काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)ले सातै प्रदेशमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। एनबीएले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सम्पन्न गरेको हो।
डिजिटल माध्यमबाट वित्तीय कारोबार प्रयोग तिव्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा वाणिज्य बैंकका ४०० भन्दा बढी अधिकारीको सहभागिता थियो।
कार्यक्रममा डिजिटल वित्तीय सेवाको बुझाइमा थप विकास गर्ने, ग्राहकलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्ने, ग्राहकको चेतनाको स्तर अभिवृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्नेलगायत विषयमा केन्द्रित थियो।
कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोबार, बढ्दै गइरहेको साइबर ठगी र त्यससँग सम्बन्धित बढ्दो चुनौती जस्ता प्रमुख विषय समेटेको थियो। त्यसैगरी सहभागीलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, त्यसका फाइदालगायत डिजिटल वित्तीय सेवाका पछिल्ला घटनाक्रमको व्यवहारिक पक्षको बारेमा जानकारी गराउँदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो।
कार्यक्रमले डिजिटल वित्तीय सेवाबारे बैंकका कर्मचारीले पुर्याउनुपर्ने भूमिकालाई जोड दिँदै कर्मचारीको आवश्यक ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी डिजिटल वित्तीय सशक्तिकरणतर्फ नेपालको यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै सुरक्षित र समावेशी डिजिटल वित्तीय वातावरण प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ।