काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारी जग्गा निजी क्षेत्रलाई भाडामा दिएर होटल व्यवसाय बनाउने विषयमा सरकारले सोचेको बताएका छन्। क्यापिटल नेपालले आयोजना गरेको ‘होटलियर समिट २०२४’मा बोल्दै अर्थमन्त्रीले पर्यटन क्षेत्रको विकासमा सरकारी जग्गा प्रयोग गर्न सकिने बताएका हुन्। ‘सरकारसँग प्रयोग विहिन जग्गा धेरै छ, निजी क्षेत्रलाई भाडामा दिएर होटल व्यवसाय सञ्चालन गर्ने सकिने विषयमा सरकारले सोचिरहेको छ’ अर्थमन्त्री पौडेलले भने।
त्यसबाहेक नेपाललाई खेलकुद पर्यटनसँग पनि जोड्ने सकिने उनको भनाइ छ। नेपालको उच्च भू–भागमा खेलखेलाउन सके ‘हाइ अल्टिच्यूट’मा खेल्ने खेलाडी उत्पादन हुन्छन् र अर्को हिमाली क्षेत्रको पर्यटन व्यवसाय बढ्छ।
पछिल्लो समय बनेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थाल अनावश्यक भनेर प्रचार गर्न खोज्नु गलत भएकोसमेत उनले बताए। अर्थमन्त्री पौडेल भन्छन्, ‘ त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलको ५० लाख यात्रुको व्यवस्थापन गर्ने हो तर ९० लाखलाई हेरिरहेको छ। त्यसैले २ वटा विमानस्थल आवश्यक भएर सरकारले बनाएको हो। समस्या होलान्, त्यो मिलाउँदै जानुपर्छ।’
तर, विमानस्थल शिलान्यास भएदेखि जहाज ल्याउने कुरामा ख्याल गर्न नेपाल चुकेको उनको भनाइ छ। नेपालले निर्माण सम्पन्न भएपछि मात्रै हवाइ यात्राको विषयमा सोचेकाले अहिले उडान पर्याप्त नभएको दाबी खर्थमन्त्री पौडेलले गरेका छन्। यद्यपि त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलको भन्दा अध्यागमन, भिसामा सहजीकरण, अरु सुविधा दिएर त्यहाँ इयरलाइन्स यात्रुलाई आकर्षित गराउन खोजेको पनि उनले बताए। भैरहवा र पोखरा विमानस्थल सरकारले चलाएरै छोड्ने दाबी उनको छ। जसले नेपालको पर्यटन क्षेत्रमा प्रवर्द्धन गर्दै थप टेवा पुर्याउने छ।
त्यसबाहेक ट्रेकिङमा कर लगाएको विषय उपयुक्त समयमा परिवर्तन गर्ने उनले प्रतिबद्धता गरेका छन्। ‘अर्थमन्त्रीले कर लगाउने त हो तर म त्यो कर लगाउने बेला म अर्थ मन्त्री थिइनँ। उपयुक्त समयमा यो कुरा सम्बोधन गर्छु,’ उनले भने। साथै विगतमा पर्यटन व्यवसायीले भोगेका समस्याबाट अब सरकारले मुक्त गराउने पनि उनले बताए। अर्थमन्त्री भन्छन्, ‘पर्यटन व्यवसायीले चाहानु भएको के हो त्यहाँ सरकारले नीतिगत सुधार गर्छ। हिजोको पीडा र समस्या सम्झेर तपाईंहरु नआतिनुस् अब सरकार तपाईंहरुको साथमा छ।’