काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको होटल तथा पर्यटन क्षेत्रमा कर्जा लगानी बढ्दो छ। एकवर्षे अवधिमा बैंकहरूले यो क्षेत्रमा १०.६८ प्रतिशतले कर्जा बढाएका हुन्।
अघिल्लो आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९९ अर्ब २९ करोड कर्जा लगानी गरेका थिए। गत आवमा आइपुग्दा यस्ताे कर्जा २१ अर्ब २७ करोड रुपैयाँ थपिएर २ खर्ब २० अर्ब ५७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
गत वर्ष बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा गरेको कर्जा लगानीमध्ये १ खर्ब ९५ अर्ब ७० करोड रुपैयाँ ठूला तथा तारे होटलमा र २४ अर्ब ८६ करोड ट्रेकिङ, माउन्टेनिङ, रिसोर्ट, र्याफ्टिङ, क्याम्पिङलगायतमा कर्जा लगानी गरेका हुन्। अघिल्लो वर्ष बैंकहरूले १ खर्ब ७४ अर्ब ८९ करोड कर्जा ठूला तथा तारे होटलमा प्रवाह गरेका थिए भने २४ अर्ब ४० करोड ट्रेकिङ, माउन्टेनिङ, रिसोर्ट, र्याफ्टिङ, क्याम्पिङलगायतमा गरेका थिए।
होटल तथा पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाद्वारा कर्जामध्ये वाणिज्य बैंकहरूले मात्रै १ खर्ब ९९ अर्ब ४ करोड कर्जा प्रवाह गरेका छन्। अघिल्लो यस्तो कर्जा १ खर्ब ८२ अर्ब २६ करोड रुपैयाँ थियो।
होटल, ट्रेकिङ, माउन्टेनिङ, रिसोर्ट र्याफ्टिङ र क्याम्पिङलगायतमा सबैभन्दा बढी कर्जा नेपाल इन्भेष्टमेन्ट मेगा र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले दिएका हुन्।
यसबाहेक ४ बैंकले १५-२० अर्बसम्म, ४ वटाले १०-१५ अर्बसम्म, ७ वटाले ५ अर्ब र बाँकी ४ वटाले ५ अर्ब रुपैयाँभन्दा कम होटल, ट्रेकिङ, माउन्टेनिङ, रिर्सोट र्याफ्टिङ, क्याम्पिङलगायतमा कर्जा प्रवाह गरेका हुन्।
व्यापार नचल्दा व्यवसायीलाई कर्जा तिर्न सकस
बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा खर्ब बढी ऋण लगानी गरिसकेका छन्। व्यक्तिगत रुपमा बैंकहरूले १ अर्बदेखि २३ अर्ब रुपैयाँसम्म होटल, ट्रेकिङ, माउन्टेनिङ, रिसाेर्ट, र्याफ्टिङ, क्याम्पिङलगायतलाई कर्जा दिएका छन्।
बैंकहरूले नियामकीय प्रावधानअनुसार व्यावसायिक प्रयोजनमा आवधिक कर्जा र चालू पुँजी कर्जा मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा दिन्छन्। होटल, ट्रेकिङ, माउन्टेनिङ, रिसाेर्ट, र्याफ्टिङ, क्याम्पिङलगायतलाई दिने कर्जाको ब्याजदर भने सम्बन्धित बैंकको आधार दर र प्रिमियममा फरक पर्न जान्छ।
पर्यटन क्षेत्रमा बैंकहरूले परिवर्तित ब्याजदरमै कर्जा प्रवाह गर्छन्। बैंकहरूको महिनैपिच्छे परिवर्तन हुने आधार दर र ब्याजदरले होटल क्षेत्रका व्यवसायी ऋणीलाई ऋण तिर्न सकस परेको होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन्।
‘यस पटक राष्ट्र बैंकले निर्माण क्षेत्रका लागि मात्रै कर्जा तिर्न सहुलियत दियो। होटल तथा पर्यटन क्षेत्र छुट्यो। तर, यो क्षेत्र क्षमताअनुसार चल्न नसक्दा व्यवसायीलाई बैंकको साँवाब्याज तिर्न समस्या भइरहेको छ,’ हान अध्यक्ष शाहले क्यापिटल नेपालसँग भने, ‘भैरहवाका होटल ऋण तिर्न नसकेर सबै लिलामीमा गइसकेका छन्। बैंकको ऋण तिर्नलाई मूल्यांकनभन्दा सस्तोमा होटल बिक्री भइरहेका छन्। हामीले गभर्नर महाप्रसाद अधिकारीलाई भनेका हौं तर माग सम्बोधन भएन। क्षमताअनुसार होटल चल्न नसक्दा बैंकको ऋण तिर्न गाह्रो भइरहेको छ।’
राष्ट्र बैंकले होटल क्षेत्रको आर्थिक गतिविधि मूल्यांकन गरी आवश्यक पर्नेलाई कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधा दिनुपर्ने उनको माग छ। नेपालको होटल क्षेत्रले करिब ३५ लाखलाई रोजगारी सिर्जना गरेको छ। तर, नेपालमा पर्यटक आगमन वार्षिक १२ लाख नपुग्दा होटलले सञ्चालन खर्चसमेत व्यवस्थापन गर्न समस्या भइरहेको हान अध्यक्ष शाह बताउँछन्।
‘पर्यटक १०–१२ लाख पनि आउँदैनन्। हामी ५० प्रतिशतभन्दा कममा चल्नुपरेको हुन्छ। भारतीय र चिनियाँ पर्यटक भित्र्याउन सके व्यावसायिक सम्भावना केही छ। तर, यो क्षेत्रका लागि आवश्यक सडक, विमानस्थललगायत पूर्वाधार अभावमा सम्भावना भएका राम्रा होटल पनि बन्द अवस्थामा पुगेका छन्,’ उनले भने।