काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा पर्यटक भित्र्याएर पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न निरन्तर प्रोत्साहन नीति अपानाउँदै आएको बताएका छन्।
शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याएर पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकको प्राथमिकतामा रहेको बताएका हुन्।
‘लामो समय सुस्ताएको पर्यटन क्षेत्र खासगरी २०२३ पछि उल्लेख्य सुधार आएको छ। पर्यटन उद्योग विस्तारका लागि हाम्रो आन्तरिक नीति र पूर्वाधारका विषयलाई थप मजबुद बनाउँदै लग्नुपर्ने छ,’ गभर्नर अधिकारीले ‘राष्ट्र बैंकले पर्यटनमार्फत् वैदेशीक लगानी भित्र्याउनका लागि सहुलियत दिने र प्रोत्साहन गर्ने काम निरन्तर गर्दै आएको छ।’
गभर्नर अधिकारीले नेपालमा पर्यटन क्षेत्र वैदेशिक लगानी भित्र्याउने सबैभन्दा उत्तम विल्कप भएको बताए। पर्यटन क्षेत्र आजका दिनमा मानिस आउने र जाने विषयसँग मात्रै जोडिएको नजोडिएको र यो प्रविधि, पूर्वाधार, संस्कृति र हाम्रा मौलिक गतिविधिसँग जोडिएका अधिकारीको भनाइ छ।
संयुक्त साझेदारीका विश्व स्तरीय होटल सञ्चालनले नेपालमा रोजगारीका साथै पर्यटन प्रवर्द्धमा समेत सहयोग पुगेको उनको धारणा छ।
‘विश्वव्यापी पर्यटन उद्योगले २०२३ मा बलियो रिकभरी सेट गरेको छ र संयुक्त राष्ट्र विश्व पर्यटन संगठनको रिपोर्ट अनुसार २०२४ मा पूर्वमहामारीको स्तरमा फर्किने ट्रयाकमा रहेको अनुमान गरिएको छ,’ गभर्नर अधिकारीले भने, ‘हामीले नेपालको पर्यटन क्षेत्रमा पनि यस्तै प्रवृत्ति देखेका छौं। गत आर्थिक वर्षमा नेपालमा पर्यटक आगमनको सङ्ख्या १० लाख नाघेको छ। नेपाल आउने पर्यटकमा भारत, चीन र अमेरिका, बेलायतलगायतका देशका छन्।’