काठमाडौं । नेपाली अटोमोबाइल्स बजारमा एउटै घरानाले एक दर्जन ब्रान्डसम्म बिक्री गर्दै आएका छन्। लामो समयदेखि विभिन्न (उत्पादन, उद्योग, व्यापार) क्षेत्रमा काम गर्दै आएका व्यावसायिक घरानाबीच पछिल्लो समय कसले बढी अटोमोबाइल्स ब्रान्ड आफ्नो हातमा ल्याउने भन्ने प्रतिस्पर्धा चलेको छ।
यसअघि नेपाल भित्रिएका एउटै ब्रान्डका गाडीमा धेरै भेरियन्ट आउने गरेको पाइन्थ्यो तर अहिले धेरै ब्रान्ड भित्रिने गरेको पाइन्छ। एउटा ब्रान्डको एउटा अथवा दुई भेरियन्ट मात्र आउने गरेको छ। नेपाली बजारमा धेरै ब्रान्डका गाडी भित्रिएका छन्।
हाल ईभी सवारीसाधनको आयात बढेसँगै एउटै घरानाले आधा दर्जन ब्रान्डका सवारीसाधन आयात गरिरहेका छन्। हुन त, एउटा घरानाले धेरै ब्रान्ड भित्र्याउँदा उपभोक्तालाई अधिक छनाेट अवसर हुनुका साथै विश्वसनीयता बढ्छ।
अहिले इन्धन गाडीको व्यापार घटेकाले ईभी ब्रान्ड भित्र्याएर व्यवसाय विस्तार गर्ने कार्यमा अटो व्यवसायी लागेको जीओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा बताउँछन्। ‘ईभीमा ग्राहक आकर्षण बढेसँगै व्यवसायीले विभिन्न ईभी ब्रान्ड ल्याएर व्यवसाय गरिरहेका छन्,’ गोल्छा भन्छन्, ‘अटो बजारमा स्थापित भएका व्यवसायीले धेरै ब्रान्ड ल्याएर बिक्री गर्दा त्यस्ता कम्पनी टिकाउयोग्य र विश्वासिला हुन्छन्।’
लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक दीपक थपलिया एउटै कम्पनीले धेरै ब्रान्ड ल्याउँदा ग्राहकसँग प्रशस्त विकल्प हुने बताउँछन्। ‘हाल अटो बजारमा भएको उच्च प्रतिस्पर्धाले ग्राहकलाई नै बढी फाइदा हुन्छ,’ प्रबन्ध निर्देशक थपलिया भन्छन्, ‘एउटै कम्पनीले धेरै ब्रान्डका गाडी ल्याउँदा ग्राहकमा धेरै विकल्प भए पनि सानो बजारमा स्रोत मिलाउन नसक्दा भने जोखिम हुन्छ।’
पछिल्लो समय नेपालमा नयाँ–नयाँ ब्रान्डको प्रवेश उच्च छ। खासगरी नयाँ ब्रान्डका गाडी हरेक वर्ष थपिँदै आएका छन्। अहिले नेपालमा करिब २ दर्जन बढी दुईपांग्रे, ४ दर्जन बढी चारपांग्रे र १ दर्जन बढी कमर्सियल ब्रान्डका गाडी सक्रिय छन्। यति धेरै ब्रान्ड नेपालमा उपलब्ध रहे पनि एउटै व्यावसायिक घरानाको कब्जामा दर्जन बढी ब्रान्डसम्म छन्।
कुन व्यावसायिक घरानासँग कुन ब्रान्ड?
चौधरी ग्रुपअन्तर्गकका ब्रान्ड
नेपालको अटोमोबाइल बजारमा सबैभन्दा धेरै ब्रान्डका सवारीसाधनको आयात तथा बिक्री गर्ने व्यावसायिक घराना सिजी मोटर्स हो। चारपांग्रे सवारीसाधनमा सिजीले ईभीका ब्रान्ड मात्र ल्याउँदै आएको छ।
हाल सिजी मोटर्सले जीएसी आयोन, नेटा भि, एक्सपेङ, अवतार, रिडारा आरडी, स्मार्ट, दायुन, हल्का कमर्सियल गाडीमा केवाईसी, किङलङ ब्रान्डका सवारीसाधन आयात गर्दै आएको छ। कम्पनीले आईसी इन्जिनमा दुईपांग्रे सवारीसाधन ब्रान्डमा हिरोको मोटरसाइकल तथा स्कुटर आयात तथा बिक्री गर्दै आएको छ। सिजी ग्रुपअन्तर्गत १० वटा ब्रान्ड छन्।
एमएडब्लू ग्रुपअन्तर्गतका ब्रान्ड
मोरङ अटोवर्क्स सीएनआई अध्यक्षसमेत रहेका विष्णु अग्रवाल नेतृत्वकाे संस्था हो। कम्पनीले डिजेल तथा पेट्रोलियममा अमेरिकी ब्राण्ड जीप, युरोपियन ब्राण्ड स्कोडा र ईभीमा चिनियाँ ब्राण्ड फोटोन, सोकोन, सेरेस, नामी, चांगन डिपल बिक्री गर्दै आएको छ। साथै, दुईपांग्रे ब्रान्डमा कम्पनीले आईसिई इन्जिनमा यामाहा मोटरसाइकल तथा स्कुटर आयात तथा बिक्री गर्दै आएको छ।
८ ब्रान्ड विशाल ग्रुपको हातमा
नेपालको आयात व्यापारमा अग्रणी समूहको परिचय बनाएको विशाल ग्रुपले सवारीसाधन, त्यसमा पनि चारपांग्रे आयातमा थुप्रै ब्रान्ड ओगट्न सफल भएको छ। कम्पनीले डिजेल/पेट्रोलमा जर्मन ब्रान्ड फक्सवागन, जापानी ब्राण्ड माज्दा, फ्रेन्च ब्राण्ड रेनो आयात गर्दै आएको छ भने ईभीमा चिनियाँ ब्राण्ड ग्रेटवाल, वुलिङजस्ता ब्रान्ड आयात तथा बिक्री गर्दै आएको छ।
कम्पनीले नेपाल ल्याएको ब्रिटिस ब्राण्ड एमजी भने आइसिई र ईभी दुवैमा नेपाल ल्याएको छ। साथै, विशाल ग्रुपले दुईपांग्रे ब्राण्ड सुजुकी बिक्री गर्दै आएको छ। कम्पनीले भियतनामी ब्रान्डको भिनफाष्ट पनि ल्याउने तयारी गरेको छ।
शारडा ग्रुपअन्तर्गत ७ ब्रान्ड
सुरूमा डाट्सन र त्यसपछि निसान ब्राण्डका गाडी बिक्री गर्दै आएको शारडा ग्रुपले अहिले जिकर एक्स, ओमोडा, जेको जे सिक्स ब्राण्ड आयात तथा बिक्री गर्दै आएको छ।
शरडा ग्रुपले ईभीमा जिकर एक्स, ओमोडा र जेको ल्याएको छ भने निसान ब्रान्ड आईसिई इन्जिन र ईभी दुवैमा उपलब्ध छ। कम्पनीले आईसिइ इन्जिनमा डाट्सन ब्रान्ड ल्याएको हो।
गोल्छा अर्गनाइजेसन
हाल नेपाली बजारमा गोल्छा अर्गनाइजेसनअन्तर्गत आईसिई इन्जिनमा फोर्ड ब्रान्ड ईभी र आईसिई दुवैमा सिट्रोन ब्रान्डका गाडी उपलब्ध रहेका छन्। त्यस्तै, ईभीमा काई, लिपमोट, र प्यूजो ब्रान्डका गाडी आयात गर्दै आएका छन्। साथै, दुई पांग्रेमा बजाज, केटीएम र हस्कभर्नाजस्ता ब्राण्डको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसनभित्रै रहेको छ।
लक्ष्मी ग्रुप
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलमार्फत हुन्डाई गाडी आधिकारिक वितरको रुपमा बिक्री सुरु गरेको कम्पनी प्यासेन्जर कारमा अग्रणी रहेकाे छ। कम्पनीले लक्जरी ब्रान्ड बीएमडब्लु र चिनियाँ ब्रान्ड काई पनि नेपालमा बिक्री गरिरहेको छ।
यस अलावा अग्नि ग्रुप, ज्योति ग्रुप,जगदम्बा ग्रुप, सिप्रदी ट्रेडिङ, कन्टिनेन्टल ट्रेडिङ, बतास समूह, वैद्य अर्गनाइजेसनजस्ता व्यावसायिक घराना अटोमोबाइल व्यवसायमा सक्रिय छन्।