काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं लक्षित नोट सटही सुविधा असोज १३ गतेदेखि खुला गर्ने भएको छ। यस पटकको दसैंमा सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने गरी राष्ट्र बैंकले सटही सुविधा खुलाउन लागेको हो।
राष्ट्र बैंकले अघिल्ला वर्षमा चाडपर्वलक्षित नयाँ नोट दिँदै आएकोमा यस पटक सुकिला नोट मात्रै दिन लागेको छ। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक प्रदीप पौड्यालले बताए।
‘यस पटक दसैंलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ,’ पौड्यालले क्यापिटल नेपालसँग भने, ‘यस पटक दसैंमा सर्वसाधारणलाई नयाँ नभई सुकिला नोट मात्रै वितरण गर्न लागेका हौं।’
राष्ट्र बैंकले यसअघि दसैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो। यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिने पौड्यालले जानकारी दिए। राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दसैंमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो।
‘बिदाको दिन कटौती गरेर ८ दिन तोकिएको काउन्टरबाट नोट सहटी गर्छौं। यसअघि बजारमा गए पनि पुनः प्रयोगमा ल्याउन योग्य सुकिला नोट मात्रै दसैंमा सर्वसाधारणलाई दिइने छ। चाडपर्वलगायतमा नयाँ सटही हुँदा ठूलो खर्च हुने गरेको छ। त्यसलाई व्यवस्थापन गर्न र डिजिटल भुक्तानी प्रोत्साहन गर्न नयाँ नोट नछापिएको हो,’ उनले भने।
राष्ट्र बैंकले विगत ५ वर्षमा नोट छपाइमा मात्रै कुल ६ अर्ब ८७ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ, जुन औषत प्रतिवर्ष नोट छपाइ खर्च १ अर्ब ३७ करोड रुपैयाँ हुन्छ।
विगत ५ वर्षमा राष्ट्र बैंकले नोट छपाइमा ६ अर्ब ६८ करोड २० करोड रुपैयाँ खर्च गरेको छ। उक्त नोट ढुवानीमा १९ करोड ३४ लाख रुपैयाँ खर्च भएको राष्ट्र बैंकले बताएको छ। अघिल्लो वर्षमा भन्दा गत वर्ष राष्ट्र बैंकको नोट छपाइ खर्च २५.१२ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्ष राष्ट्र बैंकले नोट छपाइमा मात्रै १ अर्ब ६३ करोड ९४ करोड र ढुवानीमा ३ करोड गरी कुल १ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ खर्च गरेको थियो। गत वर्ष छपाइमा २ अर्ब ४० करोड ३७ लाख र ढुवानीमा ३ करोड २८ लाख गरी कुल २ अर्ब ४३ करोड ६६ लाख खर्च भएको थियो। हाल सर्वसाधारण तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी बजारमा कुल ६ खर्ब ५० अर्ब बढी पैसा चलनचल्तीमा छ।