काठमाडौं । सार्वजनिक/निजी/साझेदारी (पीपीपी) मोडलमा २५ वर्षअघि स्थापित नेपाल पर्यटन बोर्डले छैटौं प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा फेरि दीपकराज जोशीलाई पाएको छ। जोशीले आइतबार दोस्रो पटक बोर्ड सीईओको जिम्मेवारी सम्हाले। जोशी २०७२ मा सीईओ भएर ४ वर्षे कार्यकाल (२०७२ पुस–२०७६ पुस) विवादित नबनेरै कुशलतापूर्वक बोर्डबाट बाहिरिएका थिए।
नेपालको पर्यटन विकास र पर्यटन गन्तव्य खोजीसँगै पर्यटक (आगन्तुक)का लागि अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने उद्देश्यसहित साढे २ दशकअघि (२०५५ मा) स्थापित बोर्ड पछिल्लो समय राजनीतिक खिचातानीको सिकार बनेको छ। राजनीतिक खिचातानीकै कारण २०८० माघ १४ मा तत्कालीन सीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोर्डले सीईओ पाउन ७ महिना कुर्नुपर्यो।
त्यति मात्र होइन, बाेर्डले आर्थिक वर्ष २०८१/८२ को बजेट असोज लाग्नै लाग्दासमेत बनाउन सकेको छैन। बोर्ड सञ्चालक समिति र सीईओ नियुक्तिदेखि अन्य दैनन्दिन गतिविधिमा समेत राजनीतिक हस्तक्षेप बढेपछि निजी क्षेत्र निरीह बन्दै गएको छ। चरम राजनीतिकरणले संस्था थलिँदै गएपछि बोर्डप्रति निजी क्षेत्रकाे दृष्टिकोण मात्रै फेरिएको छैन, बोर्डको औचित्यमाथि नै प्रश्न उठिरहेको छ।
यस्तो बेला सीईओको रूपमा भित्रिएका जोशीलाई सबै पक्षका आवाज सुनेर निजी क्षेत्र र सरकारबीच ‘सेतु’को रूपमा काम गर्नुपर्ने पहिलो चुनौती छ। होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह बोर्डमा निजी क्षेत्रको भूमिका शून्य गराएर सरकारी पक्ष हाबी हुँदा समस्या आएको बताउँछन्।
‘सरकारले बोर्ड स्थापनाको उद्देश्य मर्न नदिन निजी क्षेत्रलाई पूर्ण स्वामित्व सुम्पिन आवश्यक छ। नयाँ सीईओले पनि निजी क्षेत्रसँगको दूरी मेटाएर अघि बढ्नुपर्ने चुनौती छ,’ शाहले भने, ‘विगतमा पनि बोर्डको जिम्मेवारी कुशलतापूर्वक वहन गरेकाे हुँदा समस्याग्रस्त पर्यटन क्षेत्रको पहिचान तथा विस्तार र सरकार तथा निजी क्षेत्रबीच सेतुको रूपमा काम गर्ने अपेक्षा छ।’
पछिल्लो समयका हवाई र सडक दुर्घटनाले त्रसित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न बोर्डले तत्कालै केही सकारात्मक काम गर्नुपर्ने आवश्यकता छ। बोर्डको नयाँ नेतृत्वले प्रणालीलाई व्यवस्थित बनाई कर्मचारीको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेछ।
त्यस्तै, गत वर्ष नेपालले पर्यटनको सबैभन्दा ठूलो कार्यक्रम वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम)मा सहभागिता नजनाउँदा ठूलो अवसर गुमेको आभास पर्यटन क्षेत्रले गरेको थियो। तत्कालै निर्णय क्षमता र परिस्थितिको सही मूल्यांकन नगरे यस वर्षको कार्यक्रम पनि नछुट्ला भन्न सकिन्न। त्यसैले बोर्ड सीईओको हैसियतले सबै पक्षलाई कार्यक्रमको महत्त्व दर्साएर डब्ल्यूटिएममा सहभागिता सुनिश्चित गरिनु आवश्यक छ।
सामान्यतया विश्व बजारमा नेपालको पर्यटन बजारको प्रचारप्रसार बोर्डको नेतृत्वदायी भूमिकामा हुनुपर्छ। तर, बोर्ड सुस्त रहँदा यदाकदा निजी क्षेत्र सक्रिय भएजस्तो देखिए पनि समग्रमा पर्यटकीय प्रचारप्रसारको काम ठप्पप्रायः छ। विशेषगरी हानले भारत, बंगलादेश, चीनलगायत मुलुकमा पर्यटन प्रवर्धनको काम गरिरहेको छ।
बोर्डले तत्कालै पर्यटन प्रवर्धन हुने खाले बजेट ल्याएर सुस्त पर्यटन क्षेत्रमा उत्साह ल्याउनुपर्ने माग निजी क्षेत्रको छ। यसले मात्रै बोर्डप्रति निजी क्षेत्रले गुमाउँदै गएको विश्वास जागृत गर्नेछ भने धेरैभन्दा धेरै विदेशी पर्यटक नेपाल ल्याउन हातेमालो गर्ने माहाेल सिर्जना हुनेछ।
टेम्पल टाइगर ग्रुपका अध्यक्ष वसन्त मिश्र नवनियुक्त सीईओ जोशीप्रति निजी क्षेत्रले ठूलो आशा र भरोसा गरेको बताउँछन्। ‘कर्मचारी हुँदै पहिलो पहिलो पटक कुशलतापूर्वक सीईओकाे भूमिका वहन गरिसकेकाले पर्यटनको समस्या, समाधान र आवश्यक प्रणालीका पूर्ण रूपमा जानकार हुनुहुन्छ,’ अध्यक्ष मिश्रले भने, ‘जोशीको सक्रियताले घट्दै गएको बोर्डको साख फर्काएर धराशयी पर्यटन क्षेत्र उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वास र निजी क्षेत्र उत्साहित पनि छ।’
बोर्डको मुख्य काम विदेशमा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्नु रहे पनि पछिल्ला वर्षमा आन्तरिक बजारमा मात्र सीमित भएको गुनासो व्यवसायीको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राम्रो सम्बन्ध बनाएर सन् २०२५ भित्र १६ लाख पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रचारप्रसारमा बोर्डको ध्यान केन्द्रित हुने विश्वासमा छन्, कोर्रा टुर एण्ड ट्राभलका सीईओ विजय अमात्य।
‘बोर्डका कर्मचारीले राम्रो साथ दिए नवनियुक्त सीईओले सफलता पाउन धेरै समय लाग्दैन,’ सीईओ अमात्यले भने, ‘सरकार र निजी क्षेत्र दुवैलाई मिलाएर लैजाने वा सरकारी पक्षमा लागेर मनमौजी गर्ने उहाँकै हातमा छ।’