क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले भदौ २५ मा सार्वजनिक गरेको आव २०८१/८२ देखि आव २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औं आवधिक योजनासँग समन्वय हुने गरी तयार पारिएको हो।
बिजनेस नेपाल म्यानेजमेन्टद्वारा प्रकाशित/प्रसारित क्यापिटल बिजनेस म्यागजिन र क्यापिटल नेपाल डटकमले ‘होटलियर समिट २०२४’ आयोजना गरेको छ। भदौ २८ गते होटल क्षेत्रकै पहिलो समिटमा पर्यटन र होटल क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय पहिल्याउने प्रयास गरिएको छ। कार्यक्रमबाट प्राप्त प्राप्त निष्कर्ष सरकार र निजी क्षेत्रलाई सुझावका रुपमा बुझाइने बिजनेस म्यानेजमेन्टले जनाएको छ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रतिवेदन पारित गरेको छ। भदौ २४ मा बसेको बैठकले विधेयक संशोधनसहित पारित गरेको हो। २०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो। तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १६ गते विधेयक सदनमा दर्ता गराएका थिए।
नेपाल बिमक संघले तीन वर्षदेखि रोकिएको कोरोना बिमा दाबी भुक्तानी माग्दै नेपाल बिमक संघले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। आफैंले बिमा दाबी भुक्तानीकर्ता रहेको निर्जीवन बिमा कम्पनीको संस्था संघले भदौ २३ मा सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत कोरोना बिमा गर्ने घोषणा गरी एक लाख रुपैयाँसम्मको सामूहिक कोरोना बिमा गर्दै वार्षिक शुल्कमा ५० प्रतिशत अनुदान दिएको थियो। त्यसरी गरिएको बिमाबापतको १० अर्ब रुपैयाँ भुक्तानी नभएपछि संघ अदालत पुगेको हो।
बुद्ध एयरले १६ वर्षदेखि आन्तरिक गन्तव्यमा उडाइरहेको र हालसम्म १८ लाख यात्रुलाई सेवा दिएको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसनयुक्त एटीआर विमानलाई बिदा गरेको छ। भदौ २५ मा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानस्वरूप पानीको फोहोराले सलामी(वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरेको हो। ७० हजार उडान साइकल पूरा भएपछि एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्रउपकरणबाहेक फ्युसलाज (विमानको मुख्य शरीर वा ढाँचा) लाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने प्रावधानअनुरुप कम्पनीले उक्त विमान उडाउन छाडेको हो।
नेपाल उद्योग परिसंघले आयोजना गरेको दुईदिने पूर्वाधार सम्मेलनको पाँचौं संस्करण सम्पन्न भएको छ। भदौ २७ देखि सुरु भएको सम्मेलनमा गत वैशाखमा आयोजित लगानी सम्मेलनका समय सोकेसमा राखिएका परियोजना पूर्वाधार समेटिएका थिए। सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजी क्षेत्रको लगानी चाहने हुँदा त्यसका लागि आवश्यक नीति नियम बनाउन जुनसुकै सहयोग रहने प्रतिबद्धता जनाए। सम्मेलनमा क्षेत्रीय यातायात, ऊर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा छलफल भएका थिए।
देशभरिका सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’नचल्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भदौ २५ मा सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो। सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ। कर्मचारीले नागरिकलाई सहज प्रशासनिक सेवा दिनुको सट्टा सेयर कारोबारमा ध्यान दिएको गुनासोपछि सरकारले टीएमएस प्रणाली बन्द गराएको हो।
सहकारीमा डुबेको रकम फिर्ता माग गर्दै आन्दोलित सहकारी पीडितसँग सरकारले तेस्रोपटक सम्झौता गरेको छ। भदौ २४ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित सरोकार संस्था बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सम्झौता भएको हो। सहमतिसँगै साढे तीनमहिने आन्दोलन फिर्ता भएको छ भने सात सदस्यीय कार्यदल गठन गर्ने सहमति जुटेको छ।
सरकारले सहकारी विभागका उपरजिस्ट्रार संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ। यसअघि मन्त्रालय र अभियानबीच २०८० चैत ८ र २०८० साउन १८ मा भएका सहमति कार्यान्वयन गर्ने सरकारी प्रतिबद्धता व्यक्त भएको छ। सहमतिपछि १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना कार्यक्रम फिर्ता लिइएको अभियानका अध्यक्ष केसीले बताए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले अवैध कल सेन्टर सञ्चालन गरेर ठगी गरेको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिएको छ। सीआईबीले भदौ २७ मा ललितपुरस्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको सूचनाका आधारमा छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ५० मध्ये दुई जना चिनियाँ र एक जना फिलिपिनो नागरिक रहेको प्रहरीले जनाएको छ।
मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी पाइएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भदौ १४ मा उक्त मुद्दामा १० जनालाई सफाइ दिएको छ। अदालतले तत्कालीन सचिव ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको छ। विशेष अदालतले तीनै जनासँग करिब १४ करोड रुपैयाँ बिगो माग गरेको छ।
यो साता सेयर बजारमा ३८.८३ अंकको गिरावट आएको छ। साताको पाँच कारोबार दिनमा एक दिन बढेर चार दिन घट्दा सेयर बजार ३८.८३ अंकले घटेर २६८८.५३ बिन्दुमा सीमित भएको हो। गत साताको पाँच कारोबार दिनमा तीन कारोबार घटेर दुई कारोबार बढ्दा २२.२१ अंकले घटेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७२७.३६ बिन्दुमा रोकिएको थियो। यो साता नेप्सेमा कुल ४० अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता नेप्सेमा ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।