काठमाडौं । नेपालमा उत्पादित तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब २ हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए।
उनले भने, ‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौं।’ यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरिप्रसाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुँदा किसानको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारी खेती गरिएको थियो। तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो।
कतारमा नेपाली ताजा तरकारी निर्यात समारोहमा चीनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालको कृषि विकासमा महत्वपूर्ण पहल भएको बताइएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको कृषि प्रवद्र्धन कार्यक्रमद्वारा समर्थित किसानले खेती गरेका विभिन्न बाली समावेश भएका जनाइएको छ। आज कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेलालगायत छन्।
दक्षिणकालीका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गर्दै कतारको बजारमा मन पर्ने नेपालका लागि कतारी राजदूत अन्सारीले बताए। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) नेपालको कार्यालय चीनबाट सफल ग्रामीण विकास अभ्यासलाई नेपाली समुदायमा हस्तान्तरण गर्न अग्रपंक्तिमा छ।
२०२३ मा फाउन्डेसनले तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम दिएको थियो।