काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिफारिस समितिको सचिवालयले सर्टलिस्टमा सूचीकृत पाँच जनासँग अन्तर्वार्ता लिँदै छ। सर्टलिस्ट भएका पाँच जनाको सूचीकृत क्रमानुसार बोर्डको कार्यालय नयाँ बानेश्वरमा अन्तर्वार्ता लिइन लागेको हो।
बोर्डको सीईओ छनोटका लागि हुने अन्तर्वार्तामा सहभागी पाँचै जनाको रणनीतिक कार्ययोजना, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण हुने सचिवालयको सूचनामा उल्लेख छ।
गत साउन २७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोर्ड सीईओका लागि आवेदन विज्ञापन खुलाएको थियो। सीईओ बन्न आवेदन दिएकामध्ये कार्यालयले क्रमशः सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवलाई सर्टलिस्टमा छानेको थियो।
आवेदन दिनेमा ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए। काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल वैदेशिक रोजगार बोर्ड) का पूर्वकार्यकारी निर्देशक हुन्। ढुंगाना धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत हुन्।
सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्नताबारे छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुंगानालाई २०७८ असोजमा अध्यक्षबाट बर्खास्त गरेको थियो। सर्वोत्तमलाई बुक बिल्डिङमा सेयर निष्कासन अनुमति दिँदा उनले छोरीका नाममा सेयर लिएर नीतिगत भ्रष्टाचार गरेको पाइएको थियो। उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी नर्देशक समेत हुन्।
सचिवालयले आज सर्टलिस्टमा परेका पाँचमध्ये सरकारलाई ३ जनाको नाम सिफारिस गर्नेछ। सरकारले तीनमध्ये १ जनालाई मन्त्रिपरिषद्बाट बोर्ड सीइओ नियुक्ति गर्नेछ।