काठमाडौं । पछिल्लो ६ कारोबार दिन लगातार घटेको सेयर बजार उच्च अंकले बढेको छ। साताको कारोबार अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अंक अर्थात् २.९९ प्रतिशतले बढेर २६८८.३८ बिन्दुमा पुगेको हो।
भदौ १७ गते १२७.३२ अंक र १८ गते ६.९४ अंकले बढेर २८३० बिन्दुमा बन्द भएको नेप्सेमा त्यसयता लगातार गिरावट आएको थियो। भदौ १८ मा २८३०.२० बिन्दुमा रहेको नेप्से ६ कारोबार दिनमा २१९.९९ अंकले घटेर अघिल्लो कारोबार दिन बुधबार २६१०.२१ बिन्दुमा खुम्चिएको थियो। उक्त ६ कारोबार दिनको लगातार गिरावटपछि बिहीबार नेप्सेमा उच्च सुधार देखिएको हो।
बिहीबार सूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ। आज नेप्सेमा कुल ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्सेमा ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, मंगलबार ६ अर्ब ८८ करोड र सोमबार ९ अर्ब ४ करोडको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएकामध्ये २२९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर छ।
बिहीबार वीन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर लिमिटेड, इस्टर्न हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसियन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। यस बाहेक अन्य पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
बिहीबार अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा पनि थ्री स्टार हाइड्रोपावरको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। बिहीबार १३ समूहमध्ये म्युचल फन्डबाहेक सबै समूहको सेयर मूल्य बढ्दा जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
आज जलविद्युत समूहको सेयर मूल्य ४.२४ प्रतिशतले बढ्दा लगानी ३.७२, जीवन बिमा ३.४६ र फाइनान्स समूहमा ३.४० प्रतिशतको वृद्धि भएको छ। बैंकिङको सेयर मूल्य २.६६ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५० प्रतिशत र उत्पादनको सेयर मूल्य २.१४ प्रतिशतले बढेको छ।