काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तुरुन्तै लाभ लिन सकिने क्षेत्र पर्यटन भएकाले निजी क्षेत्रबाट भन्दा पनि सरकारले यसमा ध्यान दिनुपर्ने बताएका छन्। शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले पर्यटन सिजनका बेला हवाइ उडानको संख्या घटाउनु् भन्दा बढाउनतर्फ लाग्नुपर्ने धारणा व्यक्त गरे। आफूलाई नेपालबाट उडान संख्या घटाइएको विषयमा मलेसियन र कतारी राजदूतले समेत जिज्ञासा राखेको उनले बताए।
'पर्यटन सिजनमा उडान घटाउने होइन, बढाउनुपर्छ। नेपालमा धेरै ब्रान्डका होटल खोल्नु भनेको संसारका पर्यटकलाई बाटो खुल्नु हो। यसका लागि होटलको सेवाशुल्कलाई समय सापेक्ष बनाउनुपर्छ,' उनले भने।
धेरैभन्दा धेरै पर्यटक भित्र्याएर आम्दानी लिन पूर्वाधारलाई प्राथमिकता दिन सक्नुपर्ने, नारायणगढ–मुग्लिन-पोखरा सडक स्तरोन्नति छिटो सक्नुपर्नेमा उनले जोड दिए।
नेपालको हवाइ उडान शुल्क महँगो भएको गुनासो सम्बोधन गर्नुपर्ने र पर्यटनलाई प्राथमिकता दिन पूर्वाधार निर्माणतिर ध्यान दिनु अध्यक्ष ढकालले बताए।
'नेपालमा निजी क्षेत्रले धेरै होटल खोलेको छ। सरकारबाट पूर्वाधार निर्माणलाई गति दिन सके यसको विकास अझ हुन्थ्यो। व्यवसायीले सीमा क्षेत्रमा विकासका पूर्वाधार बनाउन सके पर्यटन क्षेत्रका साथै होटल व्यवसायले पनि गति लिन सक्छ,' उनले भने, 'व्यवसायीले होटलमा लगानी गर्ने भनेको लामो समयसम्मका लागि सोचेर हो। सीमा क्षेत्रमा पूर्वाधार बनाउनु पर्छ। विदाको समय घुम्न आउने धेरै पर्यटक भारतीय हुन्छन्। उनीहरूलाई सेवा सुविधा दिन कन्जुस्याइँ गर्नुहुन्न।'