काठमाडौं । दिगो ग्रुपद्वारा भदौ १९ देखि २२ सम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा आयोजित विद्युतीय सवारीसाधनको कर्निवल सम्पन्न भएको छ। कर्निवालमा ३०० भन्दा बढी व्यक्तिगत तथा व्यवसायिक ग्राहकको उपस्तिथी रहेको दिगोले जनाएको छ। सोही कर्निवलबाट दिगोले ५ वटा ११ सिटर ईभी भ्यान डीएफएसके डनफे हस्तान्तरण गरेको र ३३ वटा गाडीको बुकिङ भएको जनाएको छ।
कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रह्यो। जसमा सहभागीले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसँग साटफेर गर्ने सुविधा पाएका थिए। यस अवसरमा दिगो ग्रुपले सहभागीलाई विशेष नगद छुट, एकचेन्जमा थप मूल्यांकन, इन्सुरेन्स र सरल वित्तीय योजना जस्ता विभिन्न आकर्षक प्रस्ताव उपलब्ध गराएको थियो।
कर्निवालमा विद्युतीय गाडीको बिक्री साथै व्यबसायिक गाडी भाडामा लिन मिल्ने सुविधा पनि प्रदर्शन गरेको थियो। यस सुविधा अन्तर्गत ग्राहकले ५ लाख धितो राखेर मासिक १ लाख २५ हजारमा ५ वर्षसम्म भाडामा लिएर ५ वर्षपछि थप ५ लाख हालेर गाडी आफ्नै बनाउन सक्नेछन्। स्किम अन्तर्गत मोटर र ब्याट्रीमा आउने समस्या कम्पनीले नै बेहोर्ने दिगोले जनाएको छ। गाडी फिर्ता गर्दा भने ग्राहकले राखेको धितो पनि फिर्ता हुनेछ।
चार दिनसम्म चलेको कार्निभलमा दिगो ग्रुपले विभिन्न विद्युतीय गाडीको प्रदर्शनी गरेको थियो। सहभागीले ती गाडीको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाएका थिए। यसले ग्राहकलाई दिगोका गाडीको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गरेको थियो। टेस्ट ड्राइभ गर्ने सहभागीलाई कार्यक्रममा आकर्षक गिफ्ट ह्याम्पर्स प्रदान गरिएको थियो।
यस कर्निवलको आयोजना दिगोले आफ्नो राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्ससँग गरेको थियो। दिगो ग्रुपले भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै जाने र देशभर विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
दिगोको राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका निर्देशक प्रविन खतिवडाले कर्निवल सफल भएको खुशी ब्यक्त गरे। 'हामीले पहिलो पटक आयोजना गरे पनि राम्रो मात्रामा बुकिङ लिन सफल भयौं। ५ वटा गाडीको हस्तान्तरण पनि गरेको छौं। कर्निवालमा उपस्थित सबै प्रति आभार,' उनले भने।
सँगसँगै दिगो ग्रुपका संस्थापक राजन रायमाझीले दिगोले गाडीको बिक्री मात्र नभइ पूर्वाधारमा लगानी साथै ग्राहकलाई सुविधा दिन बढी केन्द्रित रहेको बताए।
दिगो ग्रुपको ई-स्टप स्टलमा सहभागीले विद्युतीय सवारीसाधन चार्ज गर्न आवश्यक समाधान र चार्जर खरिदको जानकारी लिने अवसर पाएका थिए।।