काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुखबारे व्यक्तिगत तबरमा मात्रै प्रतिक्रिया दिइरहेको सत्तारुढ नेपाली कांग्रेसले औपचारिक धारणा व्यक्त गर्दै इन्दिरा राना मगरलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी उपसभापति धनराज गुरुङ र उपसभामुख इन्दिराका बारेमा छलफल गर्न बसेको बैठकले औपचारिक धारणा सार्वजनिक गरेको हो। उपसभापति गुरुङ सहकारी ठगीमा संलग्न भएको आरोप लागेको छ।
उपसभामुख इन्दिरालाई हटाउन सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्तावबारे कांग्रेस हालसम्म मौन थियो।
मंगलबार संसद् बैठकमा एमाले सांसदहरुले उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। एमाले सांसदले राजीनामा नदिए महाभियोग प्रक्रिया सुरु हुने बताइसकेका छन्।
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएपछि विवादमा तानिएकी थिइन्। समाचार सार्वजनिक भएसँगै उपसभामुख इन्दिरामाथि राजीनामा दिन दबाब छ।
सबै प्रक्रियामा जानुभन्दा उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणामा सबै पदाधिकारी एकमकत भएको बूढानीलकण्ठ बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पत्रकारलाई प्रतिक्रिया दिए।
यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने निर्णय भएको उनले बताए। यद्यपि बैठकमा उपसभापति गुरुङबारे कुनै निर्णय भएन।
सोही विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए। संसदीय दलको बैठक मिति भने तय भइसकेको छैन।
सोमबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा पनि उपसभामुख रानामगरबारेको विषय उठेको थियो।