काठमाडौं । नेप्से कारोबारको सुरुवाती चरणमा बजार बढाएर अन्तिममा घटाउने प्रवृत्तिले बुधबार पनि निरन्तरता पाएको छ। पछिल्लो एक सातादेखि कारोबारको सुरुवाती समयबाट मध्यान्तरसम्म बजार बढाउने र त्यसपछि सेलिङ प्रेसर बढाएर घटाउने प्रवृत्तिले बुधबार पनि निरन्तरता पाएको हो।
सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार कारोबार खुलेको केही समय अर्थात् ११ बजेर ९ मिनमा २६५१.१९ बिन्दुसम्म पुगेको थियो। त्यसपछि केही अंकले घटेर १२ बजेर २५ मिनेटमा पुनः २६४९.६१ बिन्दुसम्म पुग्यो। नेप्से उक्त बिन्दुबाट घट्दै २ बजेर ५५ मिनेटमा नेप्से २६०१.९१ बिन्दुसम्म झरेको थियो।
कारोबार बन्द हुँदा नेप्से २२.७३ अंक अर्थात् २६१०.२१ बिन्दुमा रोकिएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा बन्द भएको थियो। खासगरी पछिल्लो पाँच कारोबार दिन नेप्से मध्यान्हसम्म उकालो लाग्ने तर त्यसपछि घट्दै गएर न्यून बिन्दुमा बन्द हुने भइरहेको छ।
बुधबार नेप्सेमा कुल ६ अर्ब ६५ करोडको कारोबार भएको छ जुन असार यताकै न्यून हो। यसअघि असार २६ मा नेप्सेमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन बुधबार पनि नेप्सेमा कुल ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४८ प्रतिशतले बढेको छ। यस्तै, आज एसियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक अर्थात् ६.८८ प्रतिशतले घटेको छ।
बुधबार फाइनान्स समूहको सेयर मूल्य ०.४३ प्रतिशत, निर्जीवन बिमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको सेयर मूल्य ०.१६ प्रतिशले बढेको छ।
आज बैंकिङ समूहको सेयर मूल्यमा ०.९४ प्रतिशत, विकास बैंकमा १.०२ प्रतिशत, होटल तथा पर्यटन समूहमा ०.५२ प्रतिशत, जलविद्युत समूहमा ०.९२ प्रतिशतको गिरावट आएको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.१९ प्रतिशतले घट्दा जीवन बिमा समूहको १.८५ प्रतिशत, उत्पादन समूहको १.०१ प्रतिशत र लघुवित्त समूहको सेयर मूल्य ०.५४ प्रतिशतले घटेको छ।