काठमाडौं। सेयर बजारमा लगातार चार कारोबार दिन गिरावट आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८६ अंक अर्थात् २.०६ प्रतिशतले घटेर २६४६.०३ बिन्दुमा बन्द भएसँगै लगातार चार कारोबार दिन बजार घटेको हो।
अघिल्लो कारोबार दिन आइतबार नेप्से २५.४६ अंकले घटेको थियो भने गत साताको अन्तिम कारोबार दिन बिहीबार १२.१० अंक र बुधबार ९०.७३ अंकले घटेको थियो। पछिल्लो चार कारोबार दिन लगातार घट्दा नेप्सेमा १८४.१७ अंकको गिरावट आएको छ।
नेप्सेमा देखिएको लगातार चार कारोबार दिनको गिरावट गत वैशाखपछिको पहिलो हो। यसअघि २०८० चैत २८ देखि २०८१ वैशाख ६ गतेसम्मको पाँच कारोबार दिनमा नेप्से लगातार घटेको थियो। २०८० चैत २७ मा २०३६.०१ बिन्दुमा रहेको नेप्से पाँच कारोबार दिन लागतार घट्दै ६३.८७ अंकको गिरावटका साथ २०८१ वैशाख ६ मा १९७२.१४ अंकमा बन्द भएको थियो।
त्यसयता, नेप्सेमा बढीमा लगातार तीन कारोबार दिनमात्रै गिरावट आएको थियो। लगातार चार कारोबार दिन गिरावट आएको भनेको यो वैशाख यताकै पहिलो हो। असार १६ गते २०३७.०९ बिन्दुबाट बढ्न थालेको नेप्से साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेर हाल घट्दै गइरहेको छ। सोहीक्रममा पछिल्लो चार कारोबार दिन नेप्से चारै दिन घटेको हो।
सोमबार अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि खुम्चिएको छ। आज नेप्सेमा कुल ९ अर्ब ४ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ९ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको सेयर मूल्य घटेको छ। आज हाथवे इन्भेस्टमेन्ट नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य ८.९८ प्रतिशतले बढ्दा नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य ७.५९ प्रतिशतले बढेको छ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.७८ प्रतिशतले घट्दा सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०२ प्रतिशतले घटेको छ।
सोमबार १३ समूहमा सबै समूहको सूचक घटेको छ। बैंकिङ समूहको सेयर मूल्य २.२८, विकास बैंक समूहको १.८७, फाइनान्स समूहको २.२७ र होटल तथा पर्यटन समूहको सेयर मूल्य २.६७ प्रतिशतले घटेको छ।
यस्तै, जलविद्युत समूहमा २.४४, लगानी समूहमा ०.३४, जीवन बिमा समूहमा २.४९, उत्पादन समूहमा १.२५, लघुवित्त समूहमा २.३३ र निर्जीवन बिमा समूहमा २.४५ प्रतिशतको गिरावट आएको छ। सोमबार सिईडिबी हाइड्रोपावरको सर्वाधिक ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।