काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले आइतबार पदभार सम्हालेका छन्। पदभार सम्हाल्दै जोशीले आपसी सहकार्यबाट पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता जनाएका छन्।
उनले बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गरिने बताए। 'पर्यटन राज्यको प्राथमिक क्षेत्र हो। पर्यटन बोर्ड (पीपीपी) मोडल हो। निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ। त्यसैले सबैको सहकार्यबाट पर्यटनलाई अगाडी लैजानु आजको आवश्यक्ता हो,' उनले भने।
आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको विकास प्राथमिकतामा रहने बताउँदै उनले समूह कार्यबाट ती काम गर्न सकिने बताए। उनले आफूले कुनै पूवाग्रह नराखी काम गर्ने प्रतिवद्धता जनाएका छन्। उनले नयाँ परिवेशमा नयाँ सोच र चिन्तन साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए।
वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफलको शुभकामना व्यक्त गरे।
कर्मचारी युनियनका तर्फबाट बोर्डका अधिकृत सुदन सुवेदीले लामो समयदेखि कर्मचारीको वृत्ति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका माग सम्बोधन हुने अपेक्षा गरिएको बताए।
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम उनलाई ४ वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निणर्य गरेको थियो। जोशीले यसअघि पनि बोर्ड सीईओका रुपमा काम गरिसकेका छन्।