काठमाडौं। नेपालबाट ठूलो संख्यामा युवा जनशक्ति रोजगारी खोजीमा दैनिक विदेश गरहेको छ। लाखौं खर्च गरेर विश्वका विभिन्न मुलुक पुग्ने नेपालीको संख्या ठूलाे छ। मुलुकमा रोजगारी अभाव देखाउँदै बाहिरिनेको लर्को लागिरहेको समय नेपालमै उद्यम गरी सफल भएका व्यक्ति पनि बग्रेल्ती भेटिन्छन्।
हुन त, ‘नेपालमा केही भएको छैन’ भन्ने भाष्यले पछिल्लाे समय जरा गाडेकाे छ। तर, केही नभएको ठाउँमै गर्न सक्ने धेरै बाटा र सम्भावना हुन्छन्। नेपालमा थुप्रै सम्भावनाका पाटो भए पनि बाख्रापालन कम लागतमै सुरु गर्न सकिने उत्तम व्यवसाय हो। मुलुकमा मासुका लागि मात्रै छिमेकी भारतबाट ठूलो मात्रामा खसीबोका ल्याइने गरेकाे छ। देशमै व्यावसायिक बाख्रापालन गरेर परनिर्भरता ताेड्न सकिने सम्भावना छ।
नेपालमै केही गर्न चाहने व्यक्तिका लागि बाख्रापालनको व्यवसायिक योजना, आवश्यक पुँजी, आम्दानी, लागत, खर्च र नाफासम्बन्धी जानकारी महत्त्वपूर्ण हुन्छ। एक गाईको लागि आवश्यक दाना घाँसपातबाट पाँचदेखि ६ वटासम्म बाख्रापालन गर्न सकिन्छ। थारै जग्गाजमिन भए पनि बाख्रापालन गर्न सकिन्छ।
नेपालको भौगोलिक बनावटअनुसार २५०० मिटरमाथिको उचाइमा च्यांग्रापालन गर्न सकिन्छ। समुद्री सतहबाट १५०० देखि २५०० मिटरको उचाइमा सिन्हाल, ३०० देखि १,५०० मिटरको उचाइमा खसी, पहाडी बाख्रा, ३०० मिटरको उचाइमा तराई बाख्रा, हावापानी तापक्रमको आधारमा तराई तथा पहाडमा जमुनापारी, बारबारी, साननजस्ता उन्नत जातका बाख्रापालन गर्न सकिन्छ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका पूर्वप्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले गरेको एक अध्ययनअनुसार बाख्रापालन व्यवसाय गर्न अर्थात् २० वटा बाख्रापालनका लागि वार्षिक अनुमानित ३ लाख २० हजार ८०० रुपैयाँ खर्च लाग्ने गर्दछ। उक्त संख्याको बाख्रापालनबाट एक वर्षमा कुल ५ लाख ४६ हजार रुपैयाँ आम्दानी हुने र २ लाख २५ हजार २०० रुपैयाँ नाफा प्राप्त हुने गर्दछ। १० वटा बाख्रापालनका लागि वार्षिक १ लाख ६० हजार ९०० रुपैयाँ खर्च हुन्छ भने २ लाख ७२ हजार आम्दानी हुन्छ जसबाट १ लाख ११ हजार १०० रुपैयाँ किसानले नाफा प्राप्त गर्न सक्षम हुन्छन्।
यदि कुनै किसानले एउटा बाख्रापालन गर्न चाहन्छ भने उसका लागि वार्षिक १५ हजार १९० रुपैयाँ खर्च हुन्छ। उक्त बाख्राबाट किसानले २५ हजार रुपैयाँसम्म आम्दानी गर्न लिन भने ९ हजार ८१० रुपैयाँ नाफा प्राप्त गर्न सक्छ। यस्तै, कसैले ५ वटा बाख्रा पाल्न चाहे त्यसका लागि वार्षिक ८१ हजार ४५० रुपैयाँ खर्च हुन्छ भने १ लाख २६ हजारसम्म आम्दानी गर्न सक्दछ। उक्त किसानले त्यसबाट ४४ हजार ५५० रुपैयाँसम्म नाफा प्राप्त गर्न सक्दछ। यसअनुसार किसानले पुँजी र व्यावसायिक योजनाअनुसार बाख्रापालन गर्दा उत्तम हुन्छ।
बाख्राका लागि खोर निर्माण गर्दा दक्षिण पूर्व वा दक्षिण पश्चिम मोहडा फर्केको, ओभानो, पहारिलो, तुलनात्मक रूपले वरपरभन्दा केही अग्लो र सुरक्षित ठाउँ उपयुक्त मानिन्छ। बाख्राका लागि खोर बनाउँदा स्थानीय सामग्रीको अधिकतम उपयोग गरी सकभर किफायती किसिमको साथै खोरको चौडाइको भागमा ढोका र लम्बाइका भागमा झ्याल राख्ने तर बढी हावा चल्ने ठाउँमा हावा चल्ने दिशातर्फ खोरको चौडाइ पार्दा उपयुक्त हुन्छ। खोरको छानाको मध्येभाग जमिनबाट ३ देखि ३.५ मिटर अग्लो हुनुपर्छ। खोरमा बाख्रा राख्दा पाठापाठीलाई ०.४, वयस्क बाख्राको लागि १, ब्याउने माउ बाख्राका लागि १.५ र व्याडे बोकाको लागि २.५ वर्गमिटर क्षेत्रफल उचित हुन्छ।
खानेकुरातर्फ बाख्रालाई कार्बोहाइड्रेड, प्रोटिन, पानी, चिल्लो पदार्थ, भिटामिन र खनिज आहार खुवाउनुपर्छ। मकै, कोदो, फापर, धान, जौ, धानको ढुटो, तोरीको पिनाको धुलो प्रयोग गरी बाख्राका लागि घरमै दाना बनाउन सकिन्छ। यसले एकातर्फ खर्च कम लाग्छ भनेअर्कोतर्फ स्थानीय स्रोतसाधनको उचित प्रयोग पनि हुन्छ। बाखालाई नियमित दानाका साथै हरियो घाँस र पानी आवश्यक पर्ने भएकाले पहिल्यै यस विषयमा विचार पुर्याउनुपर्दछ।
बाख्राका लागि भुइँघाँसमध्ये कोसेघाँस बर्षिम, क्लोभर, स्टाइलो, भेच, ल्याबल्याब, लुसर्न उपयुक्त मानिन्छ। नेपियर, सेटारिया, टिओसेन्टी, मोलासेस, सुडान, राईघाँस, कक्सफुट आदि बाख्रापालनका लागि रोप्नुपर्छ। डाले घाँसमध्ये कोसे डालेघाँस इपिल इपिल, टाँकी, कोईरालो आदि र अन्य डालेघाँस जस्तै बडहर, कुमिरो, दुधिलो, काभ्रो, निमारो, दबदबे, पाखुरी लगाउनुपर्छ। बाख्रालाई रोग लाग्न नदिन भ्यागुते, चरचरे, खोरेत, पि.पि.आर, रेविजको भ्याक्सिन लगाउनुपर्दछ।
यी समग्र विषयमा ध्यान दिन सकेको खण्डमा नेपालमा बाख्रापालन निकै उपयुक्त हुने देखिन्छ। नेपालमा जंगलको हिस्सा ठूलो भएको, भुँइघाँसका लागि खरबारी र रुखघाँस पनि पर्याप्त भएकाले अझै उपयुक्त मानिन्छ। मासुको परिनिर्भतालाई कम गर्नका लागि पनि बाख्रापालनले योगदान गर्नसक्दछ। बाख्रापालन केही वर्षमै राम्रो आम्दानी गर्ने र व्यवसायिक यात्रा सुरु गर्ने उत्तम विकल्प हो। नेपालमै बाख्रापालन गर्न चाहनेका लागि यी सबै कुरामा विचार पुर्याएर आफूसँग भएको पुँजीअनुसार व्यावसायिक योजनामा काम गर्न उचित हुन्छ।