काठमाडौं । आफू कार्यरत बैंकका शक्तिशाली संस्थापक सेयरधनी (प्रमोटर)लाई अर्को बैंकबाट ऋण दिलाउन बैंक उच्च व्यवस्थापन नै परिचालित हुन थालेको पाइएको छ।
ठूला संस्थागत लगानीकर्ता रिझाएर बैंकभित्र हालीमुहाली गरिराख्न प्रमोटरले लगानी गरेका अन्य कम्पनीमा ऋण लिने वार्तामा कर्मचारी परिचालित हुन थालेको गुनासो केन्द्रीय बैंकमा पर्न थालेको छ।
संस्थापक सेयरधनीले खोलेका कम्पनीको वित्तीय अवस्था बिग्रिएको, सुशासन नभएको, यसअघि लिएकै ऋणको साँवाब्याज तिर्न नसकेका कम्पनीलाई थप ऋण दिलाउन बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृतलगायत बैंक उच्च व्यवस्थापन नै लागेको गुनासो परेको हो।
नियामकीय प्रावधानअनुसार संस्थागत लगानीकर्ताले आफ्नो बैंकबाट कर्जा लिन नपाउने भए पनि आफ्ना बैंकका कर्मचारीलाई अन्य बैंकमा कर्जाको मोलमोलाइमा प्रमोटरले पठाउने गरेको गुनासो केन्द्रीय बैंकमा परेको छ।
संस्थामा आफ्नो प्रभुत्व कायम राख्न तथा प्रमोसनका लागि पदीय मर्यादा बिर्सिएर बैंकको उच्च व्यवस्थापन ठूला प्रमोटरका कम्पनीलाई कर्जा मिलाइदिने काममा परिचालित भइरहेका छन्।
गत भदौ २३ मा एक वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) आफ्नो बैंकका ठूला प्रमोटरको कम्पनीले लिएको सहवित्तीय कर्जासम्बन्धी बैठकमा सहभागि भए। उनी संस्थापक लगानीकर्ताले खोलेको उद्योगका लागि सहवित्तीय कर्जाका विषयमा अर्को बैंकमा भएको बैठकमा पुगेका हुन्।
आफ्ना प्रमोटरको उद्योगले लिएको सहवित्तीय कर्जाको ‘लिड’ बैंकमा राखिएको बैठकमा उद्योगकालागि आवश्यक कर्जामा सहुलियत, असोजदेखि कायम हुने नयाँ ब्याजदर, उद्योगको उत्पादन र साँवाब्याज तिर्ने योजनाबारे लिड बैंकका अधिकारी र अन्य सहायक बैंकका अधिकारीलाई विश्वस्त बनाएर फर्किएका थिए।
बैंक तथा वित्तीय संस्थाका संस्थागत लगानीकर्ताले आफ्नो लगानी भएको बैंकबाट कर्जा लिन मिल्दैन। साथै, बैंकका उच्च व्यवस्थापनका हुन् वा अन्य तहमा कार्यरत कर्मचारी। पदको दुरुपयोग कार्य गर्न नहुने राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन, २०८० को संस्थागत सुशासनसम्बन्धी व्यवस्थामा उल्लेख गरिएको छ। ‘कर्मचारीले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन,’ निर्देशनमा भनिएकाे छ।
बैंकका कर्मचारीले आफ्ना प्रमोटरका लागि अन्य बैंकमा कर्जा लगायत अन्य विषयमा काम गर्न नपाइने राष्ट्र बैंकका सह–प्रवक्ता डा. भागवत आचार्य बताउँछन्।
‘नियमअनुसार प्रमोटरले अन्य बैंकबाट कर्जा लिन पाउँछन्। तर, प्रमोटरको कर्जाका लागि बैंक कर्मचारीले अन्य बैंकमा गएर काम गर्नुहुँदैन,’ राष्ट्र बैंकका सहप्रवक्ता आर्चायले क्यापिटल नेपालसँग भने।
बहालवाला कर्मचारी वा निजका नातेदारले समेत पदको उपयोग गरेर पदीय प्रभाव पार्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको हो। तर, केही बैंकका कर्मचारी सम्बन्धित बैंकको ठूला प्रमोटरको अन्य व्यवसायका काममा खटिने गरेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट बताउँछन्।
‘बैंकका ठूला लगानीकर्ता भनिएकाहरु ठूला व्यवसायी नै हुन् र राजनीतिक पहुँच पनि उनीहरुकै बढी हुन्छ। यस्ता प्रमोटरले आफ्नो लगानी रहेको बैंकका कर्मचारीलाई व्यक्तिगत मुन्सी बनाएका हुन्छन्,’ राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक भट्टले क्यापिटल नेपालसँग भने, ‘राष्ट्र बैंकले संस्थागत सुशासनमा कर्मचारीले प्रमोटरको व्यक्तिगत वा व्यवसायीक काम गर्न/गराउनुहुँदैन भनेर उल्लेख नगर्दा यस्तो विकृति अहिले बैंकिङ क्षेत्रमा बढ्दो छ।’
बैंकका उच्च व्यवस्थापनका कर्मचारीले नै प्रमोटरका लागि अन्य बैंकमा हुने कर्जा प्रकृयामा अनौपचारिक रुपमा सहभागी भएर आफ्नो पदको दुरुपयोग गर्ने गरेका हुन्। यस्ता कार्य बैंकका कुनै पनि कर्मचारीले गर्न नहुने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन्।
बैंकका कर्मचारीले आफ्ना प्रमोटरले अर्को बैंकबाट लिएको ऋणको ब्याजदर घटाउन ती बैंकका सीइओलगायत अन्य उच्च व्यवस्थापनलाई आग्रह गर्ने प्रवृत्तिले समग्र बैंकिङ क्षेत्रकै संस्थागत सुशासन बिग्रिने खतरा रहेको उनको भनाइ छ।