काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्त्वपूर्ण हुने बताएका छन्। अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो।
महासंघ, तयारी पोसाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्स, युएसएड र निर्यात महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल–अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रम अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
अमेरिकाले सन २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद् बैठक महत्त्वपूर्ण रहेको उनको धारणा थियो।
उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जीएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालले बताए। नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समय भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्ने अध्यक्ष ढकालले सुझाए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझावअनुरुप अमेरिकासँग छलफल गरिने प्रतिबद्धता जनाएको महासंघले बताएको छ। प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए।
महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।
नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए। नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने औंल्याए।
निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर पाण्डेले अमेरिकातर्फको निर्यात मात्रा बढाउन आवश्यक भएकामा जोड दिए।
नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो। यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्न यसले आधार तयार पार्ने अपेक्षा थियो। तर, हालसम्म कुनै उपलब्धि हुन सकेको छैन।
कार्यक्रममा हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घटन सक्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरे।