आज विश्व मानसिक स्वास्थ्य दिवस। मान्छेका शारीरिक, मानसिक तथा बौद्धिक आदि स्वास्थ्यका विभिन्न तह हुन्छन्। व्यक्तिका लागि शारीरिक स्वास्थ्य जति आवश्यक छ, यसकौ कैयौँ गुणा मानसिक स्वास्थ्य आवश्यक हुन्छ। मानसिक स्वास्थ्यबिना कुनै पनि व्यक्तिले उन्नति/प्रगति गर्न नसक्ने मात्र होइन, उसको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन नै अस्तव्यस्त हुन पुग्छ। यसैले मानसिक स्वास्थ्यका लागि विद्यालय तहदेखि नै ज्ञान दिने र मानसिक रूपले स्वस्थ व्यक्ति तथा समाज निर्माण गर्न तयारी थाल्नुपर्ने बेला भइसकेको छ। अहिले नेपालमा दैनिक १० बढी व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्य बाहिर आएको छ। यसको पहिलो कारण मानसिक स्वास्थ्यमा आएको गडबडी हो भन्ने देखिएको छ। प्रस्तुत लेखमा आध्यात्मिक ज्ञानको जगमा मानसिक स्वास्थ्य कायम राख्न आत्मसजगताको आवश्यकता सम्बन्धी विषयलाई छोटकरीमा प्रकाश पारिएको छ।
आत्म–सजगताको अर्थ
आत्म–सजगताको अर्थ शरीर र मनका क्रियाकलापप्रति स्वयं व्यक्तिको निगरानी वा जानकारी रहनु हो। खासगरी मनमा उत्पन्न हुने विभिन्न भावका सम्बन्धमा स्वयं व्यक्ति जानकार हुनु र उक्त भावना कार्यरूपमा परिणत हुँदा नकारात्मकताबाट बच्ने अवस्था नै स्व–सजगता हो। आत्म–सजगता भावनात्मक बुद्धिमत्ताकै एक अंग हो। आत्म–सजगता शब्दावलीले व्यक्तिको मनोविज्ञानलाई संकेत गर्दछ। हरेक क्षेत्रमा व्यक्तिको भावनात्मक बुद्धिमत्ताको उपयोग भए व्यक्ति शान्त तथा खुसी रहने र कार्यको गुणस्तर अभिवृद्धि हुन सक्तछ। भावनात्मक बुद्धिमत्तासम्बन्धी ज्ञानले व्यक्तिलाई आफ्नो व्यवस्थापनमा सहयोग पुर्याउँछ।
मान्छेको बाह्यान्तर संरचना र आत्म–सजगता
मान्छेको संरचनालाई मूलतः तीन भागमा विभाजन गर्ने गरिएको छ। शारीरिक क्षेत्र, मानसिक क्षेत्र र आत्मिक क्षेत्र। यो छाला, हाड, मासु, रगत सबै देखिने बाह्य बोक्रो शरीर हो। हुन त, मान्छेको शरीरलाई स्थूल, सूक्ष्म र कारण गरी तीन प्रकारको शरीर मानिएको छ। स्थूल शरीर भनेको शरीर हो भने सूक्ष्म शरीर भनेर मानसिक क्षेत्रलाई मानिएको छ। किनभने, मानसिक क्षेत्र पनि प्रकृतिकै उत्पादन हो।
शरीरभित्र मन र यसका असंख्य भाव रहेका हुन्छन्। मनमा परिस्थितिअनुसार इच्छा, चाहना, रिस, आशक्ति, लोभ, अहंकार, भय, ईष्र्या, वासना, घृणा, उत्साह, आशा, निराशा, गुनासाजस्ता भाव उत्पन्न हुन्छन्। ती भाव निश्चित समयपछि समाप्त हुन्छन्, मर्छन्। मनमा यी भाव उत्पन्न हुनका लागि कुनै कारण वा उत्प्रेरक अवस्था चाहिन्छ। व्यक्तिलाई आवश्यक पर्ने कुनै वस्तु देखिए उसमा लोभ उत्पन्न हुन सक्छ। कुनै कुराको चाहना वा इच्छा पूरा नभएमा क्रोध जाग्छ। प्रिय वस्तु वा पात्र गुम्ने सम्भावना भएमा डर लाग्छ। कर्म नगर्ने तर अनावश्यक चाहना राख्ने मान्छेमा ईष्र्या (मात्सर्य) जाग्छ आदि। यस किसिमका भाव मनका उत्पादन हुन्। अध्यात्ममा यी र यस्ता मानसिक अवस्थालाई दुःख मानिएको छ। मनका यस किसिमका अनेक भावले मनोविज्ञानमा एक किसिमको मानसिक विकार निर्माण गर्दछन् र स्वभावको रूपमा व्यवहारमा प्रकट हुन्छन्।
मनमा उपर्युक्त अनेकानेक भाव उत्पन्न भए तुरुन्तै थाहा पाउने एक साक्षी वा द्रष्टा तत्त्व मान्छेभित्र रहन्छ। यसलाई ईश्वरको अंश मानिएको छ भने विभिन्न समुदाय वा परम्पराअनुसार विभिन्न नाम दिइएको छ। आत्मा, बोधी, सजगता, बोध, द्रष्टा, साक्षी आदि यस तत्त्वका अरू नाम हुन्। श्रीमद्भगवद्गीता अध्याय १३ (क्षेत्र–क्षेत्रज्ञ विभाग योग) मा शरीर र मनलाई क्षेत्र र आत्मा वा साक्षी वा द्रष्टालाई क्षेत्रज्ञ भनिएको छ र यो ज्ञान नै वास्तविक ज्ञान हो भनी भगवान् श्रीकृष्णद्वारा यसरी परिभाषित गरिएको छः
इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते।
एतद्यो विदितंप्राहुः क्षेत्रज्ञ इति तद्विध।।
क्षेत्रज्ञं चापि मां विद्धि सर्वक्षेत्रेषु भारत।
क्षेत्रक्षेत्रज्ञयोज्र्ञानं यतज्ज्ञानं मतं ममः।। श्रीमद्भगवद्गीता, अध्याय १३ : श्लोक २ र ३।
(अर्थ : हे अर्जुन, यो शरीर क्षेत्र हो भनी चिनिन्छ। यो शरीररूपी क्षेत्रलाई जो जान्दछ, त्यस्तो जान्ने तत्त्व क्षेत्रज्ञ हो भनी क्षेत्र र क्षेत्रज्ञ तत्त्व जान्ने विद्वान्हरू भन्दछन्। सबै क्षेत्रमा म परमात्मालाई नै क्षेत्रज्ञ जीवात्मा पनि जान। क्षेत्र र क्षेत्रज्ञ अर्थात् प्रकृति र पुरुषको जुन ज्ञान हो त्यो नै ज्ञान (वास्तविक मूल ज्ञान) हो भन्ने मेरो विचार छ।)
सामान्य मान्छेहरू आफूभित्रको मनभन्दा भित्र पुग्न र आफ्नो द्रष्टा वा साक्षीलाई जसलाई क्षेत्रज्ञ भनिन्छ, पहिचान गर्न सक्तैनन्। मनभन्दा भित्र पनि मान्छेको विशाल अस्तित्व छ भन्ने थाहा नभएपछि मनलाई नै ‘म’ भनी बुझ्ने गर्दछन्। मान्छे मन नभएर आत्मा हो। आत्मा न जन्मन्छ, न मर्छ, न रोगी हुन्छ, न आगोले डढाउँछ, न हावाले सुकाउँछ। अपितु, यो त शास्वत छ, सनातन छ, सत्य, चेतन र आनन्द स्वरूपमा छ भनेर गीतामा यसरी व्याख्या गरिएको छ।
मन परिवर्तनशील हुन्छ। मनको अभिव्यक्ति इन्द्रिय, मन, बुद्धिमार्फत हुने गर्दछ। परन्तु, मान्छेको शुद्ध स्वरूप आत्मा हो, ऊभित्रको द्रष्टा हो, साक्षी हो ।
मानसिक स्वास्थ्य
मान्छेभित्र मानसिक क्षेत्र विकृत हुनु नै मानसिक समस्या हो। मनभित्र उत्पन्न हुने काम, क्रोध, लोभ, ईष्र्या, अहंकार आदि नकारात्मक भाव नै मानसिक समस्याका स्रोत हुन्। जब मान्छेभित्र अति कामना वा चाहना हुन्छ, सबै पूरा हुन पाउँदैन। ती चाहना वा इच्छा अवचेतन मनमा गएर वासना वा संस्कारका रूपमा कुण्ठाका रूपमा थुप्रिएर बस्छन्। यसले मनलाई अस्थिर, व्याकुल, तनावग्रस्त र भयात्तुर बनाइदिन्छ। अवचेतन मनमा अत्यधिक चाप बढ्दै गएपछि मान्छे तनावग्रस्त बन्दछ। यसैलाई मानसिक समस्या भनिन्छ। उसमा चेतन पक्ष कमजोर बन्न पुग्दछ, जसले व्यक्तिमा बेहोसीपन बढ्दै जान्छ। उसले कर्तव्य, दायित्वजस्ता पक्षलाई भुल्न थाल्दछ। ऊ आफैंभित्र जकडिन पुग्दछ र मबाहेक कुनै अर्को सत्य छैन भन्ठान्ने लाग्छ। यो नै मानसिक समस्या हो। यो समस्या बढ्दै गएर समस्याको निदान नपाएपछि उसले आत्महत्याको बाटोसमेत रोज्न पुग्दछ।
श्रीमद्भगवद्गीताको द्रोस्रो अध्यायमा भगवान् कृष्णले आत्मालाई अजर, अमर, अविनाशी, परमात्माको अंश, कुनै बेला पनि ननासिने, नमासिने भनी स्पष्ट पार्नुभएको छ (हे. श्रीमद्भगवद्गीता अध्याय २)। यसैले मान्छे नै सृष्टिको यस्तो प्राणी हो, जो आफ्नो मनका सारा कृयाकलाप, भावदशाबारेमा जानकारी राख्दछ र यसलाई व्यवस्थापन गर्न सक्षम हुन्छ। उसले लोभ, अहङ्कार, क्रोध, बासना, इच्छा आदि जागेकोबारे जानकारी राख्दछ र त्यसप्रकारका भावनाका नकारात्मक परिणामबाट बच्दछ। यो नै मानिसको विशिष्ट क्षमता हो।
यसरी मानिसभित्रको मानसिक क्षेत्र र यसका सारा उत्पादनमाथि क्षेत्रज्ञ अर्थात् मान्छेभित्रको द्रष्टा वा साक्षीले नियमन वा नियन्त्रण गर्ने गर्दछ। आत्मा वा साक्षीको विशेषता नै शान्ति हो। अशान्तिको क्षेत्र मानसिक क्षेत्र हो। मानसिक क्षेत्र कुरुक्षेत्र अर्थात् युद्धक्षेत्र हो भने क्षेत्रज्ञ शान्तिक्षेत्र हो। मानसिक भाव वा उतारचढावप्रति क्षेत्रज्ञ अर्थात् होस् वा सजगता भयो भने मानसिक अवस्थाले व्यक्तिलाई पिरोल्दैन, दुःख दिँदैन। तर, मानसिक अवस्थाप्रति द्रष्टाभाव नराखेर भोक्ताभाव राखे त्यसले उसलाई दुःख बढाउँछ। सो नै तनाव वा चिन्ताको कारक हो।
यहाँनेर एउटा गहन आध्यात्मिक रहस्यबारे चर्चा गर्नु आवश्यक छ। मान्छेभित्र नकारात्मक भाव उत्पन्न भयो र त्यसप्रति उसको चेतन वा सजगता वा होस् जाग्यो भने नकारात्मक भाव तत्काल कमजोर भई केही समयपछि समाप्त हुन्छ। यसैगरी मान्छेको मनमा कुनै दया, माया, करुणा, स्नेह उत्पन्न भयो र सोप्रति उसको सजगता जाग्यो भने सो भाव अझ बढेर जान्छ। नकारात्मक भावका लागि साक्षी वा होस् सा सजगता अग्नि हो भने सकारात्मक भावका लागि उर्बर मल हो। यो आध्यात्मिक ज्ञान थाहा भइसकेपछि मान्छे मानसिक समस्यामा जाँदैन।
तनको स्वास्थ्यका निम्ति भान्साभित्रै छ, औषधी।
मनको स्वास्थ्यका निम्ति मनभित्रै छ औषधी।।
आत्म–सजगता कसरी बढाउने?
आत्म–सजगताअन्तर्गत दुई पक्ष रहेका हुन्छन्। पहिलो मनका सारा भावदशाबारे जानकार हुनु र दोस्रो सो भावबाट आफू अलग रहनु। मानव मनमा उत्पन्न हुने भावनालाई महसुस गर्ने, सोको उपयोग गर्ने, सोअनुसार संवाद र व्यवहार गर्ने, पहिचान गर्ने र सोको याद गर्ने, परिस्थितिअनुसार भावनालाई व्यवस्थापन गर्ने क्षमता वा सामथ्र्यलाई नै भावनात्मक बुद्धिमत्ता भनिन्छ। आफ्नो मनमा उत्पन्न हुने भावना र सोप्रतिको सजगतानै आत्म–सजगता हो। मनमा उत्पन्न हुने भावप्रति सजग रहँदै सोका आधारमा आफ्नो मनोविज्ञानलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने अवधारणा नै आत्म–सजगता र आत्म–व्यवस्थापन हो। आत्म–सजगताले हाम्रो व्यक्तिगत, व्यावसायिक तथा सामाजिक जीवनलाई व्यवस्थित गर्न र कर्तव्यको निर्वाह, जिम्मेवारीको स्वीकार, सामूहिक भावनाको विकास, मैत्रीपूर्ण वातावरण निर्माणजस्ता कार्यमा ठूलो मद्दत गर्दछ।
आत्म–सजगताको ज्ञान भएको व्यक्तिलाई मानवमनको आन्तरिक मनो–आत्मिक संरचनाबारे ज्ञान हुने गर्दछ। उसमा मानसिक विकारको उत्पादनका कारण, सोको वासस्थान, उत्खनन, समाप्ति, निवारणका उपाय आदिबारे ज्ञान हुन्छ। मानसिक विकार उत्पादन नै हुन नदिने र भए पनि ध्यान, प्राणायाम, चिन्तन, मननलगायत विषयमा ऊ जानकार हुन्छ। यसका साथै कायिक, वाचिक तथा मानसिक कर्म, मानसिक उतारचढावको भोक्तास्वरूप, मनका कार्यबाट निर्माण हुने कर्मसंस्कार, कर्मसंस्कारको परिणामलगायत विषयमा आत्मसजग व्यक्तिलाई ज्ञान हुन्छ। आत्म–सजगताले व्यक्तिलाई गलत कर्मसमेत गर्न दिँदैन। यस प्रकारका व्यक्ति नै परिवार तथा समाजमा स्थापित हुन्छन् भने यसरी आत्मिक रूपमा सजग व्यक्ति मानसिक तनाव तथा मानसिक समस्यामा पर्दैनन्।