काठमाडौं। नेपाल उद्योग परिसंघले आयोजना गर्दै आएको पाँचौं संस्करणको नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ। गत वैशाखमा आयोजित लगानी सम्मेलनका समय सोकेसमा राखिएका परियोजना पूर्वाधार सम्मेलनमा राखिएको छ।
सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध जस्ता विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता र तीनै तहका सरकार तथा निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गरिनेछ।
परिसंघले सन् २०१४ देखि सुरु गरेको पूर्वाधार सम्मेलन २०१७, २०१९ र २०२२ मा गरिसकेको छ। सोल्टी होटलमा आयोजित दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन बेलुकी ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
सम्मेलनमा क्षेत्रीय यातायात, ऊर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा छलफल हुनेछ।
सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, महानगर, राष्ट्रिय योजना आयोग, एसियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञले आ–आफ्ना धारणा प्रस्तुत गर्नेछन्।
रणनीतिक लगानीमार्फत दिगो विकास नारासहित पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना भएको हो। सम्मेलनमा सार्वजनिक/निजी साझेदारी अवधारणाअनुरुप भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड सहकार्य रहेको छ।
सम्मेलनको टाइटल स्पोन्सर बीवाईडी रहेको छ भने को–स्पोन्सर(बिल्ट एन्ड ट्रस्ट)मा शिवम् सिमेन्ट रहेको छ।
सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई हस्तान्तरण गरिने परिसंघले जनाएको छ।