काठमाडौँप । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको कार्य तिब्र गतिमा अघि बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएपछि नेपाल राष्ट्र बैंकले संख्या घटाउन मर्जर तथा एक्विजिसनको नीति अघि सारेको हो ।
सोही नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसन तिब्र रुपमा अगाडी बढेको हो । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार यतिबेला संचालनमा रहेका विभिन्न १७ वटा लघुवित्त संस्थाहरु मर्जर प्रक्रियामा सामेल हुँदैछन् । धौलागिरी र आँधीखोला लघुवित्त वित्तीय संंस्था मर्जर भएर धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने भएको छ ।
त्यस्तै, मर्जर प्रक्रियामा सामेल हुन लागेका लघुवित्त संस्थाहरुमा मिर्मिरे र स्वेडा लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध र नेपाल एग्रो लघुवित्त, जीवन विकास, सोल्भा र गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्थालगायतका लघुवित्त संस्थाहरु मर्जरमा जाने प्रक्रियामा रहेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार उन्नति माइक्रो फाइनान्स र सहकार्य लघुवित्त वित्तिय संस्था, सूर्योदय र त्रिलोक लघुवित्त वित्तीय संस्था र चौतारी तथा आरम्भ लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर हुन लागेका छन् । लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले मर्जर तथा एक्विजिसनका लागि लघुवित्त संस्थाहरु सकारात्मक रहेको कारण मर्जरका लागि सहयोगी भूमिका खेल्ने बताए ।
मर्जर तथा एक्विजिसनले लघुवित्त संस्थाहरुमा रहेको डुब्लिकेशन (दोहोरो सदस्यता) को समस्या पनि केही हदसम्म समाधान हुने अध्यक्ष लम्सालको भनाई छ । राष्ट्र बैंकका अनुसार हाल ८९ ओटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा छन् ।