काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिएर मुलुकलाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीलाई आग्रह गरेका छन्।
शनिबार २१औं निजामती सेवा दिवस अवसरमा सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी दत्तचित्त भएर लागे मात्रै भ्रष्टाचार र कुशासनले ठाउँ नलिने बताएका हुन्।
‘तपाईंहरु कतै प्रयोग नहुनुस्। भ्रष्टाचारजस्तो दुष्कर्ममा सहभागी नहुनुुस्। तपाईंहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन्। भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्। भाषणमा एउटा र व्यवहारमा अर्काे काम गर्ने नेताहरुले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छुु भनेर मुसुुक्क हाँसिदिनुस्’, प्रधानमन्त्री ओलीले भने, ‘म चुनौती दिन्छुु– आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि त्यसो गर्न दिन्नँ । नेपाललाई हर तरहले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।’
निजामती सेवा दिवस अवसरमा उत्कृष्ट काम गरेबापत सम्मानित राष्ट्रसेवकसँग सामूहिक तस्बिर खिचाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत। तस्बिरः नेपाल फोटो लाइब्रेरी
राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए। उनले इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर कर्मचारीलाई काम गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले अहिले देशमा परिवर्तनको नायकत्व लिएका दुई पार्टीको समेत सरकार भएकाले यसले निजामती सेवालगायत महत्त्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने जानकारी दिए।
विगतमा कर्मचारीको उत्साह थप्न आफूूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागे स्थिति सहज हुने धारणा उनको थियो।