गरिब, न्यून आय भएका, पिछडिएको क्षेत्र, सीमान्तकृत समुदाय र साना मूल्यका उत्पादन सुरक्षित र थप क्षतिबाट जोगाउन लघुबिमा कम्पनी सञ्चालनमा आएको एक वर्ष बढी भइसकेको छ। ठूला बिमा कम्पनीले कुल व्यवसायको १० प्रतिशत अनिवार्य लघु बिमा गर्नुपर्ने भनिए पनि सोअनुसार व्यवसाय गर्न नसक्दा तीन जीवन र चार निर्जीवन गरी ७ लघु बिमा कम्पनी सञ्चालनमा छन्। तर, लघु बिमा कम्पनी पनि सहर केन्द्रित भएको, उद्देश्यअनुसार ग्रामीण भेगमा पुग्न नसकेको विषय उठिरहेको छ। विकट ठाउँ, सीमान्तकृत एवं स–साना व्यवसाय गरेका व्यक्ति र व्यवसायको घरआँगनमै पुगेर उनीहरूलाई बिमाको दायरामा ल्याउने जिम्मेवारी पाएका लघु बिमक कतै रुमल्लिएका हुन् कि भन्ने देखिन्छ। यद्यपि, लघु बिमक सञ्चालनमा आएको लामो समय नभएको र बिमा चेतना कमजोर भएकाले व्यवसाय विस्तारमा कठिनाइ भएको तर्क बिमकहरू गरिरहेका छन्। नेपाल लघु बिमक संघ अध्यक्षसमेत रहेका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी ग्रामीण क्षेत्रमा बिमा सचेतना कमजोर हुँदा यसको दायरा बढाउन कठिन भएको बताउँछन्।
नेपाल पुनर्बिमा कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका भण्डारी कार्यकाल पूरा गरेर प्राइम लाइफमा जोडिँदै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सीईओ बनेका हुन्। बिमा क्षेत्रको करिब चार दशक लामो अनुभव बटुलेका भण्डारी संघीय, स्थानीय सरकार र बिमा कम्पनीको संयुक्त पहलमा मात्रै बिमा क्षेत्रको दायरामा अपेक्षित सुधार आउने सुनाउँछन्। लघु बिमा नयाँ अवधारणा भएकाले यसले गति लिन केही समय लागे पनि नागरिकको पहुँचमा पुगे धेरै फाइदा गर्ने उनको बुझाइ छ। मुलुकमा लघु बिमाको अवस्था, दायरा विस्तारमा बिमा कम्पनीले गरिरहेको प्रयत्न, नीतिगत प्रावधान र सम्भावना तथा चुनौती विषय वरपर केन्द्रित रहेर क्यापिटल नेपालका दिलु कार्की र पदम भुजेलले सीईओ भण्डारीसँग गरेको कुराकानीः
लघु जीवन बिमा व्यवसाय विस्तारका अप्ठेयारा के–के हुन्?
नेपाल बिमा प्राधिकरणले ठूला बिमा कम्पनीलाई आफ्नो व्यवसायको कम्तीमा १० प्रतिशत लघु बिमा गर्नुपर्ने व्यवस्था २०७१ मा गरेको थियो। प्राधिकरणले १० प्रतिशत लघु बिमा गर्नुपर्ने सीमा तोकेको भए पनि अधिकांश कम्पनीले २ प्रतिशत पुर्याउन सकेनन्। ठूला बिमा कम्पनीले तोकेको मात्रामा लघु बिमा गर्न नसकेसँगै र गाउँगाउँ तथा आर्थिक स्थिति कमजोर भएका नागरिकमा बिमा पहुँच नपुगेपछि यसलाई अलग्गै राखेर अगाडि बढ्नुपरेको हो। ठूला बिमा कम्पनीबाटै लघु बिमा गर्ने कार्य भएको भए साना लघु बिमा कम्पनी खोल्नुपर्ने आवश्यक्ता हुँदैन थियो।
लघु बिमाको अवधारणा नै गरिब, निमुखा, आर्थिक स्थिति कमजोर भएका र ग्रामीण भेगलाई बिमाको दायरामा ल्याउनु हो। लघु बिमा लक्षित वर्गमा बिमा, बिमाले पुर्याउने फाइदाका विषयमा राम्रो जानकारी छैन। ग्रामीण भेग र विपन्न वर्गमा बिमा गर्नुपर्छ भन्ने चेतनाको कमी हुँदा लघु बिमा व्यवसायमा कठिनाइ भइरहेको छ। कुनै किसानले एउटा गाईपालन गरेको छ भने सो गाईको बिमा गरे पछि उक्त गाईको मृत्यु भए त्यसको जोखिम बिमाले बेहोर्छ। एउटा किसानको ठूलो सम्पति नोक्सान हुँदा बिमाले जोखिम बहन गर्छ भन्ने विषय बुझाउन कठिन भइरहेको हो। बिमामा देखिएको सबैभन्दा ठूलो चुनौती चेतनाको कमी हो।
लघु बिमालाई ग्रामीण भेग र स्थानीय तहसम्म पुर्याएर कम प्रिमियम शुल्कमा बिमा गराउन लघुवित्तसँग सहकार्य पनि भएको छ। सबैसँग भने भएको छैन। लघुवित्तले पहिला नै ठूलाठूला बिमा कम्पनीसँग सहकार्य गरेकाले हाल ७५ करोडको कम्पनीसँग सहजै गर्ने अवस्था छैन।
हामीले चेतना बढाउने प्रयास निरन्तर गरे पनि त्यसमा सफल हुन सकेका छैनौं। लघु बिमा सुरु भएको करिब एक वर्ष भएको छ, जुन धेरै लामो समय होइन। कतिपय स्थानीय तहसँग सहकार्य गरेर लघु बिमा कम्पनीले त्यहाँ बिमा गरेका पनि छन्। स्थानीय सरकारले गरिब नागरिकको बिमा आफैंले गरिदिएको भए पनि यो संख्या एकदमै कम छ। हामीले पनि केही निश्चित जिल्लाका केही वडामा मात्रै यस्तो सहकार्यमा बिमा गरेका छौं। हाल स्थानीय सरकारलाई पनि बिमा गर्नुपर्छ भन्ने चेतना भएको देखिँदैन। मुलुकका ७५३ स्थानीय तहमा लघु बिमाका विषयमा सम्पूर्ण जानकारीसहित हामीले मेल पठाएका छौं। तर, स्थानीय तहबाट यसका लागि तदारुकता देखाइएको छैन।
लघु बिमा कम्पनी सञ्चालनमा आइसक्दा पनि ठूला बिमा कम्पनीले १० प्रतिशत लघु बिमा गर्नुपर्ने प्रावधान खारेज भएको छैन। यसले तपाईंहरूको व्यवसायमा असर गर्दैन?
हामीले एउटा व्यक्तिको बिमा गर्दा एक वर्षमा न्यूनतम १३१ रुपैयाँ लिन्छौं, जसले १ लाख रुपैयाँसम्मको जोखिम बहन गर्छ। ठूला तथा ५ अर्ब रुपैयाँका कम्पनीले यस्तो सानो व्यवसाय गर्न र बटुल्न कठिन छ। ठूला कम्पनीले एउटा व्यवसाय गर्नसाथ ५/६ लाख आउँछ। यही कारणले ठूला बिमा कम्पनीले स–सानो व्यवसाय समेट्न नसकेजस्तो देखिन्छ। लघु बिमालाई ग्रामीण भेग र स्थानीय तहसम्म पुर्याएर कम प्रिमियम शुल्कमा बिमा गराउन लघुवित्तसँग सहकार्य पनि भएको छ। सबैसँग भने भएको छैन। लघुवित्तले पहिला नै ठूलाठूला बिमा कम्पनीसँग सहकार्य गरेकाले हाल ७५ करोडको कम्पनीसँग सहजै गर्ने अवस्था छैन।
लघु जीवन बिमा भनिए पनि म्यादी प्रकृतिको अर्थात् परिपक्वता भएर पैसा फिर्ता नहुने खालको जीवन बिमा पनि तपाईंहरूले गर्नुभएको छ। यस्तो किन भएको हो? यसो हुँदा जीवन र निर्जीवन बिमामा फरक रहेन होइन?
हामीले एकथरी म्यादी बिमा गर्ने गरेका छौं। जस्तै, १३१ रुपैयाँ बुझाएपछि एक वर्षका लागि १ लाखसम्मको जोखिम बहन यस बिमाले गर्दछ। यो भनेको निर्जीवनजस्तै हो। अर्थात् क्षति भए पाइन्छ अन्यथा सो रकम पछि गएर फिर्ता हुँदैन। यसका अलावा हामीले परिपक्व भएपछि पैसा फिर्ता हुने बिमा पनि गर्ने गरेका छौं, जसलाई सावधिक बिमा भन्छौं। यस्तो बिमा गर्दा ठूला बिमा कम्पनीले बोनस दिन्छन्। लघु बिमा कम्पनीले भने बोनसरहित बिमा गर्छन् तर बोनसको साटो यति पैसा फिर्ता आउँछ भनेर पहिल्यै तोकिएको हुन्छ।
हामीले अहिले ‘दीर्घायु बचत’ भन्ने प्रोडक्ट ल्याएका छौं। यसमा कसैले १ लाखको बिमा गरे प्रत्येक वर्ष ५ हजार रुपैयाँ दिन्छु भनेर पहिल्यै तोकिएको हुन्छ। बोनस भनेपछि भोलि कम वा बढी पनि हुन सक्छ। लघु बिमामा भने एजेन्ट दुर्गम ठाउँ जानुपर्ने भएकाले हामीले तोकेरै गरेका हुन्छौं। हाम्रोमा परिपक्व भएपछि पैसा फिर्ता हुने र नहुने दुवै किसिमको जीवन बिमा हुन्छ। बिमा गर्ने व्यक्तिले जुन प्रकृतिको बिमा गराउन चाहे पनि उसलाई दुवै विकल्प हुन्छ। साना बचत भनेर अन्य साना प्रोडक्ट पनि ल्याएका छौं।
लघु बिमा कम्पनीले ५ लाख रुपैयाँसम्मको मात्रै बिमा गर्न पाउने व्यवस्था छ। यो सीमामा रहेर जीवन बिमा गराउन तपाईंहरूलाई कति सहज छ?
यदि लघु बिमा कम्पनीलाई ५ लाख बढीको बिमा गर्न दिइए हामी तल्लो तहमा नपुग्न सक्छौं। ठूलो रकमको बिमा गर्न पाउने भएपछि स–सानो रकमको बिमा गर्ने काम ओझेल पर्न सक्छ। अहिले ठूला कम्पनीले स–साना बिमामा आँखा नलगाएजस्तै सीमा बढाउनासाथ लघु बिमा कम्पनीले माथिमाथि मात्रै आँखा लगाउन सक्छन्। ठूलो बिमा गर्दा र एउटा १० लाखको पोलिसी ल्याउँदा कम्पनीलाई ठूलो फाइदा पुग्छ। लघु बिमा कम्पनीलाई पनि यही बाटोमा छाडिदिए सानो बिमा गर्दैनन्। अहिले भएको सीमामै रहेर बीमितलाई आकर्षित गराउन सक्ने ठाउँ पर्याप्त छन्। यसका लागि सुरुमा बिमा चेतना फैलाउन आवश्यक छ।
बिमा कम्पनीले बिमा प्राधिकरणमा पेस गरेका योजना, पोलिसी तथा प्रोडक्ट स्वीकृत गर्न धेरै समय लगाउने गरेको सुनिन्छ। यसलाई तपाईंहरूलाई कत्तिको समस्या परेको छ?
लघु बिमा आफैंमा नयाँ अवधारणा हो। यसभित्रका सीमा, नीति, दायरा फरक–फरक हुन्छन्। लघु बिमासँग सम्बन्धित काम गर्दा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्ने भएकाले प्राधिकरणलाई केही बढी समय लाग्ने गरेको देखिन्छ। अर्कोतर्फ एक्चुअरी पनि ठूला–ठूला कम्पनीका बारे मात्रै काम गर्दै आएकाले कही समय लाग्ने गरेको छ। फेरि, कुनै पोलिसी आउनसाथ व्यवसाय ठूलो मात्रामा आउँछ भन्ने पनि हुँदैन। केही समय ढिला हुँदैमा यसमा ठूलो असर पर्दैन।
लघु बिमक आएपछि जीवन बिमामा विकृति बढ्ने भन्दै म्यादी बिमालाई पुलमा लग्ने कुरा छ। लघु बिमा कम्पनी अस्वस्थ प्रतिस्पर्धामै उत्रिएका हुन्?
होइन। लघु बिमा कम्पनीमा अस्वस्थ प्रतिस्पर्धा गर्ने क्षमतै छैन भने गर्दा पनि गर्दैनन्। जोसँग धेरै फन्ड हुन्छ, उसले एक/दुईटा निकाल्दा पनि केही फरक पर्दैन। लघु बिमामा एक चम्चा निकाले पनि त्यसको प्रभाव देखिन्छ। वैदेशिक रोजगार बिमाकै कुरा गर्दा पनि लघु बिमा कम्पनीले १४०० रुपैयाँसम्म कमिसन तिरेर गर्ने क्षमता राख्दैनन्। ठूला बिमा कम्पनीमा कमिसन दिने प्रतिस्पर्धाले गर्दा वैदेशिक रोजगार बिमालाई पुलमा लैजाने कुरा उठेको हो। यो किसिमको कमिसन दिएर लघु बिमा कम्पनीले व्यवसाय गर्न सक्ने सम्भावना पनि छैन। यसर्थ, हामी यसतर्फ प्रवेश गरेका पनि छैनौं।
अहिले ३०/७० को अवधारणामा पुलमा लैजाने विषय आइरहेको छ। लघु जीवन बिमाका लागि यो कति सहज हुन्छ?
यसमा १०० प्रतिशत नै समानुपातिक गर्नुपर्ने हो। ठूला कम्पनीले गरिरहेको ठाउँमा ३० प्रतिशत थप दिनु भनेको उहाँहरूलाई थप आम्दानी दिनु हो। १६०० दिइरहेको मान्छेलाई केही पनि नदिई व्यवसाय आउँछ भने त्यो ठूलो बिमा कम्पनीका लागि धेरै फाइदा हुन्छ। हामी बजार नै नगएकाले लागत कति लाग्छ भन्ने जानकारी छैन। तर, पुलमा गएपछि लघु बिमा कम्पनीले व्यवसाय गर्न सक्छन्।
लघु बिमा कम्पनीमा अस्वस्थ प्रतिस्पर्धा गर्ने क्षमतै छैन भने गर्दा पनि गर्दैनन्। जोसँग धेरै फन्ड हुन्छ, उसले एक/दुईटा निकाल्दा पनि केही फरक पर्दैन।
लघु बिमा ग्रामीण क्षेत्र केन्द्रित हुने अवधारणामा आएको हो। तर, अधिकांश लघु बिमा कम्पनी सहर केन्द्रित भएजस्ता देखिन्छन्। यस्तो किन?
हामी सकेसम्म विकट र ग्रामिण भेगसम्म पुग्ने प्रयास गरिरहेका छौं। हाम्रो कुरा गर्दा, काठमाडौंमा रहेको कार्यालय प्रादेशिक हो। म यहाँ धेरै बस्दिनँ। अधिकांश समय बाहिरै हुन्छु। यसका अलावा हामीले नेपालमै पहिलो पटक पूर्ण डिजिटलाइज भएर काम गरेका छौं। जुम्ला, हुम्ला वा जहाँबाट जुनसुकै समयमा हाम्रो पोलिसी अनलाइनबाट लिन सकिने व्यवस्था छ। अहिले हामी जहाँ पुग्दा पनि डिजिटल कारोबार र अनलाइन पोलिसी लिने काम गरिरहेका छौं। हामीले अभिकर्तालाई पनि डिजिटलबाटै व्यवसाय अगाडि बढाउन सिकाएका छौं।
दाबी भुक्तानीका लागि पनि अनलाइनबाटै फारम भरेर क्षति भएको पुष्टि गर्ने कागजात तस्बिर राखेपछि २४ घन्टामै भुक्तानी गर्ने काम गर्छौं। कुनै मानिसको मृत्यु भयो भनेर सरकारी निकायबाट नै पुष्टि भएको कागज हामीलाई पठाएपछि त्यसका लागि त्यहाँ पुग्नु पनि परेन। अनलाइबाट नै सबै दाबी भुक्तानीको काम हुन्छ। हालसम्म ३०/३२ जनाको दाबी भुक्तानी गर्दा हामीले २४ घन्टा बढी समय लगाएका छैनौं। बिमा गर्नेदेखि दाबी भुक्तानी गर्ने सबै काम हाल डिजिटल र अनलाइबाटै हुन्छ। कुनै झन्झट बेहोर्नु पर्दैन।
लघु जीवन बिमा रि–इन्स्योरेन्सबारे खासै चर्चा भएको पाइँदैन। यसको अवस्था कस्तो छ?
लघु जीवन बिमा कम्पनीलाई यहीँको कम्पनीमा रि–इन्स्योरेन्स गर्नु भनिएको छ। नेपाल रि र हिमालयन रिमा हामीले पुनर्बिमा गर्नुपर्ने हुन्छ। पहिला २० प्रतिशत रहेकामा भाग लाग्दालाग्दा हाल दुवैलाई ६÷६ प्रतिशत दिनुपर्ने बनाइएको छ। अर्को वर्ष ४ प्रतिशत हुन्छ होला। हामीले ५ लाखको बिमा गर्दा ६÷६ प्रतिशत दिएर पुनर्बिमा गराउँदा बाहिरी कम्पनी ताक्नुपर्ने अवस्था पनि छैन।
लघुबिमा कम्पनीको लगानी निर्देशिका कति सहजपूर्ण छ? संकलित प्रिमियमलाई कुन क्षेत्रमा केन्द्रित गरेर लगानी गर्नुभएको छ?
लघु बिमा कम्पनीका लागि बेग्लै लगानी निर्देशिका छ। तर, अहिले हामीले गर्ने लगानी भनेको बैंकको मुद्दती निक्षपमा मात्रै हो। फन्ड धेरै नभएकाले हाउजिङ वा कुनै घरमा लगानी गर्न खोजेर पनि हुँदैन। एउटा घर बनाउन १ अर्बको कुरा आउँछ। त्यसैले यो हालका लागि उपयुक्त छैन। हामीले मुद्दतीमा लगानी राख्दै गर्दा ब्याजदरमा भएको गिरावटले केही असर गरेको छ। तर, बोनस दिने प्रावधान नभएकाले त्यति धेरै असर हामीमा परेको छैन। सेयर बजारमा लगानी बाटो अहिले पनि खुला छ। यसका लागि निश्चित प्रतिशत तोकिएको छ।
लघु बिमा कम्पनीको बिमांकीय मूल्यांकनको ‘मोडालिटी’ कस्तो छ? यसमा कस्ता समस्या छन्?
बिमांकीय मूल्यांकनको मोडालिटी ठूला कम्पनीको जस्तै छ। एक्चुअरीले भ्यालुएसन गर्छ, सोही आधारमा हामीले फन्ड व्यवस्थापन गर्छौं। हाल सरेन्डर, म्याचुरिटी, पेडअप केही छैन। त्यसैले कठिनाइ पनि केही छैन। अबको केही वर्षपछि बिमांकीय मूल्यांकन केही कठिन बन्दै जान सक्छ।
नेपालमा हाल तीन जीवन र चार निर्जीवन गरी ७ लघु बिमा कम्पनी सञ्चालमा छन्। यो संख्या कति पर्याप्त छ?
हाल जति पनि लघु बिमा कम्पनी सञ्चालनमा छन्, यो पर्याप्त छ। धेरै भएर मात्रै पनि व्यवसाय बढ्ने होइन। हाम्रो बजार धेरै ठूलो छैन। यति संख्याका बिमा कम्पनीले आफ्नो ठाउँअनुसार सबैतिर पुगेर काम गर्न सके राम्रो हुन्छ। अब संघले स्थानीय सरकारमार्फत नागरिकलाई बिमा दायरामा ल्याउन आवश्यक छ। बिमाको महत्त्व बुझेर निम्न र विपन्न वर्गका मानिसलाई सहुलियत दिएर बिमा दायरामा ल्याउन स्थानीय सरकारले भूमिका खेल्न आवश्यक छ।