काठमाडौं । लघुवित्त वित्तीय संस्थाले आफ्नै लागि आचार संहिता लागू गरेका छन्। नेपाल लघुवित्त वित्तीय संस्था बैंकर्स संघले ‘लघुवित्त वित्तीय संस्था आचार संहिता, २०८१’ लागू गरेका हुन्।
संघले सदस्य तथा कर्जा लगानी, पारदर्शिता सम्बन्धमा, वित्तीय साक्षरता तथा ग्राहक क्षमता अभिवृद्धि, ग्राहक संरक्षणका सिद्धान्तको पालना, कर्मचारी सम्बन्धी व्यवस्था, समन्वय एवं सहकार्यलगायत विषय समेटेर आचार संहिता निर्माण गरेको छ। आचार संहिताले संस्थाको काम कारबाहीदेखि कर्मचारी, ग्राहक तथा सदस्यलाई समेटेको छ।
संस्थामा नयाँ कर्मचारी भर्ना र अर्को संस्थाका पुराना कर्मचारी नियुक्तलाई समेत आचार संहिताले कढाइ गरेको छ। नयाँ कर्मचारी भर्ना गर्दा रिर्फेन्सको आधारमा गर्नु पर्ने छ भने अर्को संस्थाका कर्मचारीले स्वीकृत राजीनामा पेस गरेपछि मात्रै नयाँ नियुक्ति पाउने छन्। बर्खास्तमा परेको कर्मचारीको पनि संघमा अभिलेख पठाउनु पर्नेछ।
आचार संहिताअनुसार संस्थाले अर्को संस्थामा रहेका व्यक्तिलाई बनाउन पाउने छैन भने परिवारको सहमतिपछि मात्रै सदस्यलाई ऋण दिन पाइनेछ। ऋणको सदुपयोग बारे पनि संस्थाले नियमित अनुगमन गर्नु पर्नेछ।
पछिल्लो समय लघुवित्त क्षेत्रबारे ऋणी तथा समुदायबीच फैलिएको भ्रम र बदनामी तथा समस्यालाई समाधान गर्न उक्त आचार संहिता लागू गरिएको लघुवित्त वित्तीय संस्था बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बताए।
‘केही वर्षयता लघुवित्त संस्थाकै कमजोरीले गर्दा होस् वा ऋण लिएर नियतपूर्ण तिर्दिन भन्नेहरूले गर्दा भएको बदनामी हटाउन आचार संहिता निर्माण गरिएको हो,’ अध्यक्ष यादवले क्यापिटल नेपालसँग भने, ‘संघमा आबद्ध सबै संस्थाले आचार संहिता पालना गर्नपर्छ। नमान्नेलाई संघले नै कारबाहीको दायरामा ल्याउने र नियामकीय कारबाहीका लागि नेपाल राष्ट्र बैंक सिफारिसलाई गर्नेछ।’
आचार संहिता लागू गरेसँगै संघले सम्बन्धित संस्थाले पालना गरे/नगरेको निरीक्षण तथा अनुगमन गर्ने गरी अनुशासन समिति गठन गरेको उनले जानकारी दिए।
नयाँ आचार संहिताअनुसार लघुवित्तविरुद्धको गतिविधिमा संलग्नले र उनको परिवारका सदस्यले समेत संघमा आबद्ध संस्थाको वित्तीय सेवाबाट वञ्चित रहनु पर्नेछ।
यस्तो छ संघले कार्यान्वयनमा ल्याइएको आचार संहिता
सदस्य तथा कर्जा लगानी
– नयाँ सदस्य बनाउँदा अनिवार्य अन्य संस्थामा आबद्ध नभएको यकिन गरेर मात्र सदस्य बनाउने।
– कर्जा लगानी गर्दा अनिवार्य पारिवारिक सहमति लिएर क्षमताको आधारमा मात्र कर्जा लगानी गर्ने।
– कर्जा लगानी गर्नु पूर्व कर्जा सूचना लिई राष्ट्र बैंकको प्रचलित निर्देशनमा रही लगानी गर्ने र कर्जा सम्बन्धी विवरण तोकिएको अवधिभित्र कर्जा सूचना केन्द्रमा अद्यावधिक गर्ने।
– समूह सदस्य स्वयम्ले ऋण उपभोग गरे/नगरेको र ऋणको सदुपयोग गरे/नगरेको सन्दर्भमा अनुगमन गर्ने।
– एक ऋणी एक संस्था सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा ग्राहकको इच्छा अनुसारको संस्थामा आबद्ध हुने अवसर प्रदान गर्ने।
पारदर्शिता सम्बन्धमा
– संस्थाले प्रवाह गर्ने सम्पूर्ण कर्जा तथा निक्षेपको ब्याजदर एवं वित्तीय संस्थाले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाका बारेमा ग्राहकलाई स्पष्ट जानकारी दिने गरी प्रत्येक शाखा कार्यालयमा सबैले देख्ने स्थानमा सूचना पाटी राख्ने।
– ग्राहकले माग गरेको खण्डमा निजको कर्जा तथा बचतको विवरण सहज रूपमा उपलब्ध गराउने।
वित्तीय साक्षरता तथा ग्राहक क्षमता अभिवृद्धि
– निश्चित कार्यक्षेत्रमा कार्यरत लघुवित्त संस्थाको शाखा कार्यालयको समन्वय र सहकार्यमा सामूहिक रूपमा स्थानीय स्तरमा (जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय प्रशासन, अभिभावक, राजनैतिक व्यक्तित्व, पत्रकार तथा अन्य सरोकारवालासँग) कम्तीमा वर्षको एक पटक वित्तीय साक्षरता तथा सहकार्य कार्यक्रम सञ्चालन गर्ने गराउने।
– ग्राहक सदस्यलाई वित्तीय सेवा सम्बन्धी सम्पूर्ण जानकारी, उद्यमशीलता विकास तथा वित्तीय रूपमा साक्षर बनाउन सम्बन्धित संस्थाले क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालन गर्ने।
ग्राहक संरक्षणका सिद्धान्तको पालना
– सम्पूर्ण कर्मचारीलाई ग्राहक संरक्षण सिद्धान्तको बारेमा तालिम प्रदान गरी ग्राहक संरक्षणका सिद्धान्तको परिपालना गर्ने गराउने।
– गुनासो सुनुवाइका लागि यस संघको तर्फबाट उच्च स्तरीय समिति गठन गरी सेवाग्राहीको गुनासो सुनुवाइ तथा सम्बोधन सम्बन्धी कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
कर्मचारी सम्बन्धी व्यवस्था
– अर्को कुनै लघुवित्त संस्थामा कार्यरत कर्मचारीलाई आफ्नो वित्तीय संस्थामा नियुक्ति गर्दा निज कर्मचारीले अघिल्लो संस्थाबाट राजीनामा स्वीकृत भएको पत्र पेस गरेपछि मात्र नियुक्ति दिने।
– अनियमितता तथा खराब आचरण व्यवहारको कारण बर्खास्तमा परेका कर्मचारीको अभिलेख नेपाल लघुवित्त बैंकर्स संघले राख्ने। यस कार्यका लागि सम्बन्धित संस्थाले यस्ता कर्मचारीको विवरण नेपाल लघुवित्त बैंकर्स संघलाई अनिवार्य उपलब्ध गराउने।
– लघुवित्त क्षेत्रमा काम गरिरहेका कर्मचारी भर्ना गर्दा निजको सम्बन्धित लघुवित्त संस्थासँग ‘रिर्फेन्स चेक’ गरी मात्र भर्ना गर्ने।
समन्वय एवं सहकार्य
– लघुवित्त वित्तीय संस्थाको संरक्षण एवं विकासका लागि सामूहिक सहकार्य गर्ने।
– संघ मार्फत गुनासो सुनुवाइलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने तथा गैह्र–बैकिंङ गतिविधि तथा क्रियाकलाप सम्बन्धी जानकारी गराउने।
– सूचनाको आधारमा सम्बन्धित संस्थालाई थप जिम्मेवार बनाउन यस संघ मार्फत पत्राचार गर्ने र जोखिम न्यूनीकरणका लागि पहल गर्ने गराउने।
– कुनै स्थानमा घटना घट्दा नजिकमा रहेका शाखा कार्यालयमा कार्यरत कर्मचारीको अनिवार्य उपस्थिति तथा ऐक्यबद्धता कायम गर्ने।
– एक लघुवित्त संस्थाले अर्को लघुवित्त संस्थाको विरुद्ध नकारात्मक तथा भ्रामक टिका टिप्पणी नगर्ने।
अन्य विषय
– सफल उद्यमी ग्राहकको विवरण तथा सामाजिक क्रियाकलापको अभिलेख राख्ने र वृहत् रूपमा प्रचार प्रसार गर्ने।
– एउटै कार्यक्षेत्रमा कार्यरत विभिन्न लघुवित्त वित्तीय संस्थाका शाखाबीच समन्वयका लागि यस संघका जिल्ला समन्वय समितिमार्फत सहकार्य गर्ने गराउने।
– यस संघको सहकार्यमा सम्पन्न सदस्य सम्मेलनको मूल नारा ‘स्वच्छ लघुवित्त समृद्ध सदस्य’लाई आत्मसात् गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने/गराउने।
– यस संघले निर्माण गरेको ‘वेब पोर्टल’मा निर्धारित विवरण अनिवार्य रूपमा उपलब्ध गराउने।
– अति विपन्न परिवारका छोराछोरीको आधारभूत एवं माध्यमिक शिक्षाका लागि छात्रवृत्ति दिनुका साथै कर्मचारी भर्ना तथा अन्य अवसरमा यस्ता परिवारका छोरा छोरीलाई प्राथमिकता दिने।
– लघुवित्त विरुद्धको गतिविधिमा संलग्न सदस्य एवं निजको अभिभावकको सूची तयार गरी यस संघलाई उपलब्ध गराउने तथा एउटै क्षेत्रमा कार्यरत शाखामा विवरण उपलब्ध गराई त्यस्ता गतिविधिमा सक्रिय रूपमा संलग्न सदस्य तथा निजका परिवारलाई क्रमशः वित्तीय सेवाबाट वञ्चित गर्दै जाने।