काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन्।
पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० मै योजना बने पनि विविध कारणले विलम्ब हुन गएकामा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले जानकारी दिए।
इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउनुपर्ने रहेकोमा उद्योग विभागले त्यससम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए।
‘अब केही समयमै इथानोल उत्पादनमा जान्छ। यो कुनै रकेट साइन्स होइन,’ उनले भने, ‘इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ।’
इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भने।
तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए।
सन् २०२० मै पेट्रोलियम पदार्थ खपत हराएर जाने भनिए पनि अझै ठूलो माग रहेको उल्लेख गर्दै भट्टले यो अगाडि जाने र पेट्रोलियम खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
नेपालजस्तो पेट्रोलियम उत्पादन नहुने देशले त इथानोले उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनको भनाइ छ। ‘राज्यले नीति बनाइसकेको छ। इथानोल मिश्रणको निर्णय गरिसकेको छ। हामी उत्पादनमा जान्छौं,’ उनले भने।