काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमा गरिने काम र उपलब्धिका विषयमा उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा कार्यसम्पादन सम्झौता आदानप्रदान गर्दै ओलीले कुनै पनि मन्त्रीलाई काममा अलमल गर्ने छुट नभएको बताए।
'सरकारलाई विश्राम गर्ने सुविधा छैन। तीव्रताका साथ काम अघि बढाउनपर्छ। बिस्तारै गरौंला भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको हो। मन्त्रालयबीच एक-अर्कालाई सहयोग गर्ने भावना हुनुपर्यो,' प्रधानमन्त्रीले भने, 'अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ जानेछौं। अब अलमल गर्ने सुविधा पनि छैन।'
काममा योजनावद्धता, पारस्परिक साथ र सहयोग चाहिने उनले औंल्याए। 'अधिकार, काम, खर्चको डुब्लिकेसन। एउटै काम यसले पनि गर्ने, उसले पनि गर्ने भन्दा कसले गर्ने टुंगो नलाग्ने स्थिति हटाउनुपर्छ। जिम्मेवारीलाई पनि स्पष्टताका साथ कार्य सम्पादन गर्नुपर्छ,' उनले भने।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्य तोकिएको समयमा सम्पन्न गर्न गर्ने गरी कार्यसम्पादन गरिएको छ।
अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (कात्तिक ६), दोस्रो सय दिन (२०८१ माघ १७) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन्।
प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीले सम्बन्धित सचिवसँग कार्यसम्पादन सम्झौता गर्ने छन्। प्रधानमन्त्री र मुख्यसचिवबीच पनि कार्यसम्पादन सम्झौता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।