काठमाडौं । नेपाल पूर्वाधार बैंक र पाँच वाणिज्य बैंकमा नेपाल राष्ट्र बैंकका सुपरीवेक्षक पुगेका छन्। पहिलो चरणमा पूर्वाधार बैंक (निफ्रा), सानिमा, नेपाल एसबिआई, एभरेष्ट, कृषि विकास र माछापुच्छ्रे बैंकमा राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागबाट स्थलगत निरीक्षण टोली पुगेको हो।
राष्ट्र बैंकको सुपरीवेक्षण विभागले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा स्थलगत, गैर–स्थलगत निरीक्षण, विशेष सुपरीवेक्षण र लक्षित गरी चार प्रकारले निरीक्षण गर्छ। राष्ट्र बैंकले वार्षिक कार्यतालिका बनाएर त्रैमासिक रुपमा स्थलगत तथा गैर–स्थलगत निरीक्षण गर्छ।
पहिलो त्रैमासका लागि विभागले ६ वटा बैंकको नामावली तयार गरी निरीक्षण टोली पठाएको हो। यसमध्ये एभरेष्ट, सानिमा र निफ्रामा स्थलगत निरीक्षण पूरा भइसकेको छ भने कृषि विकास, माछापुच्छ्रे र नेपाल एसबिआई बैंकमा स्थलगत निरीक्षण भइरहेको छ। बाँकी १५ बैंकमा अघिल्लो वर्षको निरीक्षणका आधारमा त्रैमासिक रुपमा नाम छनौट गरी सुपरिवेक्षण टोली पठाइने राष्ट्र बैंक स्रोत बताउँछ।
‘बाँकी १५ वटालाई त्रैमासिक रुपमा ५/५ वटा गरी स्थलगत निरिक्षण गर्छौं। नाम छान्दा पछिल्लो निरीक्षण मिति र त्यसको आधारमा तत्कालीन अवस्था मूल्यांकन गरेर नामावली तयार गर्छाैं,’ राष्ट्र बैंक स्रोत भन्छ।
स्थलगत र लक्षित निरीक्षण सबै बैंक तथा वित्तीय संस्थामा हुन्छ। लक्षित र स्थलगत निरीक्षणमा प्राप्त वित्तीय विवरण एवं सूचनाको आधारमा दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा नियमित अनुगमन गरिन्छ। सोही आधारमा वित्तीय विश्लेषण गर्ने र प्रचलित कानुन तथा राष्ट्र बैंकले दिएका निर्देशन पालना भए÷नभएको परीक्षण गरी गैर–स्थलगत निरीक्षण गरिन्छ।
गैर–स्थलगत र स्थलगत निरीक्षणमा प्राप्त कागजात एवं तथ्यांक पुनः जाँच तथा थप मागको आवश्यकता अनुसार हुन्छ।
पहिलो त्रैमासमा सकिएका र निरीक्षण भइरहेका ६ वटा बैंकमा कर्जा विस्तारका क्रममा सम्पत्ति तथा दायित्व व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको, अनिवार्य नगद मौज्दात अनुपात र वैधानिक तरलता अनुपात अपुग भएको, मासिक ब्याजदरअन्तर तोकिएको सीमाभित्र नभएको, तोकिएको क्षेत्रमा कर्जा प्रवाह अपुग भएको, निक्षेपको ब्याजदर सम्झौताअनुसार हेरफेर, सूचना प्रविधि नीतिगत प्रावधानभन्दा बाहिर रहेकोलगायत विविध कैफियत पाइएको छ।
स्थलगत निरीक्षण टोलीबाट प्रतिवेदन प्राप्त भइनसकेको हुँदा कुन बैंक कस्तो दण्ड जरिमानामा पर्ने हुन्, तय नभएको स्रोतको भनाइ छ। यद्यपि, स्थलगत निरीक्षणमा सुपरीवेक्षक तत्कालै सुधार गर्नुपर्ने गरी राष्ट्र बैंकको सम्बन्धित विभागले निर्देशन जारी गर्नुपर्ने वा पत्राचार गर्नुपर्नेलगायत कैफियतमा औंल्याएको अवस्थामा भने प्रतिवेदन रिपोर्ट कुर्नुपर्दैन।
सुपरीवेक्षण विभागले दोस्रो त्रैमासमा निरीक्षण टोली पठाउने बैंकको नाम छनोट प्रकृया केही दिनमै सुरु गर्ने बताइको छ।
अघिल्लो वर्ष चौथो त्रैमासमा हिमालयन, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु र नेपाल बैंकमा स्थलगत निरीक्षण भएको थियो।
यस्तै, गत वर्षको तेस्रो त्रैमासमा एभरेष्ट, एनएमबी, माछापुच्छ्रे, प्रभु, सिटिजन्स र ग्लोबल आइएमई बैंकको स्थलगत निरीक्षण गरिएको थियो। दोस्रो त्रैमासमा निफ्रा, सानिमा, राष्ट्रिय वाणिज्य, स्ट्यान्डर्ड चार्टर्ड, नबिल र एनआइसी एसिया बैंकमा भएको थियो।
पहिलो त्रैमासमा कुमारी, नेपाल एसबीआई र लक्ष्मी सनराइज बैंकको भएको थियो।
राष्ट्र बैंकले विशेष निरीक्षण भने बैंक वा वित्तीय संस्थाबाट प्राप्त सूचना, जानकारी एवं विवरण, सरोकारवाला तथा ग्राहक गुनासोका आधारमा गर्छ।