काठमाडौं । असोज १२ गते दोस्रो डम्फु साँझ हुने भएको छ। ‘ह्याङला डम्फु ह्याङला शान, चुनोन ह्याङला तामाङ पहिचान’ भन्ने नाराको साथ ल्हास्सो म्युजिकल ब्यान्डको आयोजनामा दोस्रो डम्फु साँझ हुने भएको हो।
डम्फु साँझमा संगीतकार एवं गायक विश्व दोङको ब्यान्डको विशेष लाइभ प्रस्तुति रहने छ। गायक दोङले ऐतिहासिक गाथा बोकेको मौलिक गीतको साथमा पुराना तथा नयाँ चर्चित गीत प्रस्तुत गर्नेछन्।
‘ल्हास्सो म्युजिकल ब्यान्ड एउटा मौलिक बाजा डम्फु टुङ्ना सहितको समिश्रण ब्यान्ड हो,’ गायक दोङले भने, ‘हाम्रो प्रमुख उद्देश्य डम्फुको तालमा रहेको गीत/संगीत तथा कला संस्कृतिलाई संसार भरी फैलाउनु, तामाङ सभ्यताको विकास गरी यसको महत्त्व दर्साउनु, आफ्नो अस्तित्व र पहिचान कायम राख्न टेवा पुर्याएर संसार भरी छुट्टै कायम रहोस् भन्ने हो।’
दरबारमार्गको लिक्विड लाउन्ज एन्ड बारमा शनिबार साँझ ५ बजेदेखि सुरु हुने डम्फु साँझमा दोङसँगै गायिका सुमिना लो र सुनिता गोलेको पनि विशेष प्रस्तुति रहने जनाएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने सो कार्यक्रमको टिकटप्रति व्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ।
यसअघि डम्फु साँझ २०७५ सालमा आयोजना गरेको थियो। हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखिए पनि कोभिड १९ र त्यसपछि जारी आर्थिक मन्दीको कारण रोकिँदै आएको बताउँदै अब भने हरेक वर्ष डम्फु साँझको आयोजना गरिने गायक दोङको भनाइ छ।