काठमाडौं। एउटै मूल्य, भेरियन्ट र फिचरसहितका सुविधा रहेका गाडीमा कुन खरिद गर्ने भन्ने द्विविधामा धेरै ग्राहक रहेको देखिन्छ। आफूले निर्धारण गरेको बजेटमा दुई वा त्यसभन्दा बढी विकल्प हुँदा कुन गाडी खरिद गर्दा उपयुक्त हुन्छ भन्ने निर्णय लिन ग्राहक अलमलिन सक्छन्। खासगरी ग्राहकले गाडीको मूल्यसँगै गुणस्तर, विशेषता, टिकाउ, कम्पनीका सेवा–सुविधा हेर्ने गछन्।
हाल १ करोड तल अर्थात् ८५ लाख रुपैयाँ मूल्य हाराहारीको गाडी किन्न चाहने ग्राहकका लागि जिकर एक्स र एक्सपेङ जी–६ उत्तम विकल्प हुन्। यी दुई ब्रान्डमा पनि ग्राहकले कुन गाडी रोज्दा उपयुक्त हुन्छ भन्ने टुंग्याउन हम्मेहम्मे पर्ने देखिन्छ। यसको कारणचाहिँ यी दुवै गाडीका विशेषता र फिचर प्रतिस्पर्धात्मक छन्। जिकर एक्स र एक्सपेङ जी–६ दुवै चिनियाँ विद्युतीय ब्रान्ड हुन्। यी दुवै नेपालमा नाडा अटो शो २०२४ मा भित्रिएका प्रिमियम सेग्मेन्टका यसयूभी हुन्।
लजिकर चिनियाँ अटोमोबाइल कम्पनी जीली होल्डिङको सहायक कम्पनी हो। एक्सपेङ न्यू इनर्जी स्टार्टअप अटोमोबाइल कम्पनी हो। एक्सपेङ जी–६ कुपे डिजाइनमा तयार भएको छ। जिकर एक्स फास्टब्याक एसयूभी डिजाइनमा बनेको हो। एरो–डायनामिक्सलाई विशेष ध्यान दिएर बनेका दुवै मोडलमा क्लोज फ्रन्ट ग्रिल, स्प्लिट हेडलाइट पाउन सकिन्छ।
जिकर ब्रान्डको गाडी शारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले रियल ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा नेपाल ल्याएको हो। एक्सपेङ सिजी मोटर्सले एउटा भेरियन्टमा मात्र ल्याएको छ। नेपालमा यी दुई ब्रान्डको मूल्य र केही फिचर समान छन्।
मूल्य
दुवै कम्पनीले यो गाडी नाडा अटो शो २०२४ मा ल्याएको हो। यी दुई ब्रान्डको मूल्य समान रहेका छन्। पायोनियर मोटोकर्पले ल्याएको जिकर एक्सको अल ह्वील ड्राइभको मूल्य फरक रहेको छ। पायोनियर मोटोकर्पले जिकर एक्स रियल ह्वील ड्राइभको मूल्य ८४ लाख ९९ हजार र अल ह्वील ड्राइभको मूल्य १ करोड ५४ लाख ९९ हजार तोकेको छ।
नाडा अवधिमा बुकिङ गर्दा गाडीको मूल्य क्रमशः रियल ह्वील ड्राइभको मूल्य ७९ लाख ९९ हजार र अल ह्वील ड्राइभ १ करोड ४९ लाख ९९ हजार तोकिएको थियो। कम्पनीले नाडा अवधिका लागि जिकर एक्समा ५ लाख रुपैयाँ छुट दिएको थियो। सिजी मोटर्सले नाडा अटो शोमा सार्वजनिक गरेको एक्सपेङ जी–६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
ब्याट्री तथा मोटर
दुई ब्रान्डमा ब्याट्री पावर समान छन्। जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ। यसको रियल ह्वील ड्राइभमा २०० किलोवाट मोटर र अल ह्वील ड्राइभमा ३१५ किलोवाट मोटर छ। दुवै कारको ब्याट्रीमा लिक्विड कुल्ड कुलिङ सिस्टम छ। जिकर एक्सले १५० किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ।
एक्सपेङ जी–६ मा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिएको छ। सिजीले २१० किलोवाटको सिंगल मोटर रियर ह्वील ड्राइभ भर्सनको जी–६ नेपाल ल्याएको हो। एक्सपेङले २८० किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ।
रेन्ज
जिकर एक्स फुल चार्जमा सिंगल मोटर भर्सनले ४४० किलोमिटर र अल ह्वील ड्राइभ भर्सनमा ५०० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। एक्सपेङ जी–६ ले ४३५ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
ग्राउन्ड क्लियरेन्स
जिकर एक्सको ग्राउन्ड क्लियरेन्स १९१ एमएम रहेको छ भने एक्सपेङको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ। जिकर एक्सभन्दा एक्सपेङको ग्राउन्ड क्लियरेन्स कम छ।
साइज
जिकर एक्सको लम्बाइ ४४५० एमएम, चौडाइ १८३६ एमएम र उचाइ १५७२ एमएम छ। यसको ह्वीलबेस २७५० एमएम छ। एक्सपेङ जी–६ को लम्बाइ ४७५३ एमएम, चौडाइ १९२० एमएम र उचाइ १६५० एमएम छ। यसको ह्वीलबेस १८ र २० इन्चको अप्सन पाउन सकिन्छ।
क्याबिन फिचर
एक्सपेङ जी–६ मा १५ इन्चको सेन्टर कन्ट्रोल स्क्रिन र १०.२ इन्चको ड्राइभर डिस्प्ले दिइएको छ। एक्सपेङ जी–६ मा मल्टी फङ्सनल २ स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, हिटेड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, पानारोमिक ग्लास रुफ, फ्रन्ट एण्ड रियर सेन्सर, ३६० डिग्री क्यामेरा, १८ वटा स्पीकर, डिउल जोन क्लाइमेट कन्ट्रोलजस्ता क्याबिन फिचर छन्।
त्यस्तै, जिकर एक्समा १४/६ इन्चको सेन्टर स्क्रिन, ८/८ इन्चको डिजिटल इन्ट्रुमेन्ट प्यानल हेडअप डिस्प्ले र रियरमा समेत क्लाइमेट सेटिङका लागि छुट्टै ५/७ इन्चको टचस्क्रिन दिएको छ। जिकर एक्समा पनि हिटेड टु स्पोक मल्टी फङ्सनल स्टेरिङ ह्वील, वायरलेस फोन चार्जर, पावर ड्राइभर सिट, डिउल जोन एसी, हिटेड भेन्टिलेटेड मसाज ड्राइभर सिट, एन्टी यूभी अल ग्लास रुफ, यामाहाको १३ स्पीकर, भोइस एक्टीभेसन कन्ट्रोल सिस्टम जस्ता क्याबिन फिचर छन्।
सुरक्षा फिचर
सुरक्षाका लागि एक्सपेङ जी–६ मा ७ वटा एयरव्याग, २ लाइडार राडार, ५ एमएम वेबराडार, १२ वटा क्यामेरा, १२ सेन्सर, फरवार्ड रियर ल्याटरल कोलुजन वार्निङ, लेन किप असिस्ट पाउन सकिन्छ। साथै, लेन चेन्ज असिस्ट, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम असिस्ट, इमर्जेन्सी ब्रेकिङ, हाइबिम असिस्ट, ब्लाइन्ड स्पट अलर्टजस्ता फिचर समावेश गरिएको छ।
त्यस्तै, जिकर एक्समा पनि ७ वटा नै एयरव्याग, १ एमएम राडार, १५ वटा क्यामरा, १२ वटा सेन्सर, ड्राइभर पर्फर्मेन्स मोनिटर, फ्रन्ट क्रस ट्राफिक अलर्ट, ट्राफिक साइन इन्फर्मेसन, फ्रन्ट एण्ड रियर पार्किङ असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, हाइबिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन सेन्टर असिस्ट, फर्वाड एण्ड रियर कोलुजन वार्निङलगायत फिचर छन्।