतिक र पुर्खाबाट धेरै सम्भावनाका क्षेत्र पाएका छ। पर्यटनका लागि पशुपति, बौद्ध, लसम्बिनी जस्ता सम्पदा नेपालमै छन्। २०/२५ वर्ष पहिलादेखि गुण्स्तरीय पर्यटनको कुरा आएको थियो। अहिले पनि त्यही कुरामा अल्झिएका छौं। सरकारसँग हात थापेर नबसौं, आफैँ अघि बढौं। पर्यटन विकास गर्न हामीले नै नेतृत्व लिनुपर्छ,' उनले भने।
भारतबाट अन्य मुलुकमा करोडौं पर्यटक घुम्न जाँदा नेपालमा १२ लाख मात्र आएको तथ्यांक उनले प्रस्तुत गरे। 'भारतबाट थाइल्यान्ड र अरु देशले करोडौं पर्यटक लग्दा नेपालले कति भित्र्याउन सक्यो? हामीले गुणस्तरीय पर्यटनको कुरा गरेको अर्थ के? पर्यटकको आमगन बढ्न नसक्नुको कारण, एयरपोर्ट होला, प्रचारप्रसारको कमी होला,' उनले भने।
गत वर्ष पर्यटन बोर्डको २ अर्ब बजेट पाए पनि ५ देखि ६ करोड प्रचारप्रसारमा खर्च गरेको उनले बताए। 'पूर्वाधार विकासमा ३० करोड मात्रै खर्च गरेको छ। बोर्डले काम गर्न सकेन। बोर्ड प्रत्येक पर्यटकले हजार रुपैयाँ तिर्ने पैसाबाट चलेको हो। सरकारको लगानीबाट होइन। निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व घट्दै गएपछि प्रभचावकारीता पनि कम हुँदै गएको छ,' उनी भन्छन्।