काठमाडौं । कम्युनिटी होमस्टे नेटवर्ककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) आयुशा प्रसाईंले ग्रामीण क्षेत्रमा व्यवसायमा संलग्न महिला व्यवसायीलाई बैंक खाता खोल्न प्रोत्साहन गरिनुपर्ने बताएकी छन्।
शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रममा उनले ग्रामीण क्षेत्रमा अझै पनि बैंक खाता खोल्न प्रोत्साहन र सचेतनाका गतिविधि विस्तार नगरिँदा महिलाको बैंक खातामा पहुँच नहुने गरेको बताएकी हुन्।
‘नेपालमा अधिकांश होमस्टे महिलाले चलाउने गरे पनि उनीहरूको बैंक खाता हुने गरेको छैन। हामीले महिला व्यवसायीलाई बैंकिङ गतिविधिमा पहुँच पुग्ने गरी कार्यक्रम चलाइरहेका छौं। समुदायलाई बैंक खाता खोल्न प्रोत्साहन गरिरहेका छौं। महिलाको क्षमता विकास र व्यवसाय गर्न बैंक खाता आवश्यक छ,’ सीईओ प्रसाईंले भनिन्।
पर्यटन व्यवसायमा लागेर आर्थिक रुपमा सफल भए महिलाले नेतृत्वमा पुगेर थप काम गर्न सक्ने र यो पर्यटनमा मात्रै नभई सबै व्यवसायमा आवश्यक हुने उनको धारणा छ।
‘पर्यटकलाई केन्द्रित गरेर पर्यटनका गतिविधि तयार गरिन्छन्। तर, ग्रामीण क्षेत्रको रीतिथिति, संस्कृति, सभ्यता, भाषालगायतमा समुदायलाई केन्द्रमा राख्ने गरेको पाइँदैन। होटल र होमस्टेजस्ता पर्यटनलाई सँगसँगै लग्न सके मात्रै सामुदायिक पर्यटनले विस्तार हुने अवसर पाउने थियो। यसतर्फ हामीले पहल गरिरहेका छौं’, उनले भनिन्।
होमस्टले धेरै समुदायलाई जोड्ने काम गरेको प्रसाईंले बताइन्। नेपालको होमस्टे क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन समुदायलाई केन्द्रमा राख्नुपर्ने र होटल व्यवसायीसँग सहकार्य गर्न आफूहरु तयार रहेको उनले जानकारी दिइन्।