काठमाडौं । सडकमा परेका खाल्डाखुल्टी पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरोकारवालालाई निर्देशन दिएका छन्।
आइतबार मन्त्रालयमा सरोकारवालासँगको छलफलमा मन्त्री दाहालले दसैं, तिहारलगायत चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विग्रिएका सडक मर्मत गरिसक्न निर्देशन दिएका हुन्।
'चाडपर्वमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुन्छ। त्यस्तो समयमा दुर्घटना जोखिम उच्च रहन्छ। जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गरिसक्नुहोला,' उनले भने। सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भएमा उद्धार र अस्पतालसम्म पुर्याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह मन्त्री दाहालको आग्रह छ।
सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने बताउँदै उनले सडक सुरक्षा परिषदलाई क्रियाशिल र प्रभावकारी बनाइने प्रस्ट पारे। सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने उनको भनाइ छ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्व नजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए। लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन उनले जोड थियो।
कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा. पार्थमणि पराजुली, सरोकुमार प्रधानलगायतले सडक सुरक्षा परिषद्लाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए। नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभागलगायत निकायका अधिकारी छलफलमा सहभागी थिए।