काठमाडौं। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका हुन्।
राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको महारथी पदको दज्र्यानी चिह्न प्रदान गरेको शीतलनिवासले जनाएको छ।
नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ।
प्रधानसेनापति सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्। आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमाण्ड एन्ड म्यानेजमेन्ट कोर्ष र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्ष पूरा गरेका छन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा भाग लिएका प्रधानसेनापति सिग्देल त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर हुन्।
३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कुलको कमाण्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ। प्रधानसेनापतिले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्डफोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए।
सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृत रथी सिग्देललाई सरकारले यसअघि कामु प्रधानसेनापतिको जिम्मेवारी दिएपछि साउन २५ देखि सो जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाएका छन्।