काठमाडौं । सत्तारुढ कांग्रेस/एमालेले संवैधानिक परिषद् सदस्य रहने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरिरहेको चर्चा चुलिएको छ। प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक उपसभामुख इन्दिरालाई सुरुमा राजीनामा दिन भनिने र नमाने महाभियोगसमेत लगाउने तयारीमा सत्तारुढ दल रहेको बुझिएको छ।
सोमबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उपसभामुख इन्दिरालाई हटाउने विषयमा छलफल भएको बुझिएको छ।
अमेरिका भिसा सिफारिस प्रकरण र संवैधानिक परिषद्मा सत्तारुढ दलको आज्ञा शिरोपर नगर्ने संकेत देखिएपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’बाटै इन्दिरालाई उपसभामुखबाट हटाइन लागेको बालुवाटार स्रोतको दाबी छ।
यद्यपि, यस विषयमा कांग्रेस/एमाले नेताहरुले मुख खोलेका छैनन्।
संवैधानिक परिषद्मा निर्णय गर्न बहुमत सदस्य चाहिन्छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। यीमध्ये राष्ट्रिय सभाका अध्यक्ष नेकपा माओवादी केन्द्र समर्थक हुन्। प्रतिपक्षी नेकपा माओवादी केन्द्र भइहाल्यो। इन्दिरा पनि रास्वपा समर्थक हुँदा सत्तारुढ दललाई निर्णय लिन गाह्रो पर्ने अवस्था आएपछि हटाइने चर्चा चलाएको बताइन्छ।
सांसदलाई काठमाडौं नछाड्न एमाले
उपसभामुख इन्दिरा राना मगरलाई हटाइने चर्चा चलिरहेका बेला एमालेले आफ्ना सांसदलाई असोज ३ सम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको छ। उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको बुझिएको छ।
उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त नगरे महाभियोगसम्म जाने रणनीतिअनुसार एमालेले सांसदलाई सर्कुलर गरेको बताइन्छ।
२६५ सदस्यीय संसद्मा हाल कांग्रेस ८८, एमाले ७९, जनमत ६, जनता समाजवादी पार्टी (जसपा) ७ र नागरिक उन्मुक्ति पार्टी ४, लोसपाका ४ सांसद रहेका छन्। इन्दिरालाई उपसभामुखको महाभियोग लगाएर हटाउन १८४ सांसदको संख्या पर्याप्त हुन्छ।
रास्वपाको आपत्ति
आजको संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने विषय लोकतन्त्र प्रतिकूल हुने दाबी गरे। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले अहिले सत्ता मिलाउन उपसभामुखमाथि महाभियोग लगाइए पछि समीकरण फेरिँदा अप्ठेरो हुने चेतावनी दिए।
संवैधानिक परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा रास्वपाका लागि स्वीकार्य नभएको उनको भनाइ छ।
प्रतिनिधिसभा बैठकमा एमाले सांसद सांसद सूर्यप्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे। नैतिकताको कुरा उठेपछि पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको हुँदा उपसभामुखले राजीनामा दिनुपर्ने उनको ठहर हो।