काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले प्रदेश स्तरमा सञ्चालित सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गत साता कपिलवस्तुको वाणगंगा नगरपालिका–४ ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शिविरमा ३०० बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएको एनसेलले बताएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा सहभागी स्थानीयले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरबाट मुटु, विभिन्न रोग विशेषज्ञसँग परामर्शलगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा लिएका थिए।
बिहान १० बजेबाट सुरु भएको शिविरमा स्वास्थ्यजाँचका लागि आएका स्थानीयलाई निःशुल्क औषधी वितरण गरिएको एनसेलले जनाएको छ।
एनसेलले सीआरएसअन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो। यसअघि कपिलवस्तुकै मायादेवी गाउँपालिका–३ फुलिका स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको कम्पनीको भनाइ छ।
‘एनसेल जिम्मेवार कर्पोरेट नागरिक हो। हामीले समुदायका मानिसका लागि फाइदा हुने काम गर्न सधैं प्रतिबद्घ छौं। सोहीअनुरुप सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिस लक्षित विभिन्न सामाजिक विकासका काम गर्दै आएका छौं’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन्।
एनसेलले गत वर्ष १८औं वार्षिकोत्सव अवसरमा ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका निम्ति १८ वटा सामाजिक पहलका लागि आवेदन खुलाएको थियो। सोही पहलअन्तर्गत सातै प्रदेशमा विकास कार्य कार्यान्वयन भइरहेका हुन्। कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्न प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको एनसेलले जनाएको छ।
एनसेलले स्थापनापछि शिक्षा, वातावरण र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब बढी योगदान गरिसकेको बताएको छ।