काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता बजारमा तरलताको अवस्था सहज हुँदै गएको छ । तरलता सहज भएपछि कर्जाको ब्याजदर पनि कम हुँदै गएको छ । बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गर्दा ३ वर्ष लगातार क्रेडिट क्रञ्चको अवस्था आयो । ब्याजदर माथि पुग्यो ।
तर, चालु आर्थिक वर्ष सुरु भएपछि बैकिङ प्रणालीमा यस्तो समस्या देखिएको छैन । अधिकाँश बैंकहरुको अवस्था सहज देखिएको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन । बढी फण्ड हुने बैंकहरु आफैले विस्तारै ब्याजदर घटाउँदै लगेको उनको भनाई छ । तुलनात्मक रुपमा कर्जाको माग कम भएकाले बैंकसंग अधिक तरलता रहेको हो ।
असारमा रहेको फण्ड वचत भएकाले यसको असर ब्याजदरमा परेको उनको भनाई छ । निक्षेप र कर्जा दुबै बढीरहेको उनले जानकारी दिए । ‘६० अर्ब अधिक तरला भनेको निक्षेपको २ प्रतिशत मात्र हो । यो बढी पनि हैन’ उनले भने ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकले ब्याजदर घट्न थालेको देखाएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कर्जाको औषतमा ब्याजदर १२ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधीमा १२.२६ प्रतिशत थियो ।
वाणिज्य बैंकहरुको औषत आधार दर घटेर ९.५० प्रतिशत रहेको छ । जबकी गत वर्षको सोही अवधिमा १०.२१ प्रतिशत थियो । त्यस्तै, यस आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा र कर्जाको ६.६१ प्रतिशत रहेको थियो ।
किन घट्यो कर्जाको ब्याजदर ?
बैंकहरुले आक्रमक रुपमा कर्जाको विस्तारमा नगरेको, सिमेन्ट र डण्डीको माग कम हुन थालेको र आयात घटेपछि कर्जाको माग कम भएको बैंकरहरुले बताउँदै आएका छन । आयात कम र निकासी व्यापारमा सुधार आएपछि शोधानान्तर वचतमा आएको छ । यो बीचमा आयात घटेको छ भने निर्यात बढेको छ ।
नेपालीले विदेश भ्रमणमा गर्ने खर्च पनि घटेकाले भुक्तानी सन्तुलनमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । लामो समयदेखि भुक्तानी सन्तुलन लगातार घाटामा हुँदा वित्तीय प्रणालीमा संधै चाप परिरहन्थ्यो । तर, पछिल्लो केहि समय परिस्थिति परिवर्तन भएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा संकलनमा पनि सुधार गरेका छन् । जसका कारण अहिले बैंकसँग प्रसस्त पैसा छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले बैंकिङ प्रणालीमा ५३ अर्ब रुपैयाँ अधिक तरलता छ ।
राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट पछिल्लो डेढ वर्षयता लगातार ब्याजदर घट्दै गइरहेको बताए । ‘ब्याजदरमा आएको कमीले ऋणीहरुलाई केही राहत पुग्छ ।’ प्रवक्ता भट्टले भने । भुक्तानी सन्तुलनमा सुधार आउनु, बैंकहरुको निक्षेप संकलनमा सुधारलगायतका कारणले ब्याजदर तल झरेको राष्ट्र बैंकको भनाई छ ।
बैंकहरुले पनि आक्रमक रुपमा लगानी विस्तार नगर्दा सहज देखिएको उनको भनाई छ । बैंकहरु आक्रमक नहुँदा वित्तीय क्षेत्र स्थायित्वतर्फ उन्मुख भएको उनको तर्क छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले तरलता बढ्दै गएकाले ब्याजदर स्थायित्वतर्फ उन्मुख भएका बताएका छन । बैंकहरुको तरलता, ब्याजदर, निष्क्रिय कर्जा र बैंकप्रतिको जनविश्वास वित्तीय स्थायित्वका मापदण्ड भएको बताउदै उनले यी कुरा कायम रहेको जानकारी दए । अहिले अस्वाभाविकरूपमा ब्याजदर उतारचढाव हुने क्रम बन्द भएको, बैंकको निष्क्रिय कर्जा तीन प्रतिशतभन्दा तल र धेरै बैंकको एक प्रतिशतभन्दा कम रहेको उनले जानकारी दिए ।
राष्ट्र बैंकको कडाईले खुम्चियो कर्जा लगानी
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको माग घटेको बताउँछन् बैंकरहरु । नेपाल राष्ट्र बैंकले हालै कर्जा प्रवाहसबन्धी नयाँ व्यवस्था गरेको छ । त्यसैका कारण कर्जाको मागमा कमी आएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आवधिक कर्जा, घर कर्जा तथा हायरपर्चेज कर्जा प्रवाह गर्दा आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, बैंकबाट ऋण लिँदा व्यक्तिको आन्दानीको स्रोतमा कर चुक्ता गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।