काठमाडौं । फोहोर व्यवस्थापनको नयाँ मोडल अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा शुक्रबार फोहोर व्यवस्थापन सेसनमा बोल्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्।
वातावरण, ऊर्जा तथा जलस्रोत केन्द्रका अध्यक्ष डा. ढुण्डीराज पाठकले फोहोर व्यवस्थापनमा निजी क्षेत्रको लगानी आकर्षण हुने खालको नीति बनाएर स्वच्छ वातावरण कायम राख्न सकिने बताए।
कार्यपत्र प्रस्तुत गरेका पाठकले नेपालमा पर्याप्त स्रोत भए पनि कमजोर फोहोर व्यवस्थापनले स्वच्छ वातावरणलगायत क्षेत्रमा असर पारेको धारणा राखे।
संविधानमै स्वच्छ वातावरणको अधिकार सुनिश्चित भए पनि नगरपालिकामा वातावरण व्यवस्थापनको हिसाबले प्लास्टिक व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
‘केन्द्रीकृत प्रणाली र कमजोर प्राविधिक पूर्वाधारले सुधारको प्रयासका लागि नीति निर्माणमा समेत असर परेको देखिन्छ,’ उनले भने।
विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाले नेपालमा फोहोर व्यवस्थापनका लागि ठूलो रकम खर्च गरे पनि नतिजामा सुधार आउन नसकेको उनले बताए। ‘यसको मुख्य कारण व्यवस्थापकीय कमजोरी पनि हो। स्थानीय तहसँग रकम पर्याप्त भए पनि संस्थागत संरचना, कानुनी प्रावधानबीच नै आपसमा विरोधाभास छ,’ उनले भने।
नयाँ प्रविधि र इनोभेसनसँगै कानुनी र संस्थागत संरचनामा सुधार हुनुपर्ने उनले बताए। त्यस्तै, मानिसको व्यवहारमा पनि रुपान्तर हुनुपर्नेमा उनले जोड दिए।
अर्बान इन्भायरमेन्ट डिकार्बनाइजेसन डेभलपमेन्ट एन्ड प्लानिङ विज्ञ डा. सुव्रमण्यम सुव्रमण्यमले फोहोर व्यवस्थापनका विभिन्न मोडल अपनाएर अर्थतन्त्रमै सकारात्मक सुधार ल्याउन सकिने बताइन्। ‘फोहोर व्यवस्थापनका लागि रिड्युस, रिसाइकल र रिजेनेरेसन लगायतका माध्यम अपनाउन सकिन्छ। सर्कुलर इकोनोमी मोडलमा समग्र फोहोरको चक्रलाई केलाएर हेर्दा त्यसको सही व्यवस्थापनले अर्थतन्त्रसँगै वातावरण प्रदूषण कम गर्छ। यसले दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्छ,’ उनले भनिन्।
फोहोरको रिसाइकल हुने खालका उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले यसबाट इनर्र्जी उत्पादन हुने उद्योग र न्यून प्रभाव हुने गरी प्रयोग गर्न सकिने धारणा राखिन्।
भारतको नेसनल इलेक्ट्रिक पावर रेगुलेटरी अथोरिटीका प्रमुख कार्यकारी अधिकृत सन्दीप पट्टेलले फोहोर व्यवस्थापनमा नवीनतम विकल्प खोज्नुपर्ने बताए। ‘हामीले समस्या केन्द्रित कुरा ग¥यौं तर त्यसको पूरा समाधानको नयाँ प्रविधि के हुन सक्छ भन्नेमा ध्यान दिएनौं,’ उनले भने, ‘नयाँ प्रविधिलाई स्वीकार गरेर प्रक्रिया र कामका लागि सहज व्यवस्था हुन आवश्यक छ। त्यसपछि लगानी केन्द्रित हुन्छ र फोहोर व्यवस्थापनबाट अर्थतन्त्रको इकोसिस्टममै सकारात्मक असर पर्छ।’
पट्टेलले इनर्जी प्लान्टलगायत क्षेत्रमा लगानी बढाएर फोहोर व्यवस्थापनमा सहजता ल्याउन सकिने धारणा राखे। भारतको इन्भायरमेन्ट इनाबलरका हेड अफ बिजनेस डेभलपमेन्ट लिजु बाल्सनले नेपालले पनि भारतको जस्तै प्रविधि प्रयोग गर्न सकिने बताए। ‘नेपालले पनि भूगोल सुहाउँदो फोहोर व्यवस्थापनको प्रविधि अपनाउन सक्छ। रिसाइकल, रियुजजस्ता अवधारणा प्रयोग गर्न सक्छ,’ उनले भने।