काठमाडौं । असार १७ गतेदेखि लगातार सात हप्ता उकालो लागेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पछिल्लो तीन हप्ता भने निरन्तर घटिरहको छ। असार १६ गते २०३७.०९ बिन्दुबाट बढ्न थालेको नेप्से ३३ कारोबार दिनमा ९६३.७२ अंक (४७.३ प्रतिशत) ले उकालो लागेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो। तर, त्यसपछिका तीन साता अर्थात् १२ कारोबार दिनमा नेप्से २७३.४५ अंक (९.१ प्रतिशत) ले घटेर भदौ २० गते बिहीबार २७२७.३६ बिन्दुमा अडिएको छ।
नेप्सेमा १० साताको कारोबार प्रवृत्ति केलाउँदा बढ्दो औसतभन्दा घट्दो औसत कम देखिएको छ। बजार बढ्दा औसतमा प्रतिसाता १३७.६७ अंकको वृद्धि देखिएको नेप्सेमा घट्दा भने ९१.१५ अंकको गिरावट देखिएको छ।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे बढ्ने रफ्तारभन्दा घट्ने रफ्तार कम हुनुलाई बजारमा भएको ‘करेक्सन’ भन्छन्। ‘धेरै समयपछि बजारले नयाँ उचाइ लिँदा सामान्य घटबढ हुनु स्वाभाविक हो। बजार लगातार बढेपछि अधिकतम २०–२५ प्रतिशतसम्मको करेक्सनलाई अन्यथा लिनु हुँदैन,’ अध्यक्ष रजौरे भन्छन्, ‘हरेक कारोबार दिन फरक (बैंक, बिमा, विकास बैंक, वित्त, लघुवित्त, लगानी) समूह र स्क्रिप्ट चलिरहेको छ। क्षेत्रगत रूपमा उतारचढाव हुनु बजारका लागि सकारात्मक पक्ष हो।’ नेप्सेमा अघिल्लो साता ८.९ प्रतिशतले घटेको बैंकिङ समूह गत साता २.३० प्रतिशतले घट्यो। अघिल्लो साता ८.३ प्रतिशतले घटेको विकास बैंक समूह गत सातो १.८७ प्रतिशतले बढ्यो।
गत साता फाइनान्स समूह ३.२५ प्रतिशत, जलविद्युत समूह २.३६ प्रतिशत, होटल तथा पर्यटन समूह २.२३ प्रतिशत, उत्पादन समूह १.५९ प्रतिशत, व्यापार समूह ०.३४ प्रतिशत र लगानी समूह १.८० प्रतिशतले घट्यो। तर, लघुवित्त समूह २.०५ प्रतिशत, जीवन बिमा समूह ०.८१ प्रतिशत र निर्जीवन बिमा समूहमा ५.०३ प्रतिशतको वृद्धि भयो।
नेप्सेमा देखिएको कारोबार प्रवृत्तिको चक्रले सेयर बजार उकालो यात्रा समाउन प्रयासरत रहेको देखाउँछ। तर, धेरै लगानीकर्तामा यसअघिको ‘वियरिस’ भूतले त्रसित बनाएका कारण फेरी झर्ने हो कि भनेर केही आत्तिएको देखिन्छ।
अघिल्लो साता भने फाइनान्स समूह १०.४ प्रतिशत, जलविद्युत समूह ६.५ प्रतिशत, जीवन बिमा समूह ८.४ प्रतिशत, निर्जीवन बिमा समूह ७.४ प्रतिशत र होटल तथा पर्यटन समूहमा ३.६ प्रतिशतको गिरावट आएको थियो। यस्तै, उत्पादन समूह ५.७ प्रतिशत, लघुवित्त समूह ४.९ प्रतिशत, व्यापार समूह ५.९ प्रतिशत र लगानी समूहमा ७.५ प्रतिशतको गिरावट आएको थियो।
हरेक कारोबार दिन देखिने फरक फरक प्रवृत्ति सातामा पनि देखिने गरेको छ। नेप्सेमा अलग अलग समूह घट्ने/बढ्ने हुनुमा लगानीकर्ता एक तर्फको सेयर बिक्री गरेर कम मूल्यमा उपलब्ध अर्को समूह, बढेको सेयर बेचेर कम मूल्यमा पाइने कम्पनीको खरिद गर्ने गर्दा बजारमा तीव्र उतारचढाव आएको देख्न सकिन्छ। नेप्सेमा लगातार एउटै कम्पनी सेयर मूल्य बढिरहने वा घटिरहने पनि भएको देखिँदैन। एक दिन चलेको स्क्रिप्ट अर्को दिन घट्ने गरेको देखिन्छ।
नेप्सेमा देखिएको कारोबार प्रवृत्तिको चक्रले सेयर बजार उकालो यात्रा समाउन प्रयासरत रहेको देखाउँछ। तर, धेरै लगानीकर्तामा यसअघिको ‘वियरिस’ भूतले त्रसित बनाएका कारण फेरी झर्ने हो कि भनेर केही आत्तिएको देखिन्छ। वास्तवमा अहिलेको बजार अझ करेक्सन लेभलमा पुगेको छैन, वियरिस त धेरै परको विषय हो। सामान्यता पछिल्लो उचाइबाट औसत ५–१० प्रतिशत सूचक घटेको अवस्थालाई ‘पुलब्याक’ भनिन्छ भने १०–२० प्रतिशतको गिरावटलाई करेक्सनका रूपमा लिइन्छ। २० प्रतिशतभन्दा बढी घटेमा मात्रै बियरिस सुरु भएको मानिन्छ।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी पनि करिब १००० अंकको वृद्धिपछि ३०० अंकको गिरावट आउनु सामान्य ठान्छन्। ‘प्राविधिक विश्लेषण (टेक्निकल एनालाइसिस)ले पनि नेप्से केही तल झर्ने देखाएको थियो जसअनुसार नेप्से घट्यो पनि,’ अध्यक्ष जिसी भन्छन्, ‘अहिलेसम्मको घटाबाट आत्तिनुपर्ने अवस्था छैन। बजारले अब फेरी उकालो यात्रा गर्छ भन्ने विश्वास छ।’
त्यसो त गत साताको पाँच कारोबार दिनमा तीन दिन घटेर दुई दिन बढेको थियो जबकि अघिल्लो साता चार कारोबार दिनमा एक दिन बढेको थियो। अघिल्लो साता २२५ अंकले घटेको सूचक गत साता भने मात्रै २२ अंकले घटेको छ। गत साता आइतबार २६९५.९३ अंकमा रोकिएको नेप्से त्यसपछिका दुई दिन पनि २७०० भन्दा तल झरेको थियो तर, रोकिँदा भने २७०० माथि नै रोकियो। यसले बजार सूचक तल्लो बिन्दुतर्फ जान नखोजेको संकेत गर्दछ। त्यसो त गत साता कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ।
पाँचै दिन कारोबार हुँदा अघिल्लो साता चार दिनको कारोबार रकमभन्दा कम सेयर खरिद विक्री भएको छ। यसले पनि सेयर लगानीकर्ता मूल्य साह्रै घटाएर बेच्न तयार छैनन् भन्न सकिन्छ। तर, बजारमा विभिन्न अफवाह चलाएर सेयर खरिद विक्री प्रभावित बनाउने काम भने निरन्तर चलिरहेको हुन्छ, त्यसैको सिकार कतिपय लगानीकर्ता हुन सक्छन्। केही दिनदेखि वर्तमान सरकार हट्न लाग्यो भनेर व्यापक बहस भइरहेको देखिन्छ। तर, यथार्थ त्यस्तो सम्भावना देखिँदैन। नेप्सेमा अघिल्लो साता ६३ अर्ब ४७ करोडको सेयर किनबेच भएकोमा गत साता मात्र ५८ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ।
सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। बैंकिङ समूहबाट एभरेष्ट बैंकले साढे १५ प्रतिशत लाभांश घोषणा गर्दा माण्डू हाइड्रोपावर र अपि पावरले पनि आफ्नो ताकत लाभांशमा देखाइसकेका छन्। यस्तो अवस्थामा नेप्से नयाँ तरंगका साथ अघि बढ्छ कि साइडवेज हुँदै करेक्सनको बाटो पछ्याउँछ, त्यो भने हेर्नै पर्ने हुन्छ।