काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय चेन होटल प्रवेशको लहर बढेको छ। विदेशी पर्यटकको बढ्दो आगमन र लगानीकर्ताको लगानी सुरक्षित हुने भएपछि धेरैको रोजाई अन्तर्राष्ट्रिय चेन होटलमा परेसँगै एक वर्षमै ८ वटा नयाँ होटल सञ्चालनमा आएका हुन्।
आर्थिक वर्ष २०८०/८१ मा ८ अन्तर्राष्ट्रिय चेन होटल सञ्चालनमा आउँदा ८१९ कोठा थपिएका छन्। पर्यटन विभागका प्रवक्ता काली बहादुर भुजेलले पछिल्लो समय अन्तर्राष्ट्रिय ब्रान्डका चर्चित होटल तथा रिसोर्ट व्यवस्थापनको रूपमा भित्रिने क्रम बढेको बताए। ‘अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशले होटलको संख्या मात्र बढेको छैन, प्रविधि र सिपसमेत हस्तान्तरण हुँदै आएको छ,’ प्रवक्ता भुजेलले भने, ‘यो नेपालको लागि खुसीको विषय हो।’
होटल एसोसिएन अफ नेपाल (हान) अध्यक्ष विनायक शाहले लगानी सुरक्षित गर्न पछिल्लो समय अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपाल ल्याउने प्रतिस्पर्धा चलेको बताउँछन्। ‘पर्यटनका लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त होटलको ब्रान्ड नेपाल भित्रिनु सकारात्मक हो,’ अध्यक्ष शाहले भने, ‘ब्रान्ड मात्र होइन, नेपालको ब्रान्डिङसमेत विश्वभर भइरहेको छ। यो हाम्रो लागि गतिलो अवसर हो।’
यी हुन एक वर्षमा भित्रिएका अन्तर्राष्ट्रिय ब्रान्डका होटल
हिल्टन
काठमाडौंको नक्सालमा करिब ८ अर्ब लगानीमा हिल्टन होटल सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय चेन होटल हिल्टन नेपालमा शंकर ग्रुपले सञ्चालन गरेको हो। २०८१ साउनबाट औपचारिक रूपमा हिल्टनमा एक सय ७४ कोठा छन्। यो पाँच तारे होटल हो।
होलिडे इन रिसोर्ट
अमेरिकन चेन होटल इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी)ले व्यवस्थापन सम्हालेको होलिडे इन रिसोर्ट काठमाडौंको बुढानीलकण्ठमा सञ्चालनमा आएको छ। होटल फरेस्ट इनमार्फत् सञ्चालनमा रहेको रिसोर्टमा १०४ कोठा छन्। ऊर्जामन्त्रीसमेत रहेका दीपक खड्काको कम्पनीले होटल निर्माणका लागि ३ अर्ब लगानी गरेको छ। यो पाँच तारे होटल एन्ड रिसोर्ट हो।
लेमन ट्री प्रिमियर
काठमाडौंको बुढानीलकण्ठमा पाँच तारे होटल लेमन ट्री प्रिमियर सञ्चालनमा छ। बुढानीलकण्ठ हेरिटेजले सञ्चालनमा ल्याएको होटल भारतीय प्रसिद्ध ब्रान्ड ‘लेमन ट्री प्रिमियर'ले व्यवस्थापन सम्हालेको छ। लेमन ट्री प्रिमियरको नेपाल प्रवेश यो नै पहिलो हो।साढे १२ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा १०२ कोठा छन्। होटलको कुल लागत २ अर्ब ५० करोड पुगेको छ।
आईटीसी फरच्यून
भारतको सबैभन्दा ठूलो ‘ब्रान्ड’ आईटीसी होटल ग्रुप पहिलो पटक नेपाल भित्रिएको छ। हस्पिटालिटी क्षेत्रमा लक्जरी ब्रान्ड मानिने आईटीसीले भक्तपुरको साँगामा फरच्यून रिसोर्ट एन्ड वेलनेस स्पाको व्यवस्थापन सम्हालेको हो। ३२ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा जग्गाबाहेक १ अर्ब रुपैयाँ लगानी भएको जनाएको छ। होटलमा हाल ६७ कोठा छन्। एक वर्षभित्रै थपेर १५० कोठा पुर्याउने लक्ष्य व्यवस्थापन पक्षको छ।
दूषित थानी रिसोर्ट, धुलिखेल
विश्व प्रसिद्ध हस्पिटालिटी कम्पनी ‘दूषित इन्टरनेसनल’को व्यवस्थापनमा काभ्रेको धुलिखेलमा ‘दूषित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा छ। ओमस्टोन क्यापिटल नेपालले निर्माण गरेको रिसोर्टमा ४४ कोठा छन्। भिल्ला रहेको रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ। रिसोर्टमा करिब दुई अर्ब ५० करोड लगानी भएको जनाइएको छ। यो पाँच तारे लक्जरी रिसोर्ट हो।
दूषित प्रिन्सेस काठमाडौं
काठमाडौंको लाजिम्पाटमा दूषित प्रिन्सेस होटल सञ्चालनमा आएको छ। ल्हासा इन्टरनेसनल समूहले अढाई अर्ब लगानीमा थाइल्यान्डको मल्टिनेसनल चेन होटल सञ्चालनमा ल्याएको हो। ल्हासा इन्टरनेसनल समूहले थाइल्यान्डको होटल व्यवस्थापन कम्पनी दूषित इन्टरनेसनलसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याएको हो। १२ तल्ले होटलमा १०७ कोठा छन्। यो पाँच तारे होटल हो।
होलिडे एक्सप्रेस
काठमाडौंको नक्सालमा दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा छ। चार तारे होटलमा हाल १ सय कोठा छन्।
होटल लड्र्स
काठमाडौंको बौद्धमा भारतीय चेन होटल लड्र्सले थप सेवा विस्तार गरेको छ। होटलले बौद्ध तुसालस्थित अनुत्तरा लड्र्स प्लाजा काठमाडौंको व्यवस्थापनसहित सेवा सुरु गरेको हो। होटलमा ६० कोठा छन्। यो चार तारे होटल हो।