काठमाडौं। चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस)का लागि ५० सिट निर्धारण गरेको छ। यससँगै मधेस प्रदेशमा पहिलो पटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षा अध्यापन हुने भएको छ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन प्रतिष्ठानमा एमबीबीएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए।
उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए। प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन्।
बीएन्डसीलाई एमबीबीएस औपचारिक स्वीकृति
झापामा रहेको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ। बीएन्डसी मेडिकल कलेज विवादमा तानिँदै आएका दुर्गा प्रसाईं स्वामित्वको हो।
कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउने गरी सिट निर्धारण भएको बताए। आयोगले शुक्रबारै सिट निर्धारणबारे सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए।
बिर्तामोड नगरपालिका–५ बिर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो।
सरकारबाट २०६४ मै मनसाय पत्र प्राप्त गरेर बीएन्डसीले एमबीबीएसका विद्यार्थी पढाउन सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए।
सर्वोच्च अदालतले २०८० चैत १३ मा बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो। सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन दिएको हो।
बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए। बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग २ हजारले प्रत्यक्ष रोजगारी पाएका छन्।