काठमाडौं। दसैं–तिहार नजिकिएसँगै अटो ब्रान्डले विभिन्न अफर योजना सार्वजनिक गरिरहेका छन्। नेपालमा बिक्री भइरहेका सवारीसाधनका आधिकारिक वितरक कम्पनीले ग्राहकलाई लक्षित गरी बेलाबेला विभिन्न छुट योजना तथा अफर सार्वजनिक गरे पनि चाडवाडमा यसलाई बजार विस्तारको माध्यम बनाउने गरेका हुन्।
सोहीअनुरुप दसैं तिहार नजिकिएसँगै अफर ल्याउने क्रम बढ्दै गएको छ। हाल करिब आधा दर्जन दुईपांग्रे अटो ब्रान्डले ग्राहक लक्षित अफर तथा छुट योजना घोषणा गरिसकेका छन्।
दसैं सुरु हुन करिब एक महिना बाँकी छँदै दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकका लागि कम्पनीले भारी छुटसहित अफर सार्वजनिक गरिरहेका छन्।
चाडपर्वको समय विभिन्न अफर ल्याएर बिक्री बढाउने योजनाअनुरुप कम्पनीले सवारीसाधन खरिदमा फ्री सर्भिस, सहज फाइनान्स सुविधा, एक्सचेन्जलगायत अफर ल्याउने क्रम बढेको हो। आफ्नो व्यवसाय विस्तारका लागि गत वर्ष पनि अटो ब्रान्डले यस्ता अफर ल्याउने गर्छन्।
अटो ब्रान्डले बर्सेनि छुट योजना ल्याउने भएकाले कतिपय प्रयोगकर्ता चाडपर्वको समय सवसारीसाधन खरिद गर्ने योजनामा हुन्छन्। सामान्य समयभन्दा अफर चलेका बेला सवारीसाधन खरिद गर्दा फाइदा हुने भएकाले ग्राहकका लागि पनि चाडपर्वलगायत अवसर उचित मानिन्छ।
यो मौकामा अटो ब्रान्डमा कसले आकर्षक अफर दिने र ग्राहक आफूतर्फ केन्द्रित गर्ने भन्ने एक किसिमको प्रतिस्पर्धा नै चल्ने गरेको छ। केही ब्रान्डले यस्ता योजना सार्वजनिक गरिसकेका छन् भने कतिपय ब्रान्ड तयारीमा छन्।
दुईपांग्रे ब्रान्डका स्किम
यामाहा मोटरसाइकल तथा स्कुटर
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु राइर्डसले ‘विगेस्ट १०शंै’ स्किम सार्वजनिक गरेको छ। कम्पनीले आउँदै गरेको दसैं–तिहार तथा छठजस्ता चाडपर्वलाई लक्षित गरी यो अफर ल्याएको हो। बिगेस्ट १०शैं नामक योजनाअन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक पाउनेछन्।
यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफजेडभी थ्री बाइकमा १० वर्षको वारेन्टी पनि ग्राहकले पाउनेछन्। यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ। साथै, शून्य ब्याजदरमा कर्जा र सहज कर्जा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
बजाज मोटरसाइकल
बजाज मोटरसाइकलका नेपालका लागि आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले क्यास सफारी नामक स्किम ल्याएको छ। कम्पनीले चाडपर्वलाई लक्षित गरी ‘हात हातमा हात्ति लकमा लखपति’ नामक अफर ल्याएको हो।
यस अफर अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसट १०० वटासम्म हात्ती जित्न सक्ने छन्। एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ। त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराइने छ भने बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी उपलब्ध गराइनेछ।
साथै यस अफर अन्तर्गत बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने र पाँच वर्षसम्मको वारेन्टी सुविधा पाउने कम्पनीले जनाएको छ।
सुजुकी मोटरसाइकल तथा स्कुटर
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबामाइल्स प्रालिले दसैं–तिहार लक्षित ‘दसैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म क्यास पाउनेछन्। कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ। सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनीय कायम गर्न ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ।
टिभिएस मोटरसाइकल तथा स्कुटर
नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई लक्षित गरी ‘नयाँ युगको आरम्भ’ नामक योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
‘नयाँयुगको आरम्भ’ योजनाअन्तर्गत टिभिएस नेपालको बेवसाइटमा गएर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ। हरेक सप्ताह १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको कम्पनीले बताएको छ।
कम्पनीले जीवनभरका लागि वारेन्टीका साथ पुरानो बाइकवा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टरबिनाको इजी फाइनान्स उपलब्ध गराउने बताएको छ।
हिरो मोटरसाइकल तथा स्कुटर
नेपालका लागि हिरोका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सिजी मोटर्सले दुई पांग्रे सवारीसाधन खरिदमा नेटा भी कार जित्न सकिने अफर सार्वजनिक गरेको छ। कम्पनीले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘एक्कासि मालामाल’ अफरअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिनेछ।
कम्पनीले ‘दसैं, तिहार २०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको हो। साथै, यसअफर अन्तर्गत एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले अन द स्पट ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन्। ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना दुईपांग्रे सवारीसाधनसँग हिरो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ।