काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन्।
आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आयोजित सम्झौता कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मन्त्री भण्डारीले भने, ‘नेपाल यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग उपलब्ध गर्न प्रतिबद्ध छौं। लगानीकर्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार तयार छ।’
मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिए। उनले यो सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुआत संकेत गरेको उल्लेख गरे।
‘यो नयाँ सूचना र प्रविधि उद्यम स्थापनाको साक्षी हुँदा हामीले व्यापार सम्झौतामा हस्ताक्षर मात्र गर्दैनौ, हामी नेपाल र जापानबीच पुल निर्माण गरिरहेका छौं। प्रत्यक्ष वैदेशिक लगानीले आर्थिक वृद्धि, रोजगारी सृजना र प्रविधि तथा ज्ञानको हस्तान्तरणमा सहजीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले विशेषगरी द्रुत गतिमा अन्तर्राष्ट्रिय लगानी र नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्ने नेपालको साझेदारी प्रतिबद्धतालाई मूर्त रूप दिन्छ’, उनले भने।
आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत (सीईओ) सतोशी सातोले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरे।
दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
आइजिसीका अध्यक्ष लामाले सम्झौतापछि नेपाल र जापानबीच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा सुरु भएको बताए। उनले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
केइरिनकनका अध्यक्ष तथा सीईओ सतोशी सातोले संयुक्त लगानीप्रति उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापानबीचको गहिरो सम्बन्धलाई मजबुत बनाउने धारणा व्यक्त गरे।